प्रहरीबाटै हिरासतमा रहेकी महिलामाथि इन्स्पेक्टरको कार्यालयमा बलात्कार प्रयास



काठमाडौं । बाँकेको ईलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासतमा रहेकी एक थुनुवा महिलामाथि बलात्कारको प्रयास भएको छ । कोहलपुर प्रहरी कार्यालयका एकजना प्रहरी सहायक निरीक्षक (असई) ले नै बलात्कारको प्रयास गरेका हुन् ।

शुक्रबार बिहान करिब २ बजेको समयमा बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई कोहलपुर कार्यालयका असई प्रविण चौलागाईंमाथि बलात्कारको प्रयास गरेको आरोप लागेको हो ।

असई चौलागाईँ कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत छन् । मदिरा पिएर आएका असई चौलागाईंले थुनुवा कक्षमा रहेकी ती महिलालाई बोलाएर माथिल्लो तलामा रहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कार्यालयमा लगेर बलात्कार गर्न खोजेका थिए ।

तर, सोही समयमा प्रहरी भ्यान बत्ती बालेर आएको थाहा पाएपछि छाडेका थिए । प्रहरी स्रोतका अनुसार अनुसन्धानको क्रममा उनीहरु सहमतिमै गएको देखिन्छ । तर, मध्यराति घटना भएकाले बलात्कारको प्रयास भएको आरोप असईमाथि लागेको हो ।

आरोपित असई चौलागाईँले भने आफुले थुनुवा महिलामाथि बलात्कारको प्रयास नगरेको दाबी गरेका छन् । ‘चौबिसै घण्टा प्रहरी ड्युटीमा हुन्छ’, उनले भने, ‘हामीले त्यस्तो गर्ने भन्ने कुरा नै हुन्न । उनीलाई सोधपुछ मात्र भएको हो ।’

एउटा थुनुवा महिलालाई सोधपुछको लागि बाहिर निकाल्न परेको अवस्थामा त्यहाँ महिला प्रहरीलाई नै खटाइन्छ । तर, त्यहाँ पुरुष प्रहरी (असई)ले सोधपुछको लागि भन्दै बाहिर निकाल्न भनेपछि हिरासतको गेटमा बस्ने सेन्टीले समेत छाडेका हुन् ।

प्रहरीले नै हिरासतमा रहेकी महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेपछि घटनाको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपाने कोहलपुर प्रहरी कार्यालय पुगेर बुझेका छन् । हाल असई चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा ल्याएर राखिएको छ ।

बाँके प्रहरीले पीडित महिलाको जाहेरी मागेको छ । स्रोतका अनुसार महिलाले जाहेरी दिन आलटाल गरेकी छन् । तर, प्रहरीले घटनाबारे पीडित महिलाको परिवारलाई जानकारी गराइसकेको छ । महिलाको परिवार प्रहरी कार्यालय आउने क्रममा छन् ।

परिवार आएपछि पीडित भनिएकी मलिाले जाहेरी दिनसक्ने बताइएको छ ।

यता, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी) नलप्रसाद उपाध्यायले दोषी पाइए जोसुकै भएपनि कारबाही हुने बताए ।

डीआईजी उपाध्यायले भने, ‘घटनाबारे केही कुराहरु आएको छ, सत्यतथ्य छानविन हुन्छ । पीडित भनिएकी महिला र आरोपित प्रहरीसँग समेत सोधपुछ भइरहेको छ । दोषी पाइए कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्