‘महासचिव’ चयनमा ‘प्रचण्ड बानी’ बाधक



काठमाडौं । अलिक बढी उदार र भावुक हुने बानी पहिलेदेखिको बताउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदाधिकारी छान्न गम्भीर सङ्कट परेको छ।

आफ्नो बानी कठोर भएको भए सङ्कट नआउने उनलाई लाग्छ। यसको अर्थ आठौँ महाधिवेशन भएको ६ महिना नहुँदै उनले महासचिवसहितको पदाधिकारी टुङ्ग्याउँथे । तर, टुङ्ग्याउन सकेका छैनन् । उनकै शब्दमा भन्ने हो भने पदाधिकारी टुङ्ग्याउन नसक्नुमा उनको ‘अलिक बढी उदार र भावुक हुने बानी’ पनि कारक बन्यो।

२ दिनअघि (बिहीबार) केन्द्रीय समिति बैठक जारी रहँदा नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डको गोजीमा पदाधिकारीको नाम भएको बताएका थिए। बैठकमा प्रचण्डले नाम प्रस्ताव गरेपछि महासचिव को हो ? भन्ने थाहा हुने उनको भनाइ थियो। उनी पनि महासचिवका आकाङ्क्षी हुन्।

पार्टी केन्द्रीय समितिमा पनि नेताहरूले प्रचण्डलाई पदाधिकारी टुङ्ग्याउनुपर्ने भन्दै चर्को दबाब दिएका थिए। प्रचण्डले भने बैठकमा सबै पदाधिकारीको नाम प्रस्ताव नै गरेनन् बरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ हुने बताए। अनुमोदन हुन भने बाँकी छ।

उपाध्यक्षमा कृष्णबहादुर महरालाई प्रचण्डले अघि सारेका छन्। उनी पनि अनुमोदित भइसकेका छैनन्। बाँकी ५ उपाध्यक्ष कोको हुने ? प्रचण्डले सङ्केत गरिसकेका छैनन्। स्रोतका अनुसार नेता गजुरेलसँगै मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका शीर्ष नेता मातृकाप्रसाद यादव, पम्फा भुसाल, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतलाई प्रचण्डले उपाध्यक्ष छान्ने सम्भावना छ।

प्रचण्डलाई सङ्कट भएको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा पनि होइन, महासचिवमा हो। बलिया दाबेदारहरू वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ मानिन्छन्। एकले अर्कालाई महासचिव नछाड्ने पक्षमा उनीहरू छन्।

१९ असारमा बसेको कार्यालय बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले चर्चामा रहेका नेताहरूबाट महासचिव छानौँ कि बाहिरकालाई ? भनेका थिए । यस प्रश्नलाई आधार मान्दा प्रचण्ड विकल्प खोज्ने पक्षमा पनि देखिन्छन् । तर, जनार्दन निकट एक नेताले कार्यालय बैठकमा महासचिवमा दाबी छाड्दै नछाड्ने हो भने निर्वाचनमा जानुभन्दा आफू उपाध्यक्ष पदमा रहन सकिने विकल्प नेता पुनले प्रस्तुत गरेको बताए।

‘हामी २ को विकल्प खोज्ने हो भने म उपाध्यक्षमा रहन पनि सक्छु। कमरेड जनार्दनलाई बनाउनुहोस्’, बैठकमा पुनले राखेको भनाइ उद्धृत गर्दै ती नेताले भने।पार्टीमा भने पुन शर्माभन्दा वरिष्ठ नेता हुन् । उनी यसअघि पदाधिकारी (सचिव) भइसकेका छन्। शर्माचाहिँ पदाधिकारी भएका छैनन्।

फेरि, वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा अनेक विवाद मुछिँदै हालै सरकारबाट अलग भएका छन्। यसले महासचिवमा उनको दाबेदारीलाई कमजोर पार्न सक्ने कतिपयको विश्लेषण छ। तर, महासचिवसहितको पदाधिकारी छान्ने सर्वाधिकार प्रचण्डलाई छ।

उक्त पार्टीका स्थायी समिति सदस्य कालीबहादुर मल्लले समितिको अर्को बैठकमा प्रचण्डले पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने र त्यसमाथि छलफल गरेर टुङ्ग्याइने बताए। ‘२–४ दिनमा स्थायी समितिको अर्को बैठक बस्छ । त्यही बैठकमा अध्यक्ष कमरेडले प्रस्ताव गर्नुहुन्छ । प्रस्तावमाथि छलफल गरेर टुङ्गो लगाउँछौँ’, शनिबार बसेको स्थायी समिति बैठकपछि मल्लले द नेपालटपसँग भने।

पुन र शर्माको विकल्पमा प्रचण्डले प्रस्ताव गर्न सक्ने नेताहरूका रूपमा कृष्णबहादुर महरा, हरिबोल गजुरेल र देवप्रसाद गुरुङलाई हेरिएको छ। महरा प्रचण्डका विश्वासपात्र हुन्। उनलाई प्रचण्डले पूर्वमाओवादी नेताहरूलाई माओवादी मूलधारमा फर्काउने जिम्मा दिएका छन्।

सोहीअनुसार महराले धमाधम पूर्वमाओवादीहरूलाई एकता प्रक्रियामा ल्याउँदै पनि छन्। गजुरेल भने पार्टीमा गुटबाट अलग भएका नेता हुन् । उनले भनेका छन्, ‘गुटबन्दीमा नरहेको म जस्ता मान्छे महासचिव हुँदा सबैलाई मिलाएर लैजान सकिन्छ। त्यसले प्रचण्डले धेरै सहयोग पुग्छ।’ नेता गजुरेल पार्टीका एक जना वरिष्ठ नेता पनि हुन्।

अर्का नेता देवप्रसाद गुरुङ कानुन, कूटनीति र कम्युनिस्ट आन्दोलन राम्रो बुझेका नेताका रूपमा चिनिन्छन्। उनलाई पनि प्रचण्डले पुन र शर्माको विकल्पको रूपमा महासचिव पदका लागि योग्य देखेका छन्। स्थायी समिति सदस्य डिलाराम आचार्य चर्चामा भएका र नभएका नेतामध्येबाटै अध्यक्ष प्रचण्डले आगामी कार्यालय बैठकमा महासचिवको नाम प्रस्ताव गर्ने र त्यसमाथि छलफल गरेर टुङ्गो लाग्ने बताउँछन्।

उनले भने, ‘अहिल्यै को महासचिव भन्ने स्थिति छैन । अध्यक्षले प्रस्ताव गर्नुपर्छ पहिले । उहाँलाई त्यो अधिकार छ । प्रस्तावमाथि छलफल गरेर टुङ्ग्याउँछौँ। उहाँ (प्रचण्ड)ले चर्चामा भएका वा नभएका नेताहरूबाट नाम प्रस्ताव गर्नुहुन्छ।’

पार्टी सङ्गठनमा पुन र शर्माको प्रभाव बढी रहेको ठानिन्छ। सङ्गठकलाई नै महासचिव बनाउने पक्षमा प्रचण्ड छन्। तर, २ नेता प्रतिस्पर्धी बन्ने देखिएपछि प्रचण्डले ‘कठोर’ निर्णय गर्न सकेका छैनन्। अर्थात् उनी सहमतिबाटै महासचिव छान्न उदार छन्, जसका कारण पदाधिकारी टुङ्गो लगाउन प्रचण्डलाई ‘फलामको चिउरा’ भएको छ।

पार्टीको २ उपमहासचिवमा भने नेताहरू राम कार्की ‘पार्थ’, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेललगायत नेताहरूको चर्चा छ । ३ सचिव र १ कोषाध्यक्षमा भने कुनै नेताहरूको दाबेदारी छैन।

प्रतिक्रिया दिनुहोस्