बागलुङमा डेंगु भेटियो



काठमाडौं । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेंगु देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो।

धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि भएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए।

उनीहरू शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए। सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ का हुन्। ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।​

वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्