सुनियोजित दुर्घटना गराएर युवकको हत्या



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली विवाह दर्ता गरी जीवन बीमाको साढे २ करोड रूपैयाँ हत्याउन सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा बाँके कोहलपुरकी सपना मल्ल, कोहलपुर– ११ का सञ्जीव अर्याल र दीपक केसी, कोहलपुर– १५ का सरदार अहमद खाँ, बैजनाथ गाउँपालिका– ८ का टोपबहादुर राना क्षेत्री र कोहलपुर–१ की ललिता सापकोटा छन् ।

सीआईबीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन विकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा उनीहरूलाई पक्राउ गरी सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सीआईबीले शुक्रबार पक्राउ पर्नेहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मृतक विकको नाममा गरिएको बीमाको भुक्तानी लिएको २ करोड ५० लाख रुपैयाँमध्ये सञ्जिवले ८० लाख रुपैयाँ लिएको खुलेको छ । यसैगरी सपनाकी आमा छबिकुमारी खत्रीलाई १७ लाख ४६ हजार, दीपक केसीलाई ६० लाख रुपैयाँ दिएर सपनाले ८६ लाख ८९ हजार रुपैयाँ आफूले राखेकी थिइन् ।

घटनाबारे आरोपितहरूले कसुर स्वीकार गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

के थियो घटना ?

२ वैशाख २०७८ राति ११ बजे बाँके कोहलपुरका सर्जक विकको मोटरसाइकल दुर्घटना भयो। बैजनाथ गाउँपालिका– ६ लालपुरको भित्री सडकमा उनी चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनीबसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते भएर बाटोमा अलपत्र अवस्थामा फेला परेपछि प्रहरी र स्थानीयले त्यही रात उनलाई कोहलपुर मेडिकल कलेजमा लगेका थिए । तर, उनको ज्यान बच्न सकेन।

ठक्कर दिने गाडीका चालक थिए ३३ वर्षीय टोपबहादुर राना क्षेत्री । यस्तै, मृतक विक सवार मोटरसाइकलका धनी कोहलपुर– १५ का सरदार अहमद खाँ थिए । प्रहरीको अनुसन्धानपछि उनीहरूविरुद्ध बाँके जिल्ला अदालतमा सवारी ज्यानको मुद्दा दर्ता भयो ।

यता, २५ माघ २०७८ मा अदालतले गाडी चालक क्षेत्रीलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरीमानाको फैसला सुनायो। मोटरसाइकल धनी खाँले भने सफाइ पाए । त्यसपछि सडक दुर्घटनामा विकको मृत्यु भएको भन्दै उनकी पत्नी भनिएकी सपना मल्लले १४ साउन २०७८ मा रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ बीमा भुक्तानी लिइन् ।

जीवन बीमा र म्यादी जीवन बीमाबापत इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ बराबरको चेक भुक्तानी लिएर सपनाले कामना सेवा विकास बैंकको कोहलपुर शाखामा रहेको आफ्नो खातामा जम्मा गरिन् । सपनाले त्यति ठूलो रकम आफ्नो बैंक खातामा जम्मा गरेपछि इन्स्योरेन्सलाई शङ्का लाग्यो ।

त्यसपछि गत ३० पुसमा नेपाल पुनर्बीमा कम्पनीले विकको दुर्घटना शङ्कास्पद भएको भन्दै सीआईबीलाई पत्राचार गर्‍यो। ‘ठगीसम्बन्धी कसुर’मा अनुसन्धान गर्दा योजनाबद्ध रूपमा विकको हत्या गरेको खुल्यो । सोही आधारमा सीआईबीले गरेको अनुसन्धानबाट उक्त दुर्घटना षड्यन्त्रपूर्ण रहेको ठहर भएको हो।

जिल्ला अदालतले मामुली सजायमा आरोपीलाई उन्मुक्ति दिए पनि यो दुर्घटना कुनै भवितव्य नभएर योजनाबद्ध अपराध भएको खुलेको हो। प्रहरीका अनुसार मृतक विकको बीमा २८ फागुन २०७७ मा गरिएको थियो र उनले इच्छाएको व्यक्तिमा पत्नी सपनाको नाम उल्लेख गरेका थिए ।

यता, सोही वर्षको २ चैतमा सपना र मृतक विकबीच विवाह दर्ता भएको देखिएको छ । विवाहभन्दा अगावै विकले इच्छाइएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए। हत्या गरेर मृत्यु जस्तो देखाउने र पछि पैसा लिने भनेर योजनाबद्ध रूपमै विकको बीमा गरेर हत्या गरिएको सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी दाबी गर्छन्।

एआईजी सुवेदीका अनुसार यस प्रकरणको सुरुवात भने २०७७ मङ्सिर अगाडिदेखि नै भएको थियो । २ करोड ५० लाख रुपैयाँको बीमा गरेको ३७ दिनमा विकको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

घटनाका मुख्य योजनाकार अर्याल

सुरुमा ललिता सापकोटाले विकको सपना मल्ल र सञ्जीव अर्यालबीच भेट गराइदिएकी थिइन् । यस घटनाका मुख्य योजनाकारमा प्रहरीले सञ्जीव अर्याललाई ठहर्‍याएको छ ।

त्यसबेला उनीहरूबीच सपनालाई ‘डिपेन्डेन्ट भिसा’मा अस्ट्रेलिया पठाउने कुरा भएको थियो । यता, सपना २७ मङ्सिर २०७७ मा काठमाडौं आएकी थिइन् । त्यहीबीचमा सञ्जीवसहितले सपना र सर्जनबीच चिनजान गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुवै जनालाई अस्ट्रेलिया जानका लागि सजिलो हुन्छ भन्दै सञ्जीवले उनीहरूलाई विवाहका लागि राजी गराएका हुन् । त्यसपछि ५ फागुन २०७७ मा उनीहरूले विकलाई कामना सेवा विकास बैंकको कोहलपुर शाखामा खाता खोल्न लगाए।

यस्तै, १२ फागुन २०७७ मा सपनाले पनि कामना सेवा विकास बैंकको कोहलपुर शाखामै खाता खोलिन् । दुवै जनाको खाता सञ्जीवले खोलिदिएका थिए । त्यसपछि विकको नाममा रिलायन्स लाइफ इन्स्योरेन्समा १ करोड २० लाख रुपैयाँ बराबर जीवन बीमा, ७० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा तथा सोही रकम बराबरको पूर्ण अशक्त भएबापत प्राप्त हुने रकमका लागि बीमा गरियो ।

त्यहीँ इच्छाएको व्यक्तिका रूपमा सपनालाई श्रीमतीको रूपमा उल्लेख गरिएको थियो । बीमा गरेपछि उनीहरूले विवाह दर्ता बनाएका हुन् । २८ फागुन २०७७ मा विवाह दर्ता गराउन गए पनि सर्जनको उमेर नपुगेका कारण सो दिन विवाह दर्ता हुन सकेन । त्यसपछि उनीहरूले २ चैतमा विवाह दर्ता गरेका हुन् ।

विवाद दर्ता गरेपछि श्रीमान्–श्रीमती भनिएका मृतक विक र सपना आपसी सम्पर्कमै नरहेको पनि प्रहरीले जनाएको छ। एकैचोटि विकको मृत्यु भएर बीमा कम्पनीबाट दाबी भुक्तानी गर्न मात्र सपना इन्स्योरेन्स कार्यालयमा पुगेकी थिइन्।

२ करोड ५० लाख रुपैयाँको चेक भुक्तानी गरेपछि सपना अस्ट्रेलिया जान भन्दै भारतको दिल्ली पुगिसकेकी थिइन् । यता, सीआईबीले घटनाको अनुसन्धान गरिरहेको थियो। नेपाल प्रहरीले उनीविरुद्ध एउटा आपराधिक घटनामा अनुसन्धान भइरहेको भन्दै दिल्ली प्रहरीलाई पत्राचार गरेपछि उनी नेपाल ‘डिपोर्ट’ गरिएकी हुन् ।

प्रहरीका अनुसार बीमा गराउनेदेखि विवाह दर्ता गराउनेसम्मको भूमिका खेलेका सञ्जीव र सपनाबीच भने घटना अगाडिदेखि पैसा बाँडफाँटको समयसम्म निरन्तर सम्पर्क देखिन्छ । दुर्घटना भएको दिन सञ्जीव अर्यालको मृतक, सपना, सरदार अहमद र ड्राइभर टोपबहादुरसँग सम्पर्क भएको पाइएको छ ।

दुर्घटना हुनुभन्दा २ महिनाअघि मात्र मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु, दुर्घटनाभन्दा १ महिना अघि मात्र उनीहरूको विवाह भएको खुल्नु तथा मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनुलगायत शङ्काका आधारहरू देखिएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्