राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भएको गोल्छाको आरोप



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षले बैंकिङ ब्याजदर वृद्धिका कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन ।

आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासङ्घले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले बैंकहरूको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताए ।

अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरू समस्यामा परेको गुनासो गरे । उनले अहिले सीमित तरलता रहेको अवस्थामा उत्पादन उद्योगमा लगानी लगाउनुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘अहिलको ब्याजदर बजारको मूल्यवृद्धिलाई धान्न नसक्ने गरी आएको छ । ६ महिनामा ब्याजदर दोब्बर भएर गएको छ । राष्ट्र बैंकले समयमा नै नियन्त्रण गरेको भए अहिलको अवस्था आउने थिएन । हामीले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक छ । उत्पादन क्षेत्र नै हाम्रो अर्थतन्त्रको आधार हो । उत्पादन क्षेत्रमा लगानी गर्दा रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान हुन्छ ।’

अध्यक्ष गोल्छाले उद्योगहरूले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले सङ्कटको समयमा केन्द्रीय बैंकले सबै समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउँछ भन्ने निजी क्षेत्रले अपेक्षा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्