प्रहरीमा आईजीभन्दा शक्तिशाली डीएसपी !



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख व्यक्तिगत सुरक्षा अधिकृतको रूपमा खटिएका छन्– नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) कोमलविक्रम शाह। सुरक्षा अधिकृतको रूपमा खटिनुअघि शाह नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत थिए।

डीएसपी शाह यसअघि देउवा २०७४ सालमा चौथो पटक प्रधानमन्त्री हुँदा पनि उनका प्रमुख सुरक्षा अधिकृतको रूपमा खटिएका थिए। उनै डीएसपी शाह यतिबेला प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि पहिलो नम्बरमा आउन खोजिरहेका छन्।

देशको बागडोर सम्हालेका व्यक्तिको प्रमुख व्यक्तिगत सुरक्षा अधिकृतको रूपमा खटिएपछि १ नम्बरमा बढुवा नहोलान् पनि भन्न सकिँदैन। तर, शाह सङ्गठनमा कमाण्डमा कमजोर प्रहरी अधिकृत हुन्।

डीएसपी शाहलाई सङ्गठनभित्र प्रहरी नेतृत्वभन्दा शक्तिशाली भनिन्छ। प्रहरी नेतृत्वले समेत प्रधानमन्त्रीसँग भेट गर्नका लागि उनै डीएसपी शाहसँग समय लिने गर्ने गरेको बालुवाटार स्रोतले बतायो।

त्यति मात्र होइन, उनले आफ्नो प्यानलका मान्छेलाई सिधै प्रधानमन्त्रीसँग भेट्टाइदिने पनि गर्दै आइरहेका बताइन्छ। २०६१ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा सेवा प्रवेश गरेका डीएसपी शाहको टोली यतिबेला एसपी बढुवाका लागि सक्रिय हुन थालेको छ।

इन्स्पेक्टरबाट डीएसपी बढुवामा शाह आफ्नो टोलीमा २५औँ नम्बरमा छन्। तर, यस पटक उनी २४ जनालाई पछि पारेर १ नम्बरमा आउन खोजेका हुन्।

डीएसपी शाहले देउवा सरकारमा रहँदा आफूले जे भन्यो, त्यही हुने भन्दै ब्याचीहरूलाई समेत भन्दै आउने गरेका छन्। त्यही भएर शाहका अधिकांश ब्याचीले बढुवाका लागि प्रधानमन्त्री समक्ष कुरा पुर्‍याइदिन्छ भन्ने सोचले उनलाई बारम्बार फोन गरिरहने स्रोत बताउँछ।

डीएसपी शाहले आफ्नो ब्याचबाट कोको एसपी बढुवामा पर्ने भनेर ‘लिस्ट’ नै बनाएका बताइन्छ। ‘आफ्नो ब्याचबाट क–कसलाई एसपी बढुवाको सूचीमा पार्ने भनेर शाहले सूचीसमेत तयार पारिसकेका छन्। उनै शाहको सूचीलाई प्रधानमन्त्री देउवाले सदर गर्नेछन्’, स्रोत भन्छ।

डीएसपी शाहका ब्याचीहरू गौतम केसी, टेकुनन्द लिम्बू, नरेशराज सुवेदी, भरत विक, बसुन्धारा खड्का, विपीन रेग्मी, रवीन्द्र सिंह, अनुपम श्रेष्ठ, चित्रबहादुर गुरुङ, मोहनकुमार थापा, नवरत्न पौडेल, गौतम मिश्र, सुधीरराज शाहीलगायत बढुवाका दाबेदार हुन्।

यस्तै, काजी आचार्य, राजेन्द्र पोखरेल, नवराज कार्की, देवेन्द्र खड्का, वासुदेव पाठक, दुर्गाराज रेग्मी, नवीनकिशोर प्रधान, रूपेश खड्का, भावेश रिमाल, सन्तोष आचार्य, सन्तोष तामाङ, नारायाणप्रसाद चिमोरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिग्राम शर्मा पनि बढुवाका दाबेदार हुन्।

कुमोद ढुङ्गेल, राजन भुजेल, नरेन्द्र चन्द, गोविन्द काफ्ले, प्रदीप क्षेत्री, अङ्गुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबहादुर ओलिया, नारायण रन्जितकार, निरन्जन भट्ट, राजन लिम्बू, एकनारायण कोइराला, अनन्त शर्मा, विनोद घिमिरे र नवीन कृष्ण भण्डारी पनि शाहका ब्याचमेट हुन् ।

१५ जेठ २०६१ मा इन्स्पेक्टरमा भर्ना भएको यस टोलीबाट एसपी बढुवामा १२ जना पर्ने सम्भावना छ। ‘त्यही १२ जनाको लिस्ट डीएसपी शाहले तयार पारेर प्रधानमन्त्रीलाई बुझाइसकेका छन्। सम्भवतः आज/भोलिमा बढुवाको सूची सार्वजनिक हुन्छ’, नाम नबताउने शर्तमा एक जना डीएसपीले भने।

एसपी बढुवामा डीएसपी शाह हाबी हुँदा प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंह असन्तुष्ट रहे पनि केही गर्न सक्ने अवस्थामा छैनन् । ‘एसपी बढुवामा शक्तिकेन्द्रमार्फत दबाब दिएपछि आईजी सिंहले असन्तुष्टि जनाएका छन्’, प्रधान कार्यालय स्रोतले भन्यो।

‘डीएसपी शाह आईजीभन्दा शक्तिशाली भएपछि प्रहरी सङ्गठन कस्तो अवस्थामा पुग्ला ?’, एक प्रहरी अधिकृतको शङ्का छ। यसरी नै केही प्रहरी अधिकृतहरूको दबाबका कारण प्रहरी नेतृत्व सधैँ आलोचनाको सिकार बन्ने गरेका उनी बताउँछन्।

सिनियर टोली अझै बाँकी छन्
शाहको टोली (२०६१) भन्दा अझै अगाडि छ २०५८ सालको टोली। उनीहरू एसपी बढुवाका स्वाभाविक दाबेदार हुन् । तर, प्रहरी नेतृत्वले एसपी बढुवामा अडान लिन सक्छ/सक्दैन, त्यो हेर्न बाँकी छ। सङ्गठनमा एसपीका ३६ पद रिक्त छन्, जसमा आकाङ्क्षीहरू धेरै छन्। त्यसैले थोरै पदका लागि दर्जनौँ डीएसपीहरूबीच लडाइँ छ।

२०५८ सालको ब्याचबाट डीएसपीहरू सुमन तिमल्सिना, नरहरि रेग्मी, लक्ष्मी अधिकारी, विनोद शर्मा, सञ्जय राउत, विष्णुहरि कोइराला, देवेन्द्र पाल र हरि शर्मा बढुवाको लाइनमा छन्। यिनसमा हरि शर्मा बढुवामा अन्याय भएको भन्दै जागिर नै छाडेर अमेरिका गइसकेका छन्।

यस टोलीका अधिकांश अधिकृतहरू एसपी भइसकेका छन्। रमेश थापा, प्रभु ढकाल, नवराज अधिकारी, होबीन्द्र बोगटीलगायत एसपी भइसकेर जिल्ला इन्चार्ज खाइसकेका छन्। तर, डीएसपी शाहको रजगजले अझै पनि कतिपय यो बढुवामा छुट्न सक्ने बताइएको छ।

यस्तै, २०५८ सालको ब्याचका वैकल्पिक टोलीहरू पनि एसपी बढुवाको आकाङ्क्षी हुन्, जसमा डीएसपीहरू बालनरसिंह राणा, अवदेश बिष्ट, राजेश थापा, मित्रबन्धु शर्मा, रन्जितसिंह राठौर, रामप्रसाद घर्तीमगर, नरेन्द्रकुमार कार्की, खडकबहादुर खत्री, चिरञ्जीवी कोइराला, माधव बुढाथोकी,विश्वराज खड्का, हरिहरनाथ योगी र अपिल बोहरा वैकल्पिक टोली हुन्।

२०५८ सालको वैकल्पिक टोलीलाई उछिन्ने दाउमा छन्, डीएसपी शाहका ब्याचमेट। शक्ति र पहुँचकै भरमा सङ्गठनमा फड्किएर आफूभन्दा सिनियर ब्याचलाई नै बढुवा हुने परम्परालाई डीएसपी शाहले निरन्तरता दिन खोजेका छन्।

एसपी बढुवाको सिफारिस सूची तयार बनाएर राखेसँगै सिनियर ब्याचका अधिकारीहरूलाई पाखा लगाउँदै ‘जम्प’ गर्ने ध्याउन्नमा रहेका डीएसपी शाहको योजना बिफल बनाउन सक्लान् आईजी सिंहले ? आईजी सिंहले थेग्न सक्लान् राजनीतिक प्रभाव र दबाब ? डीएसपी शाहीलाई १ नम्बर हुनबाट रोक्न सक्लान् ? यो निकट भविष्यमै देखिने एक अधिकृत बताउँछन्।

आशालाग्दा आईजीप्रति सङ्गठनभित्र निराशा !

डीएसपीको बढुवा समितिले शक्तिकेन्द्रको आदेश मान्दै कार्यक्षेत्रमा खटिएका अधिकृतहरूलाई भन्दा नेताका अङ्गरक्षकलाई प्राथमिकता दिएर सिफारिस गर्ने हो भने गृहमन्त्री बालकृष्ण खाण र आशालाग्दा आईजी भए पनि प्रहरी सङ्गठनभित्र भने निरासा छाउने प्रहरी अधिकृतहरूबीच चर्चा हुन थालेको छ।

बेलाबेलामा आईजी सिंह प्रधान कार्यालयमा कड्किन्छन्। बढुवाका लागि प्रहरी अधिकारी ‘शक्तिकेन्द्र’ धाएकामा उनी रुष्ट हुन्छन्। त्यस्ता अधिकृत बढुवामा छुट्न सक्ने चेतावनीसमेत दिन्छन्। चेतावनी दिँदै उनले बढुवाका लागि सङ्गठनको नेतृत्वमै विश्वास गर्न निर्देशन पनि दिने गरेका एक अधिकृत बताउँछन्।

तर, अन्तिम समयमा आएर आईजी सिंह शक्तिकेन्द्रलाई प्रयोग गरेर बालुवाटार र गृहमन्त्रालयमार्फत पुगेको दबाब थेग्न सक्ने अवस्थामा नरहेका प्रधान कार्यालय स्रोतले बतायो। ‘निरीह भएर बालुवाटार र गृह मन्त्रालयबाट आएको सूचीमा हस्ताक्षर गर्न बाध्य हुन्छन्’, स्रोत भन्छ।

डीएसपी बढुवामा समेत शाहको रजगज

शाहले एसपी बढुवा मात्र होइन, डीएसपी बढुवामा समेत उसैगरी ‘कब्जा’ जमाएको जानकारको भनाइ छ। शाहले प्रधानमन्त्री देउवापत्नी आरजु राणासँग मिलेर डीएसपी बढुवाको सूचीसमेत तयार पारिसकेको स्रोत बताउँछ।

प्रहरी हेडक्वार्टरले एउटा सिनियर अधिकृतलाई उसको दक्षता, क्षमता, व्यावसायिकता हेरेर बढुवा गर्न नपाउनु दुःख भन्दा पनि लज्जाको विषय हो। पछिल्लो समय प्रहरीको सरुवा/बढुवा सबै सूची बालुवाटारबाटै पुग्ने गरेको छ।

यसअघि शनिबार निस्केको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा समेत बालुवाटारबाटै हस्तक्षेप भएको स्रोत दाबी गर्छ। ‘विवादित व्यक्तिलाई अगाडि ल्याउन दबाब दिँदा प्रहरी नेतृत्वले चुपचाप त्यही कुरालाई सदर गरिदिए’, स्रोतको भनाइ छ।

कसरी हुन्छ बढुवामा चलखेल ?
प्रहरी अधिकारीहरूको सरुवा/बढुवा पूर्ण रूपमा ऐन, कानुनअनुसार व्यवस्थित मापदण्ड निर्धारण गरी हुनुपर्ने हो। प्रहरी नियमावली, २०७१ ले कार्यसम्पादन मूल्याङ्कनलाई बढुवाको आधार बनाएको छ। तर, नियमावलीले बढुवामा चलखेल गर्ने आधार पनि दिएको छ।

कार्यसम्पादन मूल्याङ्कन प्रणालीले प्रहरीको बढुवा कार्यक्षमताका आधारमा हुने भन्दै प्रहरी नियमावली, २०७१ लाई उत्कृष्ट नियमावली भनियो। तर, नियमावली फेरिँदैमा नियत फेरिएन। त्यसयता प्रहरीको बढुवा झनै विवादमा फस्दै गएको छ, सङ्गठन झनै कमजोर हुँदै गएको छ।

१०० नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्याङ्कन, २० नम्बर जेष्ठता, १० नम्बर भौगोलिक क्षेत्रमा काम गरेको अनभुव, १० नम्बर शैक्षिक योग्यता, ७ दशमलब ५ नम्बर तालिम र बाँकी १२ दशमलब ५ नम्बरमध्ये ७ दशमलब ५ नम्बर दिने अधिकार बढुवा सिफारिस समितिलाई हुन्छ।

यही १२ दशमलब ५ नम्बरमा चलखेल हुने गरेको छ। नम्बर दिनेबारे निश्चित मापदण्ड छैन। सुरुमा बढुवा हुने व्यक्तिको सूची बनाएर त्यहीअनुसार नम्बर मिलाउने गरिएको छ। यही कारण अहिले प्रहरी बढुवा नेताको हातमा पुगेको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्