संकटमा पाकिस्तानी फिल्म



एजेन्सी । पाकिस्तानका कलाकारहरू भलै बलिउड फिल्ममा नदेखिए पनि उनीहरूका फ्यान फलोइङ भारतमा उच्च छ। चाहे माहिरा खान हुन् या फवाद खान भारतीय फ्यानमाझ पाकिस्तानी कथावस्तु र कलाकार दुबै निकै प्रिय छन्। पाकिस्तानका टेलिफिल्मलाई भारतीय दर्शक जहाँबाट भए पनि खोजेर हेर्ने गरेका छन्।

तर, अहिले भने पाकिस्तानी फिल्म एक कठिन संकटमा परेको छ। दर्शक थिएटरमा फिल्म हेर्न गइरहेका छैनन्। सिंगल थिएटरमात्र होइन मल्टीप्लेक्स हल पनि संकटमा पुगिसकेका छन्। थिएटर तथा हललाई भाडा र बिजुलीको बिल तिर्न पनि समस्या परेको छ।

कराँचीमा एक लोकप्रिय थिएटर कापरी सिनेमाले फिल्म प्रदर्शनका लागि नयाँ नियम बनाएको छ। जसअनुसार यो सिंगल थिएटरमा अब हप्ता हप्तामा मात्र फिल्म रिलिज हुनेछ। यसको प्रमुख कारण पाकिस्तानी जनतालाई पुनः थिएटरमा तान्नु हो।

कोभिड संक्रमण रोकिएपछि जब पाकिस्तानी सरकारले पुनः थिएटर खोल्नका लागि अनुमति दियो, तब थिएटर मालिक कसैले पनि सटर उठाउन चाहेनन्। पाकिस्तानमा बलिउड फिल्मको शो बन्द भएपछि नै फिल्मका वितरक, निर्माता र थिएटर मालिकबीच एक शीतयुद्ध चलेको थियो। कोभिडका कारण पटक पटक फिल्म हल बन्द भएपछि त्यहाँको फिल्मको व्यापारको अवस्था झन खस्कियो।

हलिउडको ‘डाक्टर स्ट्रेन्ज एण्ड द मल्टीवर्स अफ मेडनेस’ र ‘टप गनः मेवेरिक’ जस्ता फिल्मको टिकट बिक्न त बिक्यो, तर फिल्मले त्यहाँ दमदार कमाई गर्न सकेन। एक थिएटर सञ्चालकले यस्तै अवस्था आइरहे आफूले व्यापार बन्द गर्ने बताए। किनकी थिएटरमा खर्च कमाई भन्दा बढी छ।

प्रतिक्रिया दिनुहोस्