डीएसपी बढुवाका लागि बालुवाटारबाट चर्चामा रहेका नामहरू



काठमाडौं । यतिबेला नेपाल प्रहरीमा बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूले चर्को लबिङ सुरु गरेका छन्। निरीक्षकबाट नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि २०७० सालमा भर्ना भएका टोलीहरू छन्।

२०७० सालमा निरीक्षकमा भर्ना भएको टोली ठूलो छ । यो टोलीमा १४७ जना निरीक्षक रहेका छन्, जसमा फ्रेस अर्थात् खुलामा नाम निकाल्ने ५९ र विभागीय ८८ जना छन् । ५९ जनामध्ये ९ जना वैकल्पिक हुन्, जसमा ४ जना विभागीय छन्। ९ जना वैकल्पिकमध्ये खुला प्रतिस्पर्धामा निरीक्षक हुनेहरूमा भाष्कर खड्का, कृष्ण बिष्ट, मदन थापा, कमल खड्का र हरि बस्नेत छन्।

त्यस्तै, विभागीयबाट निरीक्षक हुनेहरूमा सुरज खड्का, वकिलबहादुर सिंह, अनिल पण्डित र शङ्कर खड्का छन्। यी सबै जना डीएसपी बढुवाका लागि दाबेदार हुन् । तर, जसको नेताहरूसँग राम्रो सम्बन्ध छ, उनीहरू नै बढुवामा पर्ने देखिएको छ । सत्तारूढ दल निकट रहेका निरीक्षकहरू बढुवाका लागि खुलेरै ‘थ्री पी’ शैलीमा सक्रिय भएका बताइन्छ ।

उनीहरूले ‘थ्री पी’ शैली अर्थात् पार्टी, पावर र पैसाको चलखेल गरिरहेका छन् । यसले राम्रो र सक्षम प्रहरी अधिकृतलाई असर पार्न सक्ने एक पूर्व प्रहरी अधिकारी बताउँछन्। सिनियर र सक्षम अधिकृत रहँदारहँदै पनि ‘थ्री पी’ शैलीमा कारबाही भोगेका निरीक्षकहरूले चलखेल गरेका प्रहरी स्रोतको दाबी छ।

‘पास आउट’मा मेरिटमा पछाडि रहेका निरीक्षकहरूले बढुवाका लागि चलखेल गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई खुसी बनाएर चर्को लबिङ गरेका गृह स्रोतले बतायो। प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले नेताको दबाबमा कुनै पनि प्रहरी कर्मचारीको बढुवा नहुने बताइरहेका छन्।

आईजी सिंहले सक्षम, इमान्दार र सङ्गठनप्रति बफादार अधिकृतलाई बढुवा गर्नुपर्ने अडान राखे पनि शक्तिकेन्द्रको दबाबमा उनी निरीह हुनुपर्ने अवस्था छ। केही विवादित निरीक्षकहरू बढुवाका लागि बालुवाटार र गृह मन्त्रालयसँग नजिक रहेका व्यक्तिहरूलाई प्रयोग गरेर शक्तिकेन्द्र धाइरहेका छन्। स्रोतका अनुसार बालुवाटार र गृह मन्त्रालयले डीएसपी बढुवामा हस्तक्षेप गर्ने प्रबल सम्भावना छ।

बालुवाटारदेखि सिंहदरबारसम्म अनि मन्त्री क्वार्टरदेखि शीर्ष नेताका निवाससम्म धाउने निरीक्षकहरू विवादित अधिकृतहरू हुन् । उनीहरूको मात्र नभएर अन्य दर्जाका अधिकृततहरूको पनि ‘पारा’ उस्तै देखिन्छ। त्यति मात्र होइन, बालुवाटारबाट केही निरीक्षकहरूको नाम डीएसपी बढुवा सिफारिसको चर्चामा रहेको द नेपालटपले फेला पारेको छ ।

उनीहरूलाई जसरी पनि बढुवा गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण र आईजी सिंहलाई निर्देशन दिएको स्रोतले बतायो। बालुवाटारबाट सिफारिसको चर्चामा रहने निरीक्षकहरू सुधीर राई, कमल बेल्बासे, हरिबहादुर बस्नेत, शङ्कर खड्का, आयुश जोशी, विकास बम, राजेशराज पुरी, योगेन्द्र तिमिल्सिना, हिरेन्द्र रोकाया, ऋषिराम घर्तीमगर, रूपा थापा रहेका छन् ।

त्यस्तै, रघुसिंह बिष्ट, सुभद्रा वाइबा, भीमबहादुर खड्का, अनिल ठकुरी, जनक पुरी, अनमोल खड्का, बुद्धिसागर पुरी, मधु नेपाल, निर्जन भट्टराई, सुरक्षा केसी, रामकुमार राई, भीषण बाबु, चेतना पोखरेल पनि लाइनमा छन् । यसैगरी निरन्जन भट्टराई, निर्मल पनेरु, राजन लामा, शिला थापा, एलिजा गिरी, पुरुषोत्तम कार्की, चक्र मल्ल, निशान थापा, यमलाल बन्जाडेको नाम पनि बालुवाटारबाट डीएसपी बढुवा सिफारिसका लागि चर्चामा छ।

यिनीहरूमध्ये केही निरीक्षक कारबाहीमा परेका छन्। तर, केही निरीक्षकहरू सक्षम, इमान्दार र सङ्गठनप्रति बफादार पनि छन् । कारबाही भोगेका अधिकृतहरूलाई बढुवा गर्न नहुने लाइनमा आईजी सिंह रहे पनि प्रधानमन्त्रीको दबाबपछि बढुवा हुनेमा शङ्का नभएको एक अधिकृत बताउँछन्।

आईजी सिंहले कारबाही भोगेका र नभोगेको निरीक्षकहरूको सूचीसमेत निकालेर ‘ट्र्याक रेकर्ड’ अध्ययन गरिरहेका प्रहरी प्रधान कार्यालय स्रोतले जनायो । भावी नेतृत्वको मार्गनिर्देश गर्ने भएकाले समेत यस बढुवामा अगाडि आउन चलखेल भएको हुन सक्ने बताइन्छ ।

प्रधानमन्त्री देउवाले मात्र नभएर गृहमन्त्री खाणले समेत आफ्ना नजिककालाई डीएसपी बनाउनका लागि केही निरीक्षकहरूको नाम सिफारिसका लागि तयारी अवस्थामा राखेका स्रोत बताउँछ ।

यसले गर्दा वर्षौंदेखि सङ्गठनका लागि काम गरेका अधिकृतहरूको बढुवा हुने सपना तुहिन सक्छ । यस्तै, २०६७ सालमा भर्ना भएका निरीक्षक दिपेन्द्र पाल पनि डीएसपी बढुवाको दौडमा छन् । सम्भवतः पाल डीएसपी बढुवाका लागि पक्कापक्की जस्तै हुन् । २०६७ को टोलीबाट पाल एकल हुन् ।

६०/४० मा बढुवा गर्नुपर्ने आईजीको अडान

प्रहरी नियमावलीमा खुला वा विभागीय बढुवा भनेर कहीँ कतै पनि विभेद गर्न पाइँदैन । दुवै बाटोबाट आएकाहरूका लागि अलगअलग ढङ्गको बढुवा मापदण्ड पनि छैन । तर, प्रहरी नेतृत्वले ६०/४० मा बढुवा गर्न लागिपरेको स्रोत बताउँछ।

प्रहरीमा बढुवाको क्रममा वरिष्ठता, कार्यक्षमता, अनुभवलाई प्रमुख आधार मान्ने गरिन्छ । यस आधारमा सहायक निरीक्षक (असई)देखि नै काम गरी निरीक्षक भएकाहरू हरेक हिसाबले परिपक्व र दक्ष भए पनि भावी नेतृत्वको प्रतस्पर्धामा उनीहरू पुग्दैनन् ।

तर, प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणले डीएसपी बढुवाका लागि विभागीय निरीक्षकहरूलाई खुलालाई भन्दा प्रथामिकतामा राख्न निर्देशन दिएको स्रोत बताउँछ किनकि उनीहरूले शक्तिकेन्द्रमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रभाव पारेका छन्। विभागीहरूलाई प्राथमिकतामा राखेर बढुवा निकालेमा खुलामा आएर बढुवामा छुटेका निरीक्षकहरूमा निराशा छाउने गर्छ।

‘त्यसैले सङ्गठन प्रमुखले अडान लिएर ६०/४० को आधारमा बढुवा गरेमा केही हदसम्म राहत मिल्नेछ’, एक जना निरीक्षकले भने, ‘सङ्गठन प्रमुखले यति सामान्य कुरालाई नजरअन्दाज गरिदिनुहुन्छ भन्ने लागेको छ।’

सिनियर भएर पनि ठाउँमा आफन्त नभएकै कारण अन्यायमा पारिदिएको अवस्थामा आफूहरूको पक्षमा कदम चालिदिने कोही नभएकाले यस्तो हुन पुगेको भन्दै चित्त बुझाउनुबाहेक अर्को विकल्प नभएको ती निरीक्षकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्