तनहुँको घाँसीकुवामा बस दुर्घटना



तनहुँ : पृथ्वी राजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिकै आइतबार बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार स्याङ्जाका १३ वर्षीय बालक सनम थापालगायत पाँचको अवस्था गम्भीर रहेको छ । घाइते बालकलगायत पाँच जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए । 

अन्य घाइतेहरूको दमौलीको दमौली अस्पताल, रत्नहरी अस्पताल र व्यास सिटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भीमादबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नम्बरको बस दुर्घटना भएको हो । 

सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस चालकको लापरवाहीले गर्दा दुर्घटना भएको अर्यालको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्