श्रावण महिना, खिर पर्व र पशु धन



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । मौसम परिवर्तन, वर्षाले साथ नदिएको श्रावणको पूर्व साता हरिया चुरा–पोतेले सजिएको शिव आराधनाको महिना, सधैँ दूध–भात खाने नेपालीले नसके पनि १५ गते खिर खानै पर्ने संस्कृति बोकेकोमा आज पशु धन भनौँ किलो–दाम्लो लगभग रित्तै छ ।

ठूलाले पहिलेपहिले दिइने अशीर्वाद– सधैँ सबैको कल्याण होस्, कुशल मङ्गल होस्, पूर्णायु होस्, गाई, भैँसी, पशु धनलगायत हात्ती, घोडा वृद्धि हुन्, धन, धान्य, दौलतले परिपूर्ण होस्, कुवेरको ढुकुटीझैँ बढिरहून्, सदा सबैको ऐश्वर्य वृद्धि भई शरीरमा कान्ति, बल भनौँ चमक, मनमा शान्ति, निरोगिताका साथमा शत्रुमाथि विजयी हुन सजिलो होस् र सन्तान बढून्, भगवदीय प्रेम बढोस् । यो पनि उखान जस्तै भएको छ।

पशु धनको साटो डिउ, फेन्टा, कोकले जितेको छ । अन्तर्राष्ट्रिय स्तर त देखाउनुपरेकै छ र बहुराष्ट्रिय कम्पनीका धनमाल बिकाउनु पनि परेको छ। स्वास्थ्य जतासुकै जाओस्, मतलब भएन ! पूर्वीय दर्शनमा पशु धन वृद्धि हुनेलाई समृद्ध भनिन्थ्यो भने अहिले पनि कृषि कार्यलाई सम्मानित दृष्टिले हेर्नुपर्ने मान्यता हो ।

राजनीतिक ठूला परिवर्तनअघिसम्म हामी देशको खाद्यान्न निर्यात गथ्र्यौँ, अहिले अर्बौं रूपैयाँको चामल, धान आयात गर्ने भएका छौँ र खेतबारीमा कृषि कर्म गर्ने पाखुरीहरू खाडीमा पोखिएका छन् । र त देश व्यपार घाटामा त छँदै छ, खाद्यान्न सङ्कटको घडीमा पनि छ। धान, चामल आ. व. २०७८/०७९ को ११ महिनामा ४५ अर्ब २९ करोड ७५ हजार रूपैयाँको आयात भएछ। दैनिक आयात १३ करोड ५० लाख रूपैयाँको औसतमा छ।

यसै १५ असारमा पनि तामझामका साथ धान दिवस मनाइयो, सरकारले औपचारिकता पनि पूरा गर्‍यो तर धानको बिउलाई भने माला लगाएर खेर फालिएका दृश्यहरू सामाजिक सञ्जालहरूमा भाइरल भए, गर्नेलाई भन्दा देख्नेलाई लाज !
समस्या
कृषिप्रधान देशमा १५ असार दही–चिउरा दिवस, १५ साउन खिर दिवस, बस्, औपचारिकताका अन्य दिवसहरूझैँ । यस दिन दूधको परिकार खिर खाएमा शरीर निरोगी हुने मान्यता छ। दूध, दही, मोही भन्नासाथ पशु धनको कुरा हुन्छ ।

हिजोआज गाई गोठलाई सिमेन्टका रूखहरूले विस्थापित गरेका छन् भने मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेका छन् पहिलेका बाआमाका घरहरू। छोरा, नातिले पानी, मोही भन्न जान्दैनन् कोक, डिउ, फेन्टा, चाउचाउ कन्ठ छ । शिक्षा छैन, संस्कार र संस्कृति पनि छैन बरु मोबाइल छ, टिकटक छ, फेसबुक छ । पुस्तकहरू विस्थापित भएका छन् तर स्कुलहरू व्यापारिक केन्द्रझैँ मौलाएका छन् ।

हिँडाइ छैन, मान्छे अल्छी भई खेती किसानी काममा नलाग्दा शहरमा अस्पतालहरू भरिभराउ छन्– रोग वृद्धिका कारण । दूध पिए छिटो लाग्दैन तर अरू वस्तुको प्रयोगले छिटै शरीर ढल्पलिन्छ, भनौँ, छिटो लाग्छ ज्यानमा । दूध, दही, मोहीमा कति पौष्टिक खुराक छ भन्ने आजको आधुनिक मानिसलाई बुझाउन समस्या छ । सरकार भन्छ– देश दूधमा आत्मनिर्भरतातिर उन्मुख छ । प्रतिव्यक्ति जम्मा वार्षिक १३ लिटर दूध मात्र अभाव हो देशमा ।

प्रतिव्यक्ति वार्षिक ९१ लिटरको आवश्यकता हो तर उत्पादन प्रतिव्यक्ति ७८ लिटर मात्र छ रे ! अब आत्मनिर्भर हुन दूधको व्यावसायिक उत्पादन बढाउनु जरुरी छ। शहरी क्षेत्रको पैसा गाउँतिर सर्ने भनेको खाद्यान्न वा भनौँ, दुग्ध पदार्थ र सागसब्जीबाटै हो। तर, बन्दाबन्दीमा सवारी साधनको मारमा पर्दा यिनै वस्तु कति किसानले बाटैमा पोखे, खन्याए, किसानका कथा व्यथा आफ्नै छन् । भाउ अचाक्ली बढेको छ, अचेल दूध पाउडरमा पनि पाइने गरेको छ र दही पनि नक्कली ।

झूठको पुलिन्दा बजेटको कुरा

सरकारले आ.व. २०७९/०८० को बजेटमा पशुपक्षी तथा मत्स्य पालनका लागि आवश्यक उन्नत नश्ल, माछाका भुरा, उन्नत घाँसका बिउ, बेर्ना, दाना, औषधि, खोपलगायतका सामग्रीहरू स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्ने भनेको छ।

पशुपक्षीको महमारी नियन्त्रणका लागि खोप कार्यक्रम राखिने, पशु नश्ल सुधारमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न पशु प्रजनन कार्यालयहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने, देशका ५१० वटा स्थानीय तहमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराइने र कुखुरालगायत पशुपक्षीको खोपको आयातमा सहजीकरण गरिने उल्लेख छ।

पोखरा र नेपालगंजमा रहेका सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नश्लका साँढे र गाई ल्याई सिमेन उत्पादन गरिने, चालू आ.व.भित्रै २ लाख गाई र २ लाख भैँसीको उन्नत नश्लको सिमेनबाट कृत्रिम गर्भाधान सेवा दिइने उल्लेख छ । प्राकृतिक विपद्हरूबाट कृषि, पशुपक्षी पालन तथा मत्स्य क्षेत्रमा रहेको जोखिम न्यूनीकरणका लागि पशुपक्षी बीमालगायतका अनुकूलन व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने र कृषि बाली तथा पशु बीमा प्रिमियमका लागि ८० प्रतिशत अनुदान दिन ७६ करोड रूपैयाँको बजेट व्यवस्था गरेको भनेको छ ।

बजेट वक्तव्यमा पोखरा र नेपालगंजमा रहेका सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नश्लका साँढे र गाई ल्याई सिमेन उत्पादन गरिने, चालू आ.व.भित्रै २ लाख गाई र २ लाख भैँसीको उन्नत नश्लको सिमेनबाट कृत्रिम गर्भाधान सेवा दिइने पनि उल्लेख गरेको छ।
देशमा दुग्ध उत्पादनमा मात्र ३० अर्ब रूपैयाँभन्दा बढीको लगानी चर्चा छ।

कृषि क्षेत्रमा दूधको लगानी दोस्रो स्थानमा छ भने कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान झन्डै ५ वर्षअघिसम्म एक तिहाइ भएकामा अहिले यो घटेर एक चौथाइमा पुगेको छ। बूढा बाआमालाई गाउँ या शहरका डेरातिर थन्क्याएर सन्तान खाडीतिर झरेकाले यसो भएको हो। सरकारी आँखा विप्रेषणतिर गएकाले यसलाई समर्थन मिलेको हो ।

एक चौथाइ जीडीपीमा पनि दूधको मात्र ९ प्रतिशत योगदान रहेको छ । देशमा भएका गाई, भैसीको सङ्ख्या १ करोड २७ लाख १६ हजारमा गाईको मात्र सङ्ख्या ७४ लाख ४८ हजार ९०० रहेको र भैँसीको सङ्ख्या ५२ लाख ५७ हजार रहेको तथ्याङ्क छ । देशका ६२ जिल्लाहरू दूध उत्पादन र आपूर्तिमा अब्बल छन्, यीमध्ये ३५ जिल्लामा सहकारी संस्थाहरूमार्फत यस्ता कामहरू भएका छन् ।

राष्ट्रिय दूग्ध विकास बोर्डका अनुसार पनि २३ लाख मेट्रिक टनभन्दा बढी दूधको उत्पादन हुन्छ, सरकारी दुग्ध विकास संस्थानलगायत निजी क्षेका थुप्रै निकायहरूले यससम्बन्धी काम गरिरहेका छन्, दूधलगायत दूधजन्य अन्य पदार्थहरूको समेत । हामी गाईलाई माता भन्छौँ, गाई हाम्री आमा हुन्, दूध त दिन्छिन् नै, यी हाम्री लक्ष्मी पनि हुन् । लक्ष्मी पूजा गर्दा गो पूजा गरिन्छ, गाई पूजाको भोलिपल्ट गोरुको पूजा हुन्छ तिहारमा ।

घरघरमा दीपमालिका गर्नुपूर्व गाईको गोबरले घर लिपिन्छ, यस अर्थमा कि गाईको गोबरमा श्री लक्ष्मीको बास हुन्छ, गाईको गोबरले लिपेको घर, तुलसी, कुस, गोठ, तिल भएको घरमा स्थिर लक्ष्मीको बास हुन्छ। घर, गोठ र गोबरको महत्व हुन्जेल, घरघरमा गौसेवा हुन्जेल हामीले अनाजका लागि विदेशी हात थाप्नुपरेको थिएन, ठूला असाध्य रोगहरूसँग पनि मुकाबिला गर्नुपरेको थिएन।
उपसंहार
गाईका ४ पाउ ४ वेद स्वरूप हुन्, गाईका २ सिङमा स्वयं श्री विष्णु र इन्द्रदेवको बास हुन्छ । सिङको बीचमा चन्द्रमाको बास, यसको फेदमा स्वयं सृष्टिकर्ता ब्रह्मा र ललाटमा शिवको निवास हो । त्यसैले गौहत्या ठूलो अपराध हो ।

२ कानमा देवताका चिकित्सक अश्विनी कुमारहरू, दाँतमा मरुद्गण, रोमकुपमा ऋषि मुनिहरू, छालामा प्रजापति, श्वासमा षडगरुद्र, नाकमा सुगन्ध पुष्प, तल्लो ओठमा वसु गण, मुखमा अग्नि, गर्धनमा पार्वती, पिठ भागमा २७ नक्षत्र, पिठ्युँमा आकाश, अपानमा सबै तीर्थ, मूत्रमा गङ्गा, नितम्बमा पितृदेव, पुच्छरमा भगवती, छातीमा कुमार कार्तिकेय, घुँडा, जँघा र ऊरुमा ५ वायु, खुरको मध्यमा गन्धर्व, खुरको अग्रभागमा सर्प, ४ स्तन ४ समुद्र भएकाले रती आदि र स्वधा, स्वाहा, दिशा, धृति, स्मृति, कान्ति, क्रिया सबैले हरदम गौसेवा गर्न लालयित हुन्छन् ।

सबै नदी, तीर्थ, वेद, धाम, समुद्र, देव, पितृहरूले पनि सधैँ गौसेवा नै रुचाउँछन् । गौमुत्रले सेचन गर्दा आशौच शुद्धि हुने हुन्छ भने गौमुत्र पानले शरीरमा निरोगिता हुन्छ । जुठो, सूतकमा मानिस मात्र होइन, घर चोख्याउने पनि चलन छ गौमुत्रबाट। घाटबाट फर्कंदा गौमुत्रले सेचन गरे शुद्ध हुने र अपशकुन नहुने हुन्छ।

गाईको दूध पन्चामृत हो, जसमा दही, घीउ, चिनी, महसमेत मिश्रण हुन्छ। हर देव, पितृ कार्यमा दूध नभई हुँदैन। गाईको दूधले दिइएको तर्पण सिधै पितृहरूले पाउँछन् भन्ने मान्यता रहिआएको छ। गाईले देखेको अनाज सिधै देव, पितृलोक पुग्छ, त्यसैलै पिण्ड सेलाउँदा सकेसम्म गाईलाई नै खुवाउने चलन भएको हो ।

गाईले देखेका बस्तु जो कोहीलाई दिँदा पनि त्यसमा गोलोक वा देवलोकको पहुँच हुन्छ । रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने दूध र यसका परिकार खिर आदि मात्रा मिलाई सेवन गरेमा शरीरलाई अमृत सरह हुने हुँदा वर्षा ऋतु, झरी, बादलको समय साउनको मध्यमा यस्तो खानाले शरीर स्वस्थ हुने भएकाले नै यस्तो परिकारलाई प्रश्रय दिइएको हो ।

हिंस्रक, झूठको सहारा लिने, देशद्रोही, देव निन्दक, वेश्यावृत्तिमा लागेको, अभक्ष वस्तु खाने, १० दिन नबितेको मृत घरको खाना खाने पिपासु, चाण्डाल, जुवाडे, मदिरा सेवन गर्ने, पतीत, जड, उन्मत्त व्यक्ति, क्रूर, पिशाच प्रवृत्तिमा लागेको, देव पितृ, यज्ञको अपहेलना गर्ने यस्ता नराधमहरू पनि गो स्पर्शबाट सजिलै आफ्नो प्रायश्चित गर्न सक्ने धर्मशास्त्रमा उल्लेख छ।

व्यभिचारीको हातको अन्न खाने, राज्यको ढुकुटी जथाभावी दुरूपयोग गर्ने, भोजनमा विभेद गर्ने, क्रोधी, यस्ता व्यक्तिको आयु नाश हुन्छ र पनि गौसेवा गर्नाले यिनको पाप क्षीण हुने शास्त्रकारहरूको मत छ।

प्रतिक्रिया दिनुहोस्