मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा उनले मूल्य वृद्धि लक्ष्यभन्दा माथि हुने भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताएका हुन् ।

चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको गभर्नर अधिकारीको भनाई छ ।

प्रोत्साहन प्याकेज ल्याएका विश्वको अन्य केन्द्रीय बैंकले हटाउँदै लगेको उनले बताए । अहिले नेपाली मुद्रा ७ प्रतिशतको अवमूल्यन भएको बताउँदै उनले आयात बढ्नुमा केही अंश परिमाणको कारण भए पनि मुख्य मूल्य वृद्धि रहेको बताएका छन् ।

रेमिट्यान्स पछिल्लो महिनामा सुधार हुँदा नेपाली र अमेरिकी डलर दुवैमा गत आर्थिक वर्षकोभन्दा बढी हुने देखिने उनको भनाइ छ ।

तरलता व्यवस्थापन गर्न तीन खर्बभन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै उनले कोभिडको बीचमा दिएका सुविधा जे जति थिए अहिले कोभिडबाट बाहिर आएर अर्को समस्यामा आएकोले यसलाई बाहिर ल्याउने गरी मौद्रिक नीति आउने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्