‘अटल मिथिला सम्मान’ बाट मैथिली साहित्यकार धीरेन्द्र प्रेमर्षि सम्मानित



जनकपुरधाम : ‘अटल मिथिला सम्मान २०१९’ बाट मैथिली साहित्यकार धीरेन्द्र प्रेमर्षिलाई सम्मानित गरिएको छ । उनी मैथिलीको लोकप्रिय कार्यक्रम हेलो मिथिलाका सञ्चालक समेत हुन् । 

भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको नाममा स्थापित उक्त सम्मानबाट प्रेमर्षिलाई भारतको दिल्लीमा शनिबार एक भव्य कार्यक्रमबीच सम्मान गरिएको हो । 

हिन्द पोष्ट मिडिया र मैथिलीका युवा अभियानी प्रदीप कुमार झाद्वारा आयोजना भएको उक्त सम्मान  कार्यक्रममा लेखक, गायक, संगीतकार समेत रहेका बहुआयामिक व्यक्तित्व प्रेमर्षिलाई मिथिला र मैथिली श्रीवृद्धिलागि निमित दशकैदेखी अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै अटल मिथिला सम्मान प्रदान गरिएको हो ।

भारत सरकारका रक्षा मन्त्री भारतीय जनता पार्टीका वरिष्ठ नेता राजनाथ सिंहको प्रमुख आतिथ्यमा आयोजीत कार्यक्रममा उनकै साथबाट प्रेमर्षि सम्मानित भएका हुन् ।

सम्मान समारोहमा भारतका मन्त्रीदेखी पूर्वमन्त्री, राज्यसभा सांसदलगायत गीत संगीत क्षेत्रका कलाकारहरुको उपस्थिती थियो ।

समारोहमा नेपालबाट प्रेमर्षि, चर्चित बलिउड गायिका अलका याग्निक, उत्तराखण्डका आइएएस नितेश झालाई समेतलाई मिथिला अटल सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा वलिउडका चर्चित गायक पद्मभूषण सम्मानबाट सम्मानित उदितनारायण झा, संगीतकार तथा गायक प्रवेश मल्लीक, साहित्यकार किसलय कृष्णलगायतका चर्चित कलाकारहरुको समेतका उपस्थिती थियो ।

नेपालबाट उक्त पुरस्कार पाउने पहिलो रेडियोकर्मी एवं लेखक प्रेमर्षि सिरहा जिल्लाको वस्तीपुर निवासी हुन् ।

उनले विगत तीन दशकदेखि मैथिली भाषा, कला–साहित्य, संस्कृति संरक्षण, सम्वद्र्धन, प्रचार–प्रसार एवं उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउदैआएका छन् । 

प्रतिक्रिया दिनुहोस्