‘विभाजक’ वामदेवको ‘बाम एकता’ !



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको ‘हिस्सेदार’ स्वीकारेका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सोही पार्टी पुनर्गठनलाई मुख्य कार्यभार किटान गरेका छन् । उनले गएको डेढ वर्षमा भने नेकपा पुनर्गठन गर्नेगरी उल्लेख्य काम गर्न सकेनन् । उसो गर्न नसकेकै कारण उनको एकता र पुनर्गठन अभियान ‘प्रभावहीन’ बन्यो ।

तर, मङ्गलबार अभियानलाई दलको रूप दिएको भन्दै गौतमले आफ्नो दलको मुख्य कार्यभार नै विघटित नेकपाको पुनर्गठन भएको दाबी गरे । यद्यपि, नेकपा पुनर्गठन हुने सम्भावना भने छैन किनभने सर्वोच्च अदालतले २३ फागुन २०७७ मा गरेको फैसलाका आधारमा यो नामको पार्टीको वैधानिकता ऋषिराम कट्टेल संयोजक रहेको नेकपासँग छ ।

अदालतको यस्तो फैसलापछि नै ३ जेठ २०७५ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर गठन भएको नेकपा ३ वर्ष नपुग्दै भङ्ग भएको थियो । त्यससँगै एमाले र माओवादी ब्युँतिएको हो । यद्यपि, ‘असम्भव’ ठानिएको नेकपा पुनर्गठन गौतम नेतृत्वको पार्टीको कार्यभार बनेको दाबी पनि गौतमको छ । पुनर्गठन नभएको अवस्थामा भने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच कार्यगत एकता बनाउन वातावरण बनाउने गौतमको भनाइ छ ।

उनले कार्यगत एकता भए जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि बृहत् बामपन्थी चुनावी मोर्चा निर्माणमा सामेल गराउने काठमाडौंमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बताए । यदि, कार्यगत एकता नभए आफ्नो पार्टीले अघि सारेको विचारलाई सम्मान गर्ने दलसँग एकता गर्ने जनाइएको छ । हुनत उनले यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा जान प्रयास नगरेका होइनन् । अध्यक्ष नेपालसँगै उनले अनौपचारिक रूपमा वार्ता पनि गरे ।

जतिबेला भन्नचाहिँ जनताको बहुदलीय जनावाद (जबज) र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा विमति रहेको भनियो । तर, त्यसबेला पदमा कुरा नमिलेको एकीकृत समाजवादीका एक नेताले बताए । ‘अध्यक्षपछिको भूमिका चाहिन्छ भन्ने उहाँको कुरा थियो । त्यहाँ कुरा नमिलेको हो । उहाँ जबज त्याग्न तयार नै हो । अरू धेरै विषयमा उहाँले सम्झौता गर्ने अवस्था थियो’, ती नेता बताउँछन् ।

गौतम १ वर्षअघि एमालेको उपाध्यक्ष पदमा नरहेको घोषणा गर्दै अलग भएका नेता हुन् । उनले त्यसबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एकताविरोधी गतिविधि गरेको गम्भीर आरोप लगाएका थिए । तर पनि अभियानको केन्द्रीय कमिटीको तेस्रो वरीयतामा रहेका नेता ओम शर्मा चालिसेले एमालेसहितको बाम दलहरूको एकताको पक्षमा प्रयास गर्ने बताएका छन् ।

‘हाम्रो प्रयत्न बाम दलहरूबीच एकता गर्ने नै हो । त्यसका लागि जिम्मेवारी पार्टी संयोजक वामदेव गौतमलाई दिइएको छ । उहाँले औपचारिक रूपमा एकता प्रयास गर्नुहुन्छ’, चालिसेले द नेपालटपसँग भने, ‘प्रतिक्रियावादी शक्ति कांग्रेससँग मिलेर बाम आन्दोलन अघि बढ्दैन ।’उसो त गौतमको ‘विभाजक’ नेताको छवि पनि छ किनभने उनले महाकाली सन्धिलाई लिएर २०५४ सालमा एमाले विभाजन गरेका थिए, जतिबेला एमाले बनेको ७ वर्ष मात्र भएको थियो ।

२०५६ सालको आमनिर्वाचनमा १ सिट पनि जित्न नसकेपछि एमालेमै फर्किएका थिए वामदेव गौतम । एमाले र माओवादी मिलेर नेकपा बन्दा पनि उनलाई विभाजनमा सक्रिय नेताको अभियोग लाग्यो । राजनीतिक स्वार्थलाई केन्द्रविन्दुमा राखेर उनी कहिले ओली त कहिले प्रचण्डतिर लागे । अन्ततः उनी राष्ट्रियसभामा प्रवेश गरेरै छाडे, जबकि २०७४ सालमा भएको सङ्घीय निर्वाचनमा उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्