बजेटमा करका दरहरू घटाइएको छ : मेयर आचार्य



कास्की । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महानगरले आर्थिक वर्ष २०७९-८० को बजेट करका दरहरू घटाएको बताएका छन । आउँदो आर्थिक वर्षका लागि आठ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले नगर सभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापनलगायतमा करको दर घटाएको उनले बताए।

सोमवार भएको एक अन्तरक्रियामा मेयर आचार्यले अघिल्लो वर्षको भन्दा झन्डै साढे दुई अर्ब रुपैयाँ बढी बजेट ल्याए पनि महानगरले करको दर घटाएको जानकारी दिएका छन । करको दर घटाएर दायरा बढाएको उनले बताए । सम्पत्ति, व्यवसाय तथा घरबहालको कर घटाए पनि पोखरामा अनधिकृत रूपमा संरचना बनाएका घरहरूबाट राजस्व असुल गरिने उनले सुनाएका छन ।

मेयर आचार्यले सेवाग्राहीलाई एकद्वार प्रणालीबाट सेवा दिने, घुम्ती सेवा शिविर सञ्चालन गर्ने, कर्मचारीसँग कार्य विवरण र कार्य सम्पादन सम्झौता गर्ने, पुरानो नक्सा डिजिटल बनाउने लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका छन । उनले ल्यान्डफिल साइटबारे चाँडै टुङ्गोमा पुग्ने उल्लेख गरे । अब बन्ने ल्यान्डफिल साइट आधुनिक हुने उनको भनाइ छ ।

मेयर आचार्यले पूर्वमेयर मानबहादुर जिसीले पर्यटन बसपार्क, यातायात र गल्फको जग्गा विधि नपुर्‍याइ दिएको टिप्पणी गरेका छन । नाङ्गो आँखाले हेर्दा विधि र प्रक्रिया नपुर्‍याइ हतारहतार सम्झौता गरेको देखिएको र छानबिन समितिको प्रतिवेदनमा विस्तृतमा आउने उनको भनाइ छ ।

मेयर आचार्यले पोखरामा बहु तले पार्किङ बनाउने योजना रहेको पनि बताए । अहिलेको महानगर कार्यालय भवन भएको ठाउँ र नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रलाई पार्किङ बनाउने बारेमा छलफल चलिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्