खरानी पनि आयात हुन्छ भन्ने सुनेर अचम्मित छु : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले अहिले  काठमाडौं र धरान लगायतका स्थानमा युवाहरूको आवाजरुपी संकेतको रुप देखापरेको बताए ।

सभामुख सापकोटाले युवाहरूको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताएका छन् ।

साथै सापकोटाले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद भएको समेत बताएका छन् । सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा आफू अचम्मित भएको बताएका छन् ।

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरबिरोध मडारिन थालेको समेत उल्लेख गरेका छन् । संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको उनले बताए । उनले नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरू एकपछि अर्को गरेर गम्भीर रुपमा देखापरिरहेको उल्लेख गर्दै यसलाई समाधान गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताए । जलवायु परिवर्तनका अकल्पनीय घटना भइरहेको उनको भनाई छ ।

सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बेच्नतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताएका छन् । उनले नेपालले अहिले हरित क्रान्तितिर नै ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्