सरकारले भन्यो : सीमा समस्या समाधानका लागि भारतसँग वार्ताको प्रयास जारी छ



काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताएका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् ।

उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताएका छन् ।

मन्त्री खड्काले अन्तर्राष्ट्रिय सीमाको नियमित रुपमा निरीक्षण गर्नेगरी सरकारले कार्यक्रम तय गरेको समेत जनाएका छन् । उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाल, भारत सीमा सम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कुटनीतिक स्तरमा वार्ताको प्रयास भइरहेको बताएका छन् ।

उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधिनता, सीमानाको सुरक्षा र सीमा व्यवस्थापन जस्ता विषयहरुमा सरकार गम्भिर रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्