निर्वाचनअघि एमालेसँग एकता सम्भव छैन : झलनाथ खनाल [अन्तवार्ता]



काठमाडौं । समाजवादी केन्द्र बनाउने, वाम गठबन्धन बनाउने कि वर्तमान सत्ता गठबन्धनसँगै चुनावमा जाने भन्ने विषय यतिबेला चर्चामा छ। सत्ता गठबन्धनभित्रका वामपन्थी दलमा यो अन्योल कायमै छ।

चुनाव मिति घोषणाको सङ्घारमा आइपुग्दासम्म नेकपा (एकीकृत समाजवादी) पार्टी यी प्रश्नमा अनुत्तरित नै देखिन्छ। त्यसो भए अब नेकपा (एस) के गर्छ ? सो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग द नेपालटपका लागि जङ्ग तामाङले गरेको कुराकानी :

सङ्घ र प्रदेश संसद् निर्वाचनको मिति कहिले तोकिन्छ ?

मङ्सिरको २२ गतेसम्म पुग्दाखेरी यो संसद्को कार्यकाल समाप्त हुन्छ । त्यसो हुँदा मङ्सिरभित्र निर्वाचन गर्नु अनिवार्य छ। त्यो कुरालाई ध्यानमा राखेर निर्वाचन आयोगले मङ्सिर २ गतेलाई मिति प्रस्ताव गरेको छ। अहिले गठबन्धनका नेताहरूबीच यसबारेमा छलफल पनि चलिरहेको छ। हामी सम्भवतः केही दिन भित्रमा निर्वाचनको मिति घोषणा गर्छौँ र त्यो मिति भनेको मङ्सिरको पहिलो हप्ता हुन्छ।

पहिलो हप्ता भन्नाले ४ मङ्सिर कि अलिक पछाडि वा मङ्सिर २ गते नै ?

पछाडि धेरै जाँदैन । जति पछाडि जान्छ, लेकाली भेग वा हिमाली भेगलाई गाह्रो पर्छ। त्यही भएर ढिलो गर्ने म्याद छैन। किन जानुपर्‍यो जाडोभन्दा पछि ? जान हुँदैन। त्यही भएर मलाई लाग्छ कि मङ्सिरको पहिलो साताभन्दा पछाडि नजाला।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई ‘अहिले नै नहतारौँ है’ भन्नुभएछ निर्वाचन मिति तोक्नेबारे। समाजवादी केन्द्र निर्माणको वातावरण बनाइरहँदा मिति तोक्न ढिलाइ भएको हो ?

समाजवादी केन्द्र भनेर जुन चर्चा भएको छ अहिले। नेकपा एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चालगायतका पार्टीहरूबीचमा एउटा मोर्चा बनाऔँ भन्ने चर्चा चलिरहेको छ। हामी त्यो गृहकार्यमा लागेका छौँ र यो कुरा भएपछि निर्वाचन घोषणा होस् भन्ने प्रचण्ड कमरेडको आशय हुन सक्छ। तर, निर्वाचन ढिला गर्न मिल्दैमिल्दैन। कि त जानुपर्छ हिउँदभन्दा पछि। होइन भने मङ्सिरको पहिलो हप्तातिरको लागि मिति घोषणा गर्नु नै उपयुक्त हुन्छ ।

समाजवादी केन्द्रको राजनीतिक औचित्य के हुन्छ ?

अहिले हामी ऐतिहासिक रूपमा नयाँ युगमा आएका छौँ । हामीले यो देशमा २०६२/०६३ मा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेका छौँ । अब, हामी समाजवादी क्रान्तिको नयाँ युगमा आएका छौँ । यो युगलाई ठीक ढङ्गले प्रतिनिधित्व गर्दै समाजवादतर्फ जाने भनेको वामपन्थीहरूको एकताले नै हो। त्यसो भएकाले गठबन्धनमै भएका वाम समूह र समाजवादी समूह जो छन् तिनीहरू र अरू पनि वामपन्थीहरूलाई एकताबद्ध गरौँ भन्ने हो। अहिले विचार विमर्श भइरहेको छ। त्यो बीचमा हाम्रो पार्टी, माओवादी पार्टी, जसपा, जनमोर्चा आदिबीच मोर्चा बनाउन खोजेका हौँ हामीले ।

भनेपछि अन्तिम लक्ष्य वामपन्थी दलहरूको एकता हो ?

तात्कालिक लक्ष्य भनेको आउने निर्वाचनमा वामपन्थी शक्तिहरूलाई सशक्त बनाउने हो । रणनीतिक लक्ष्य भनेको यसलाई समाजवादतर्फ लाने हो ।

कांग्रेससँग बार्गेनिङ गर्ने संयन्त्र बनाउन खोजेको भन्ने विश्लेषण सुनिन्छ । सत्य हो ?

बार्गेनिङ भनेको आफैंमा सङ्घर्ष हो। बार्गेनिङ भन्ने कुरालाई कुनै अनर्थ लिन जरुरी छैन। एमालेले अरू विभिन्न पार्टीहरूसँग मिल्नु परे पनि बार्गेनिङ नै हुन्छ। ५ पार्टीभित्र एकआपसमा तालमेल गर्दा पनि बार्गेनिङ हुन्छ। त्यही भएर बार्गेनिङ भनेको सङ्घर्ष भन्ने हुन्छ । यो नकारात्मक कुरा होइन । एकापसमा तालमेल मिलाउने कुरा हो।

ए ‘बार्गेनिङ संयन्त्र’ पो बनाउन लाग्नुभएको ?

आम रूपमा अहिलेको निर्वाचनमा कुनै पनि एउटा पार्टी एक्लै हिँड्छ भन्ने मलाई लाग्दैन। जसले पनि तालमेल गर्छ।

के कारणले दलहरू एक्लाएक्लै निर्वाचन लड्न नसक्ने स्थिति निम्तियो ?

सबै पार्टीमा एक्लै बहुमत ल्याउन सक्ने अवस्था अहिले विद्यमान रहेन । यो भन्दा अगाडि हामीले नेकपा बनाएका थियौँ– नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलाएर। त्यो नेकपाले चाहिँ एक्लै निर्वाचनमा जाने आट गर्न सक्थ्यो। त्यसको एउटा सुदृढ सङ्गठन थियो। राष्ट्रव्यापी सङ्गठन थियो । त्यसलाई टुटाउने, फुटाउने र विभाजन गर्ने काम नेतृत्वले नगरेको थियो भने अहिले त्यो पार्टी एक्लै अगाडि बढ्न सक्थ्यो । तर, अहिले त्यो पार्टी विभाजित भयो। नेपाली कांग्रेस पनि एक्लै निर्वाचनमा जान सक्ने अवस्थामा छैन। नेकपा एमाले पनि एक्लै निर्वाचनमा जान सक्ने अवस्थामा छैन। उसले विभिन्न पार्टीहरूसँग गठबन्धन गर्न खोजिरहेको छ। गठबन्धन गर्ने पार्टी भेटेन भने बेग्लै कुरा हो।

५ दलीय गठबन्धन टुट्यो भने भोलि नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचनमा जान सक्दैन ?

कुनै पनि दल एक्लै हिँड्छ भन्ने म देखिरहेकै छैन। किनभने सबै पार्टीले आफ्नो सङ्गती खोजिरहेका छन्। तालमेल गर्ने ‘पार्टनर’ खोजिरहेका छन् । त्यो पार्टनर खोज्दै जाने क्रममा सबैले एक न एक पार्टनर भेट्छ। र, सबै गठबन्धनकै आधारमा निर्वाचनमा जान्छ।

के कारणले निर्वाचनमा एक्लै जान नसक्ने स्थिति आयो दलहरूका लागि ?

गठबन्धन भनेको त भोलि गएर सरकार बनाउन सजिलो होस् र संसद्मा प्रतिनिधित्व गर्न सजिलो होस् भन्नका निम्ति हो। एक्लाएक्लै पनि निर्वाचन लड्नै नसक्ने भन्ने होइन। सक्छन्। जति सिटमा जो–जो पुग्छन्, संसद्मा पुगेर तालमेल गर्ने कुरा पनि हुन सक्छ संसदीय प्रणालीमा। होइन भने निर्वाचनमा तालमेल गरौँ भन्ने पनि हुन सक्छ। यो चाहिँ विश्वव्यापी रूपमा सबै संसदीय व्यवस्थामा लागू भएको सामान्य कुरा हो। यो कुनै अनौठौ कुरा होइन ।

एकीकृत समाजवादी एक्लै निर्वाचनमा गएको खण्डमा १६५ संसदीय निर्वाचन क्षेत्रमध्ये कति जित्ला ?

नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् बैठक सम्पन्न गरेको छ। त्यो केन्द्रीय परिषद्को बैठकबाट हामीले के निर्णय गरेका छौँ भन्दा हाम्रो पार्टीले अबको अवस्थामा सङ्घीय संसद्को १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको ३३० निर्वाचन क्षेत्रको सबैमा हाम्रो उम्मेदवार तयार गर्ने र ती उम्मेदवारहरूलाई उठाउने निर्णय गरिसकेका छौँ । अहिले हामी त्यही हिसाबले तयारी गरिरहेका छौँ र तालमेल गर्नुपर्ने भयो भने जुन ठाउँमा तालमेल गर्नुपर्ने हुन्छ त्यो ठाउँको हामीले अघि सारेको उम्मेदवारले ‘विथड्र’ गर्न पनि तयार हुनुपर्छ भन्ने निर्णय गरेका छौँ ।

त्यसो भए कति चाहिँ जित्न सक्लान् ? कुनै ‘जोखाना’ छ ?
हामीले त्यस्तो जोखाना अहिले केही हेरेका छैनौँ । त्यो जोखाना हेर्नुपर्ने अहिले हामीलाई जरुरत पनि छैन। हाम्रो पार्टीचाहिँ एउटा नवोदित पार्टी हो। क्रान्तिकारी पार्टी हो। हामी यतिबेला आफ्नो पार्टीलाई देशव्यापी रूपमा लान चाहन्छौँ । जनताका बीचमा लान चाहन्छौँ । वर्गका वीचमा लान चाहन्छोँ। श्रमिक, भूमिहीन र निम्न–मध्यम वर्गबीचमा लान चाहन्छौँ। यो पार्टीलाई हामी राष्ट्रव्यापी फैलाउन चाहन्छौँ। हाम्रो कार्यदिशा, नीति, सिद्धान्तलाई व्यापक जनताका बीचमा लान चाहन्छौँ र ठूलो सङ्ख्यामा पार्टीका कार्यकर्ता, समर्थक, शभुेच्छुकहरूलाई हामी परिचालित गर्न चाहन्छौँ। सङ्घीय संसद्मा या प्रादेशिक संसद्मा क्रान्तिकारी र समाजवादी समूहहरूको शक्तिशाली समूह निर्माण गर्न चाहन्छौँ। त्यसो हुनाले अहिले अङ्कगणितलाई हेरेर कति सिट जित्छौँ ? भनेर हिसाबकिताब गरिरहेका छैनौँ।

तर, तपाईंले स्थानीय निर्वाचन अगाडि भाषणको क्रममा ‘नेकपा एकीकृत समाजवादी १ टनको होइन १० टनको हो’ भन्नुभएको थियो । तर, स्थानीय निर्वाचनले त बिसौलीको मात्रै बनायो कि क्या हो ?

जसले आफूलाई टन र अरूलाई ढक भनिरहेका थिए। ती टनवालाहरू ढकमा झरे। ढकवालाहरू अर्कै आकार लिएर अगाडि बढे। र यो पार्टी त पार्टी नै हुँदैन भन्ने थियो नि । भयो, त्यो पनि राष्ट्रव्यापी। एउटा नयाँ पार्टीको रूपमा स्थापित भयो। आकार प्रकार त पार्टी निर्माण गर्दै जाने क्रममा हुन्छ। हिजो नेकपा एमाले हामीले बनाएको पार्टी हो । हामी जम्मा ८ जनाले बनाउन सुरु गरेको पार्टी हो त्यो। त्यसमध्ये हामी ४ जना अहिले पनि गतिशील छौँ । क्रियाशील छौँ । तर, त्यो पार्टी हुँदाहुँदै ८ लाखको पार्टी भयो । त्यस्तो हुन्छ। सही लाइन हुञ्जेलसम्म वैचारिक र राजनीतिक कार्यदिशा लिएर अगाडि बढ्यो भने ८ जनाको पार्टी पनि ८ लाखमा रूपान्तरित हुँदोरहेछ । तर, हिजो ८ लाख भएको पार्टी आज कहाँ पुग्यो ? गलत राजनीतिक कार्यदिशा भएपछि त्यही पार्टी आफैँ टुक्रिएर, फेरि विभाजित हुँदै खिइँदै जान्छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्दा कांग्रेस र माओवादीबाट इमान्दारीपूर्वक मत आएन भन्ने निष्कर्ष भयो। अब फेरि तालमेल हुने भयो भने तालमेलको मोडालिटी परिवर्तन हुन्छ ?

हामीले स्थानीय तह निर्वाचनबारे बृहत् रूपमा समीक्षा गरेका छौँ । तपाईंले भनेजस्तै केन्द्रीय समितिमा, पोलिटब्युरोमा, केन्द्रीय परिषद्मा , सचिवालयमा पनि समीक्षा गरेका छौँ । त्यो समीक्षाको निष्कर्ष मीठो छैन तीतो छ । तर, तीतो निष्कर्षका बाबजुद हामी ५ दलीय गठबन्धनमै छौँ । ५ दलीय गठबन्धनलाई आधार बनाएर आगामी निर्वाचनको तालमेल गर्छौँ । त्यसरी तालमेल गरिरहँदा स्थानीय तह निर्वाचनमा प्राप्त भएको तीतो शिक्षालाई हामीले गम्भीरतापूर्वक ध्यान दिन्छौँ र आउने निर्वाचनमा हामीले ५ दलकै बीचमा गर्दाखेरी हामीले एकदमै सम्मानजनक ढङ्गले र सुहाउँदिलो ढङ्गले तालमेल गरेर अगाडि बढ्छौँ ।

तालमेलको मोडल पहिले जस्तै हुन्छ कि अलिक बेग्लै ?

पहिलाको जस्तो मोडल हुँदैन । यो नयाँ मोडल हुन्छ । त्यो मोडलबारे हामी छलफल गर्दैछौँ ।

त्यो नयाँ मोडल कस्तो हो ?
टुङ्गोमा हामी पुगेका छैनौँ । तर, यो छलफल बनाएछौँ । नयाँ मोडल बनाएर नै अगाडि बढ्छौँ ।

एमालेले जितेको क्षेत्रलाई भागबण्डा गर्ने एउटा मोडल हुन सक्छ भन्ने चर्चा छ। तपाईंलाई कुन मोडलमा जाँदा उपयुक्त हुन्छ भन्ने लागेको हो ?

दलहरूले आफूलाई लागेको उपयुक्त मोडल अघि सार्न सक्छन् । हाम्रो आफ्नो मोडलको बारेमा अध्ययन गरिरहेका छौँ । त्यसलाई अघि सार्छौँ र त्यसबाट साझा मोडालिटीमा पुग्नेछौँ ।

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट एकल बहुमत प्राप्त गर्नेगरी तालमेल गर्ने निर्णय गर्‍यो । निर्णयप्रति तपाईंको धारणा के छ ?

कुनै पनि पार्टीले आफ्नो चाहनाको बारेमा निर्णय गर्न सक्छ। त्यो सम्बन्धित पार्टीको निर्णय हो। अब, गठबन्धनमा त लेनदेन हुन्छ । त्यसका लागि छलफल हुन्छ। कांग्रेसले निर्णअनुसार नै प्रस्ताव ल्याउन सक्छ । त्यसमा थप होला या घट होला । अनि मात्रै ‘कमन’ निर्णयमा पुग्न सकिन्छ।
निर्णयअनुसारको अडान कांग्रेसले राख्यो भने नि !

एउटा पार्टीले निर्णय गरेर यही कुरो लागू गर्नुपर्छ भनेर गठबन्धनमा ल्यायो भने त्यस्तो कुरा मान्य हुँदैन । कुनै पार्टीले आफूले गरेको निर्णय एकोहोरो लागू हुन्छ भन्यो भने त्यो लागू हूँदैन । गठबन्धन भनेको त साझा सवालमा सहमतिको ‘प्लेटफर्म’ हो । त्यसकारणले साझा सवालमा बोल्नुपर्छ ।

एकीकृत समाजवादीले १६५ प्रत्यक्ष तर्फको सिटमध्ये कति सिट चाहिँ दाबी गर्छ त ?

हामी त्यसबारेमा सबैभन्दा पहिले गठबन्धनमै कुरा राख्छौँ । आफैं पनि गृहकार्य गरिरहेका छौँ । यो गृहकार्यबाट हाम्रो प्रस्तावको संरचना बनाउँछौँ र त्यसपछि हामी गठबन्धनमा राख्छौँ । त्यो गठबन्धनमा छलफल गरिसकेर के स्थिति हुन्छ ? अनि, निर्णय गर्छौँ ।
एमालेसँग भित्रभित्रै एकताको प्रयासचाहिँ भइरहेको हो ?

म त के भनिरहेको छु भने सबै वापमन्थीहरूको बीचमा साझा आधार कायम गरेर समाजवादी क्रान्तिका लागि हामी एक ठाउँमा आऔँ । यही निर्वाचनमा पनि सकिन्छ भने साझा आधार तयार गरेर आऔँ । राष्ट्रिय एकता निर्माण गरेर जाऔँ । तर, कतिपय नेताहरू वाम एकताका लागि तयार छैनन् ।

तयार नभएको चाहिँ एमाले अध्यक्ष केपी शर्मा ओली हो ?

व्यक्ति किटान गरेर अहिले नभनौँ ।

एमालेसँग एकातिर एकता प्रयास भइरहँदा एकीकृत समाजवादी त माओवादी केन्द्रसँग पनि निकै नजिक छ । माओवादीसँग पनि एकता हुन सक्छ ?
माओवादी केन्द्रसँग कार्यगत एकतामा छौँ । जनमोर्चासँग पनि कार्यगत एकतामै छौँ । जसपासँग पनि छौँ । त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरेर जान्छौँ । अरू वामपन्थीहरू सामेल हुन्छन् भने लिएर जान्छौँ । अब, नेपाली कांग्रेससँग पनि कार्यगत एकता छँदैछ ।
कार्यगत एकताको कुरा एउटा हो तर पार्टी एकता के–के भयो भने माओवादी र एमालेसँग एकता हुन्छ ?
तत्काल कुनै वाम पार्टी र समूहसँग एकता हुँदैन ।

निर्वाचन अघि ?

हो । निर्वाचनअघि म पार्टी एकता सम्भव देख्दिनँ र कुनै पनि कम्युनिस्ट समूह एकताबद्ध हुन ३ वटा मापदण्ड पूरा भएको हुनुपर्छ। पहिलो, माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, पुँजीवादी जनवादी क्रान्ति २०६२/०६३ मा सम्पन्न भएको हुनाले समाजवादी क्रान्ति र रूपान्तरणको युगमा भएका कारण वैज्ञानिक समाजवादको गन्तव्य मान्ने र तेस्रो प्रतिक्रियावाद, दलाल पुँजीवाद, साम्राज्यवाद, प्रभुत्ववाद, नवउपनिवेशवाद र शक्ति राजनीतिको विरोध गर्ने हुनुपर्छ। यी कम्युनिस्ट समूहहरूबीच कार्यनीतिक र अन्य कतिपय मुद्दामा मेल खान्छ भने पार्टी एकीकरण गर्नुपर्छ । तर, कुनै समूहसँग अहिले मिल्ने अवस्था छैन।

अर्को प्रसङ्ग, बहुमत प्राप्त गरे पनि ५ वर्ष सरकार सञ्चालन गर्न नसक्ने कम्युनिस्ट पार्टीलाई किन सरकारमा पुर्‍याउने जनताले ?
तपाईंले अहिले गर्नुभएको यो प्रश्नलाई नेपालका वामपन्थी आन्दोलन खासगरी मै हुँ भन्ने नेताहरूले बढो गम्भीर भएर मनन् गर्नुपर्छ । यो सबै नेताहरूको दोषले होइन । केही खासखास नेताका दोषका कारणले हो। उनीहरूको गलत दृष्टिकोणले गर्दा हो । गलत नीतिका कारणले गर्दाखेरी । गलत विचारका कारणले । गलत कार्यशैलीका कारणले।

प्रतिक्रिया दिनुहोस्