धनुषामा दिउँसै लुटपाट, आइएमइ सञ्चालकको आठ लाख लुटियो



जनकपुरधाम : धनुषामा एक आइएमई सञ्चालक दिउँसै लुटिएका छन् । धनुषा र महोत्तरीको सीमामा पर्ने बटेश्वर गाउँपालिकाको शान्तिपुर–चन्द्रपुर नजिकै महोत्तरीको भंगहा नगरपालिकामा आइएमइ सञ्चालन गर्दै आइरहेका रामकुमार साह लुटिएका हुन् । 

उनीसँग रहेको ८ लाख नगद लुटपाट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंकबाट नगद झिकेर साह मोटरसाइलमा महोत्तरीको भंगहातर्फ गइरहेको बेला लुटपाट भएको प्रहरीको भनाई छ । 

दुईवटा अनटेस्ट मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले साहको मोटरसाइकल रोकेर लुटपाट गरि महोत्तरीतर्फ भागेका हुन् । 

भाग्न सक्ने संभावित सबै स्थानमा नाकाबन्दी गरी लुटपाटमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्