अब महानगरका सबै सामुदायिक विद्यालयमा एकैखाले रंगरोगन हुने



काठमाडौं : काठमाडौं महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए।

महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उनले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने बताए।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन भौतिक संरचनामा पनि सकेसम्म एकरुपता ल्याउने प्रयासमा लागेका छौं,’ उनले भने, ‘त्यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय भवनमा एकै खालको रङरोगन गर्ने तयारी थालेका छौं।’

महानगरमा ९१ वटा सामुदायिक विद्यालय रहेका छन्। उनले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नका लागि करिब १० करोड रूपैयाँ  विनियोजन गरिएको समेत जानकारी दिए। उनका अनुसार विद्यालयको रङरोगन गर्ने, खेल मैदान निर्माण गर्ने, वृक्षरोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्नेलगायतका शीर्षकका लागि १० करोड रकम छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्