आज छठको दोस्रो दिन, घरघरमा खरना मनाइदै



जनकपुरधाम : सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइदैछ ।

जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । यस दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रत बस्नेले दिनभर उपवास बस्ने गर्दछन् ।

साँझ चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको खीरलाई ब्रत बस्नेले ग्रहण गर्छन् ।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व हिजो ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।

केही वर्षअघिसम्म मिथिलाञ्चलमा मात्र मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा भने काठमाडौं उपत्यकासहित पहाडि जिल्लामा पनि मनाउन थालिएको छ ।

पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्