चुनावमा गठबन्धनसहित प्राप्त परिणाम सन्तोषजनक : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा गठबन्धनसहित प्राप्त परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल हुँदा परिणाम सन्तोषजनक आएको निष्कर्ष निकालेको हो ।

निर्णयमा भनिएको छ,’चुनावी तालमेल सम्बन्धमा २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा पाँच दलीय गठबन्धनमा सहभागी हुने निर्णय पार्टीले गरेको थियो । यही निर्णयका आधारमा कतिपय स्थानीय तहमा गठबन्धन सहित हामी निर्वाचनमा भाग लियौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक समग्रमा गठबन्धनसहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गर्दछ।’

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम् साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ।’

उनले कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्