यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै



काठमाडौं । नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत ययूएईविरुद्धको सेमिफाइनलमा टस जितेर  फिल्डिङ रोजेको छ। बिहान ८ः १५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु हुन लागेको हो।

नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ ।  प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन्।नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुत बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अङ्क जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।  

युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ। जारी प्रतियोगितामा युएई लयमा देखिएको छ। समूह ए मा युएईले चार खेलबाट ७ अङ्क बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो।  यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो।

यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन्। च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ। फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् । 

 

प्रतिक्रिया दिनुहोस्