११ महिनामा निर्यात ५३.३ प्रतिशत र आयात २७.५ प्रतिशतले वृद्धि



काठमाडौं । आर्थिक वर्ष २०७८-७९ को ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८-७९ को एघार महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कञ्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई १५७७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २०० अर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७३ अर्ब २६ करोड बराबरको भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्