स्वास्थ्य मन्त्री उपेन्द्र यादव विदेश घुमेको घुम्यै, मन्त्रालयको काम अलपत्र



काठमाडौं : दसैंअघि बेलायत हुँदै जेनेभा पुगेर नेपाल फर्किएका स्वास्थ्य मन्त्री उपेन्द्र यादव यतिबेला कतार गएका छन् । मंगलबारदेखि कतारमा हुने एक कार्यक्रममा सहभागी हुन चार जना मन्त्रालयका कर्मचारीसहित उनी कतार गएका हुन् । मन्त्री यादव १५ नोभेम्बरमा मात्र नेपाल फर्किने छन् ।

मन्त्रीले समय नदिँदा मन्त्रालयका महत्वपूर्ण कामहरु रोकिएको भन्दै कर्मचारीले गुनासो  गरिरहँदा पनि मन्त्री भने हरेक महिनाजसो विदेश घुमिरहेकै छन् ।

यादवको पछिल्लो विदेश भ्रमणको उद्देश्यबारे मन्त्रालयमा जिज्ञासा राख्दा उनको निजी सचिवले ‘विस’ नामक संस्थाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन त्यता लागेको बताए ।

मन्त्रालयका कर्मचारीका अनुसार सो कार्यक्रम मानसिक स्वास्थ्य, आँखा स्वास्थ्य र नर्सिङ्ग लगायतका विषयमा केन्द्रित हो । 

मन्त्री यादवसँगै डा रोशन पोखरेल, डा सुरेश सुवेदी, रोशनीलक्ष्मी तुइतुइ र मेडिसिटी अस्पतालका सञ्चालक डा उपेन्द्र महतो पनि कतार गएका छन् ।

गत जेठ १८ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादव महिनामा कम्तीमा एकपल्ट विदेश पुग्ने गरेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवको ध्यान मन्त्रालयको काममा भन्दा बढी विदेश भ्रमणमै हुने गरेको मन्त्रालयका कर्मचारीहरुको आरोप छ । विदेशमा हुने कार्यक्रममा सकेसम्म आफैं जाने कोसिस उनले गरिरहेको कर्मचारी बताउँछन् ।

मन्त्री यादवको ध्यान मन्त्रालयको काममा भन्दा बढी विदेश भ्रमणमै हुने गरेको कर्मचारीको आरोप छ ।

यतिबेला संघदेखि स्थानीय तहसम्म स्वास्थ्यका संरचना, कर्मचारी व्यवस्थापन, स्वास्थ्यका राष्ट्रिय कार्यक्रमको विकेन्द्रीकरण, नयाँ स्वास्थ्य नीति निर्माण, भइरहेका नीति–नियम परिमार्जन लगायतका सबै काम कछुवाको गतिमा अघि बढेका छन् ।

मन्त्रालय आएको करिब दुई महिनामा पहिलो पटक साउन ९ गते थाइल्यान्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका मन्त्री यादवको विदेश यात्रा त्यसपछि रोकिएको छैन, निरन्तर बढ्दै गएको छ । 

भदौ ११ र १२ गते भियतनामको हनोई सरहमा भएको कार्यक्रममा गएका उनी त्यसलगत्तै भदौ १८ गते विश्व स्वास्थ्य संठगनको एक हप्ते कार्यक्रममा सहभागी हुन भारत पुगे ।

त्यसपछिको उनको भ्रमण संयुक्त राष्ट्र संघको महासभाको कार्यक्रम अमेरिकाको लागि थियो । तर भिसा नपाएपछि सहभागी हुन सकेनन् ।

अमेरिकामा भएको क्षयरोगसम्बन्धी उक्त कार्यक्रममा मन्त्री सहभागी हुनुपर्ने थियो । आफ्ना छोरालाई समेत लिएर जान खोज्दा दुवैको भिसा नलागेपछि कर्मचारी मात्रै कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्री भएको करिब चार महिनाको अवधिमा यादवको अमेरिका भ्रमण रद्ध भए पनि असोज अन्तिम सातादेखि मंसिरसम्म ५ वटा विदेश भ्रमणको कार्यक्रम तय भइसकेको छ ।

उनले आफू सहभागी हुने आगामी कार्यक्रमसमेत तय गरिसकेका छन् । उनी आगामी मंसिर  २६ र २७ गते ९डिसेम्बर १२ र १३० भारतमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्