एक वर्षकाे किनबेच : १९ खर्बको खरिद, २ खर्बको बिक्री



काठमाडौं । देशको अन्तर्राष्ट्रिय व्यापार घाटा चुलिएको छ। स्वदेशी उत्पादन निर्यात गर्ने नसक्दा देशको व्यापार घाटा चुलिँदै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को १२ महिनाको तथ्याङ्कअनुसार १७ खर्ब २० अर्ब रुपैयाँको व्यापार घाटा भएको छ।

यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा १३ खर्ब ९८ अर्ब रुपैयाँको व्यापार घाटा भएको थियो। व्यापार घाटा कम गर्न आर्थिक वर्ष २०७८/०७९ मा सरकारले केही वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको थियो तर पनि आयात भने उच्च भएको छ ।

विभागको तथ्याङ्कअनुसार नेपालले १२ महिनामा विभिन्न देशबाट १९ खर्ब २० अर्ब रुपैयाँको सामान खरिद गरी २ खर्ब रुपैयाँको सामान बिक्री गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १५ खर्ब ३९ अर्ब रुपैयाँको सामान खरिद गरी १ खर्ब ४१ अर्ब रुपैयाँको सामान बिक्री गरेको थियो ।

प्रतिशतका आधारमा भन्दा अघिल्लो वर्षको तुलनामा नेपालले २४ दशमलब ७२ प्रतिशतभन्दा बढी सामान खरिद गरेको छ। उसो त नेपाल अघिल्लो वर्षको तुलनामा यस वर्ष विभिन्न देशमा ४१ दशमलब ७४ प्रतिशतले बिक्री गर्न सफल भएको छ।नेपालले आर्थिक वर्ष २०७८/०७९ को १२ महिनामा अन्तर्राष्ट्रिय बजारबाट १९ खर्ब २० अर्ब रुपैयाँको सामान खरिद गरेको छ, त्यसमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ खरिद गरेको छ।

१२ महिनामा पेट्रोलियम पदार्थ मात्र ३ खर्ब २१ अर्ब रुपैयाँको खरिद गरेको छ। यो अघिल्लो आर्थिक वर्षमा तुलनामा १ खर्ब ५६ अर्ब रुपैयाँ बढी हो । १२ महिनामा नेपालले ३ खर्ब २१ अर्ब रुपैयाँको पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धन खरिद गरेको छ, जसमा डिजेल मात्र १ खर्ब ६८ करोड २३ लाख ३२ हजार रुपैयाँको खरिद गरेको छ ।

पेट्रोल ७१ अर्ब ३८ करोड ४२ लाख रुपैयाँको खरिद गरेको छ भने खाना पकाउने ग्यास ६५ अर्ब ५५ करोड रुपैयाँको खरिद गरेको छ। विभागको तथ्याङ्कअनुसार कच्चा भटमास, फलाम र स्टील गरी ५१ अर्ब २९ करोड ५६ लाख ७१ हजार रुपैयाँको खरिद गरेको छ।

विभागको तथ्याङ्कअनुसार नेपालले १२ महिनामा २ खर्ब रुपैयाँको सामान बिक्री गरेकामा सबैभन्दा धेरै भटमासको तेल र पाम आयल बिक्री गरेको छ। भटमासको कच्चा वस्तु खरिद गरी प्रशोधन गरी १२ महिनामा ४८ अर्ब १२ करोड रुपैयाँको भटमासको तेल बिक्री गरेको छ।

यस्तै, पाम आयल ४१ अर्ब ६ करोड रुपैयाँको बिक्री गरेको छ। विभिन्न देशबाट पाम आयलको कच्चा वस्तु आयात गरी नेपाली व्यापारीले प्रशोधन गरी बिक्री गर्दै आएका छन् ।

विभागका अनुसार स्वदेशी कच्चा पदार्थ नै प्रयोग हुने र भ्यालु एसिडसन उच्च रहने गलैँचा ९ अर्ब ५६ करोड रुपैयाँको बिक्री गरेको छ। यस्तै, जुट तथा अन्य वस्तु ५ अर्ब ९५ करोड रुपैयाँको निर्यात गरेको छ। अलैँची ४ अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्