दूध खान्छु भन्छ, ल्याइदिनू न !



काठमाडौं । १५ असार अर्थात् धान दिवस। देशैभर दही–चिउरा खाएर मनाइन्छ। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका– ७ शिवपुरगढीका मनी थापा मगर र निशा थापा मगरको परिवारमा पनि उल्लास छाएको थियो। सानो परिवार। १ छोरी र १ छोराका साथमा दही–चिउरा खाने कार्यक्रम तय थियो।

विद्यालय छुट्टी थिएन । त्यसैले बिहानै दही–चिउरा खाएर ६ वर्षीया छोरीलाई विद्यालय पठाउनुपर्ने भयो। सानो २१ महिने छोरा र छोरीका साथमा बिहान ९ः२० बजेको आसपासमा उनीहरूले दही–चिउरा खाए । २१ महिने छोरासँग उनीहरूले दही–चिउरा खाएको फोटो/भिडियोसमेत लिए। त्यसपछि छोरी विद्यालय गइन् ।

सिमसिम पानी परिरहेको थियो । छोरा पिँढीमा खेलिरहेको देखेपछि छोरालाई बाहिर पिँढीमा राखेर निशा घरायसी काममा व्यस्त भइन् । पिँढीमा एक्लै खेले पनि छोरा लड्न सक्छ भनेर केही समयपछि बाहिर निस्किइन् । राखेको ठाउँमा छोरालाई देखिनन् ।

त्यसपछि…
बिहानको ९ः४० बजेको समयमा उनले श्रीमान् (मनी)लाई फोन गरेर छोरा घरमा नभएको बताइन्, जतिबेला मनि पसलमा थिए। उनले घर नजिकै मासु पसल सञ्चालन गरेका छन् । श्रीमती (निशा)को फोनपछि मनी घर पुगे । घर अगाडि–पछाडि छोरालाई खोजे, कहीँ कतै भेटेनन् ।

आफ्नो सन्तान खेलिरहेको देखिरहने आँखाले देख्न नपाउँदा आमाबाबुको मन कति रुन्छ ? सायदै कल्पना पनि गर्न सकिन्छ। उनीहरू दुवै जना आत्तिए । एकैछिनमा गाउँलेहरूसमेत आएर बालकको खोजी गर्न थाले। त्यहीँबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर भयो । सिमसिम पानी परिरहे पनि त्योभन्दा अघिल्लो दिन भीषण वर्षा भएको थियो। उनीहरूको ३० मिटर घर अगाडि नाला छ। त्यही घर अगाडिको नालामा परी अविरल वर्षाका कारण पानीको बाहावले बगाएको हुन सक्ने आशङ्का गरियो ।

स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले त्यसपछि बालकको खोजी नालातिर गर्न थाले। करिब ७–८ घन्टासम्म खोजी गरिरहे तर बालक भेटिएनन् । बालकका परिवार भने आफ्नो छोरा नालामा खसेको कुरा मान्न तयार छैनन् । मनी भन्छन्, ‘कसैसँग त्यस्तो दुश्मनी पनि थिएन । कसैमाथि त्यस्तो शङ्का पनि छैन।’

प्रहरी प्रधान कार्यालय नक्सालमा समेत छोरा हराएकोबारे खबर गरेको मनीले बताए । आफ्नो सन्तान हराएपछि उनीहरूले भेट्टाएर खबर गरिदिने व्यक्तिलाई नगद पुरस्कारसमेत दिने घोषणा गरेका छन् । आफ्नो घर अगाडि पिँढीबाट दूधेबालक छोरा गायब भएपछि ६ दिनयता निशा र मनी राम्रोसँग सुत्न पनि सकेका छैनन् छोरासँग जोडिएका स्मृति र सपनाले उनीहरूलाई निदाउन दिएकै छैनन् । छोराले खेलेको, टिकटक भिडियो बनाएको झल्झली याद आउने गरेको मनीले बताए ।

कानुनले मजाकमा लियो
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका– ७ शिवपुरगढीका २१ महिने दूधे बालक प्रज्वल ६ दिनदेखि बेपत्ता भएपछि पिरले आमा निशा सिकिस्त छन्। काखे छोरा बेपत्ता भएदेखि पिरले आमा निशा सिकिस्त भएकी मनीले बताए।

छोरो आउने आसमा तड्पिएकी निशाले आफ्ना रोदनहरू सामाजिक सञ्जालमार्फत पोखेकी छन् । आफ्नो छोरालाई केही भयो भने जिम्मा (नेपाल सरकार)ले लिनुपर्ने निशाको भनाइ छ।

उनले भनकी छन्, ‘हाम्रो देशको कानुनले मेरो बाबुको केसलाई धेरै मजाकमा लिएको छ।  भोलि मेरो बाबुलाई केही भयो भने मेरो जिम्मा तैँले लिनेछस्, बुझिस्, नेपालको कानुन !’ ‘मेरो बाबुले दूध खान्छु भन्छ, ल्याइदिनू न !’, अर्धचेत अवस्थामा रहेकी निशा बारम्बार यस्तै भनिरहन्छिन्, ‘मामुको माया लाग्दैन ? आऊ न के छिटो। दिनू न प्लिज मेरो बाबुलाई । दूध खान्छु भन्छ के मेरो बाबुले । ल्याइदिनू न कसैले । यो बोल्न नसक्ने बच्चाको व्यथा पनि बुझ्न सकेनौ है भगवान् !’

परिवारका अनुसार बेपत्ता बालक प्रज्वलको अहिलेसम्म केही पत्ता लागेको छैन। प्रज्वल आफ्नै घर अगाडि खेल्ने क्रममा हराएको र घर छरछिमेकीमा खोजतलास गर्दा पनि फेला नपरेको बालकका बुबा मनीले जानकारी दिए। उनले भने, ‘सम्बन्धित ठाउँमा खबरचाहिँ गरेका छौँ।’ तर, मनीको गुनासो छ, आफ्नो नाबालक छोरा बेपत्ता भएपछि उनको खोजीमा हुनुपर्ने आवश्यक तदारुकता कसैले देखाएकै छैन।

नेपाल प्रहरीले समेत अनुसन्धानमा चासो नदिएको उनको आरोप छ। उनले भने, ‘केही बुझ्नलाई प्रहरी कार्यालयमा सम्पर्क गर्दा आश्वासन दिने मात्र काम भएको छ, थप केही प्रगति भएको जस्तो लाग्दैन ।’ हालसम्म बालक प्रज्वलको अवस्थाबारे केही पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

बेपत्ता बालक प्रज्वलको खोजी कार्य भइरहेको नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए। यता, बेपत्ता बालकको खोजी कार्य गरिदिनका लागि परिवारजनले सम्पूर्ण नागरिकहरूसँग आग्रह गरेका छन्।

फेसबुकमा निशाको रोदन
१. छोरा, बिहान पनि भयो के बाबु तिमीलाई कुरेर बसेको ? किन नआएको मेरो छोरा ? मामुको माया लाग्दैन ? आऊ न के छिटो । दिनू न प्लिज मेरो बाबुलाई । दूध खान्छु भन्छ के मेरो बाबुले । ल्याइदिनू न कसैले । (छोरो हराएको भोलिपल्ट लेखेको स्टाटस)
२. बाबु, नाच्न आऊ न बाबु छिटो नाच्न आऊ, मेरो कान्छी । बाबु, तिमी हराएको पनि आज ३ दिन बितिसक्यो । तिमीलाई कसले लग्यो ? मेरो बाबू, म तिमीलाई खोजिरहेको छु । (बालकको टिकटक भिडियोसहित राखेर सोही दिन बेलुका लेखेको स्टाटस)

३. तँ भगवान् के हेरिरा’को छस् मेरो बाबुलाई नपठाएर ? किन तड्पाइरहेको छस् ? मलाई कि खबर त दिनु नि मेरो बाबुको । मलाई कसले राख्नुभएको छ दिनू न मेरो सानु बाबुलाई । कति गाह्रो भइरहेको छ मलाई, थाहा छ ? बिन्ती गर्छु प्लिज मेरो बाबु मलाई दिनू न । धेरै गाह्रो भएको छ के दिनु न मेरो बाबु । (बालक हराएको तेस्रो दिन लेखेको स्टाटस)
४. बाबु अब त आऊ न ।
५. हेल्प भगवान् । मेरो छोरालाई हामीबाट किन यति धेरै दिन छुटाइरा’को छौ तिमीले ?

६. भगवान् पनि कति स्वार्थी हुने रहेछ भन्ने मैले बुझेँ । मलाई के कति भएको छ भने सब देखेको होलाऊ । होइन भगवान्, तिमीले त मलाई बुझेनौ तर मेरो बाबु मबिना कति तड्पिरहेको छ होला ? त्यो बोल्न नसक्नी बच्चाको व्यथा पनि बुझ्न सकेनौ है भगवान् ! आज ५ दिन बितिसक्दा पनि हाम्रो देशको कानुनले मेरो बाबुको केसलाई धेरै मजाकमा लिएको छस् । भोलि मेरो बाबुलाई केही भयो भने मेरो जिम्मा तैँले लिनेछनस्, बुझिस्, नेपालको कानुन ? यो स्वार्थी दुनियाँ एउटा बच्चाको जिन्दगीसँग पीडाको खेल खेलिरा’को छस् होइन जिन्दगी ? (बालक हराएको पाँचौँ दिनमा लेखेको स्टाटस)

७. बाबु तिमी कहाँ छौ ? आऊ न मामु तिमी भएर पसल जाने नि छोरा । आउन छोरा तिमी र मामु पसल नगएको नि आज ६ दिन भयो नि बाबु ! मेरो कान्छी । मेरो छोरा । (बालक हराएको ६ दिनमा लेखेको स्टाटस)

प्रतिक्रिया दिनुहोस्