सनकले निम्त्याएको बीभत्स हत्या



काठमाडौं । काठमाडौं तार्केश्वर नगरपालिका–२ जरङ्खुबाट करिब १ दशमलब ५ किलोमिटरको दूरीमा काभ्रेस्थलीस्थित भीमसेन टोल सुधार समाज गेट आउँछ। त्यही गेटबाट १०० मिटर हिलाम्मे बाटो पार गर्दै भित्र प्रवेश गरेपछि १ तले घरमा पुगिन्छ।

सुन्तला रङको घर चारैतिर कालो तारबारले घेरिएको छ। हत्तपत्त जो कोही उक्त घरमा प्रवेश गर्न सक्दैनन्। तर, सोमबार बिहानैदेखि उक्त घर भित्रदेखि बाहिरसम्म मानिसहरूको भिड थियो।

तारबारले बेरिएको उक्त घरको कम्पाउण्डभित्र पनि ६०–७० जना मानिसहरू थिए–कतिपय नाराबाजी गरिरहेका थिए भने कतिपयको आँखाभरी आँसु थियो । उक्त दृश्य देखेपछि सहजै बुझिन्थ्यो, त्यस घरमा केही दुःखद् घटना भएको छ। हो, सोमबार बिहान दिनेश पाण्डेको परिवार सबै मृत फेला परे। आइतबार राति छिमेकीको घरमा खाना खाएर आएर सुतेको दिनेशको परिवार १ तले घरभित्रै मृत भेटिएको हो।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेशको सपरिवार (श्रीमती, १ छोरी र १ छोरा) त्यही घरमा बस्दै आएका थिए। दिनेशसहित पत्नी ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत भेटिएका हुन् । दिनेशको परिवार नै सखाप भएपछि भिड हुने नै भयो।

घटनास्थलमा नेपाल प्रहरी, आफन्त पत्रकार र स्थानीयहरूको ठूलो भीड थियो। एउटा परिवारको सबै सदस्य मृत भेटिएपछि चासो लागेर त्यहाँ पुग्नु स्वाभाविक पनि हो।

आफन्तहरू नाराबाजी गरिरहेका थिए भने पत्रकारहरू फोटो र भिडियो खिच्नमा व्यस्त देखिन्थे। त्यहाँ पुगेका स्थानीयहरू एकआपसमा दिनेशकै परिवारको कुराकानी गर्दै थिए। ‘कसरी यस्तो ठूलो घटना भयो ?’, आश्चर्य व्यक्त गरिरहेका थिए।

यता, जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरू अनुसन्धानमै जुटिरहेका थिए। घटनास्थल प्रवेश गर्ने मूलढोकामा बसेर केही प्रहरी जवानहरू भिडलाई नियन्त्रण गर्न खोजिरहेका थिए।

प्रहरीले भीडलाई शान्त बनाउन खोज्दा बेलाबेला चर्को आवाजमा ‘नेपाल प्रहरी मूर्दावाद’, ‘घुस खाने प्रहरी चाहिँदैन’, ‘नेपालको कानुन ठूलालाई मात्र’ भनेको गुन्जिन्थ्यो। प्रहरीले उनीहरूको आवाज सुनेर बस्नुको विकल्प थिएन ।

त्यसरी नै प्रहरी शान्त भएर बसिरहे भने सुनिताका आफन्तहरूले नारबाजी गरिरहे। उनीहरूले नाराबाजी गर्नुको कारण थियो– मृतक भेटिएका दिनेशका माहिला दाजुकी श्रीमती (माहिली भाउजू)लाई घटनास्थलमा ल्याएर देखाउन माग। ‘दिनेश र माहिली भाउजूको समेत अवैध सम्बन्ध थियो ।

यसैको सेटिङमा हाम्री दिदी, भान्जा र भान्जीको हत्या गरिएको हो’, मृतक सुनिताका दाजुहरूको आक्रोश थियो । यसरी नै अवरोध गर्नाले उनीहरूको शव उठ्न ढिला भएको थियो । करिब ७ घन्टापछि मात्र उनीहरूको शव उठेको हो।

मृतक सुनिताका माहिला र काहिँला दाजु चितवनबाट आएपछि मात्र उनीहरू चारै जनाको शव उठेको हो। उनीहरूको शव शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि लगिएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

छोराछोरी र पत्नीको हत्यापछि आत्महत्या

पत्नी र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। लामो समयदेखि चलेको घर झगडाको परिणाम दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित २ छोराछोरीको पनि ज्यान लिएको प्रहरीको सुरुवाती अनुसन्धानले देखाएको हो।

सोमबार बिहान कोही नउठेपछि छिमेकीले ढोका फुटाएर हेर्दा दिनेश र उनकी पत्नी सुनितासहित छोराछोरी मृत भेटिएका थिए। परिवार सखाप पारेर दिनेशले आत्महत्या गरेको जस्तो प्रहरी अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका १ प्रहरी अधिकृतले बताए।

ती अधिकृतले भने, ‘परिवारका अन्य सदस्यको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिन्छ। दिनेश भने झुन्डिएको अवस्थामा फेला परेका छन् ।’ उनले घटनाबारे विस्तृत जानकारी पोस्टमार्टमपछि मात्र थाहा हुने पनि बताए।

छोरी आशिकालाई सेनाको बस लिन पुगेपछि…

आइतबार राति कुन समयमा घटना भयो भन्ने खुलेको छैन। प्रहरीका अनुसार उक्त घटना १२ बजेदेखि ३ बजेको बीचमा भएको हो । तर, घटनाबारे बिहान ८ बजे मात्र थाहा भएको हो।

छिमेकीले समेत कसैले पनि चिच्याएको नसुने पनि छोरी आशिकालाई स्कुल लैजान सोमबार बिहान नेपाली सेनाको बस आएपछि मात्र घटना बाहिरिएको हो। मृतक दिनेशकी छोरी आर्मी स्कुलमा पढ्दै आएकी थिइन्।

आशिकालाई लिन सेनाको स्कुल बस उनीहरूको घर प्रवेश गर्ने गेटमा आएर बसेको थियो। सधैँजसो समयमा आइपुग्ने आशिका नआएपछि उनी किन आइनन् भनेर सेनाको स्कुल बसका कर्मचारीले सोधखोज गरे।

स्कुल बसका कर्मचारीले सोधखोज गरेपछि स्थानीय छिमेकीहरू दिनेशको परिवारको १ तले घरमा पुगे । तर, छिमेकीले गएर बोलाउँदा पनि आशिका स्कुल जान निस्किनन् । त्यतिबेला उनीहरूको मूल ढोका बन्द नै थियो।

बारम्बार बोलाउँदा पनि नबोलेपछि स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरे। नजिकैको प्रहरी टोली आएर उनीहरूको घरको मूल ढोका फुटाएर हेर्दा चारै जना रगताम्य अवस्थामा मृत भेटिएका हुन्।

घटनास्थलमा भेटियो सुसाइड नोटप्रहरीले घटनास्थलमा दिनेशले लेखेको सुसाइड नोटसमेत बरामद गरेको छ। दिनेशले छोराछोरी र पत्नीको हत्यापछि आत्महत्या गर्नुअघि लेखेर छाडेको सुसाइड नोट भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उक्त सुसाइड नोटमा लेखिएको विवरणबारे प्रहरीले केही खुलाएको छैन । तर, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार दिनेशले यस घटनाको प्रमुख दोषी पत्नी सुनिता पाण्डेका माइतीलाई लगाएका छन् ।

दिनेशले आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र उनका माइतीले कब्जा गरेर आफूलाई सिध्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेको ती अधिकृतले बताए। दिनेश र उनकी श्रीमती सुनिताबीच लामो समयदेखि विवाद रहेको थियो।

विवाद बढेपछि २ पटकसम्म उनलाई प्रहरी हिरासतमा पनि राखिएको थियो, जतिबेला उनीहरूलाई सम्बन्धविच्छेद गर्न सुझाव दिइएको थियो। श्रीमती विदेश जाने तयारीमा रहेको पनि खुलेको छ। श्रीमतीको बेलायत (यूके)को भिसा आइसकेपछि दिनेशले काभ्रेस्थलीमा रहेको घर बेच्न खोजेपछि विवाद चर्किएको थियो।

‘मैले कुवेतको तातो घाममा दुःख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे’, उनले सुसाइड नोटमा लेखेका छन्, ‘मलाई फसाएर श्रीमतीको माइतबाट मेरो सम्पत्ति हडप्न खोजिरहे। त्यसैले यो कदम उठाउन बाध्य भएँ।’

दिनेशले आफ्ना २ छोराछोरीको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा खुलाएका छन्। उनले श्रीमती सुनिताको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नसकेको बताएका छन् ।

घरभित्रको अवस्था कस्तो थियो ?

हामीले दिनेशको परिवार मृत भेटिएको घरभित्रको अवस्था कस्तो थियो भनेर घटनास्थलमा रहेका एक प्रहरी अधिकृतलाई सोधेका थियौँ । उनको भनाइ :
दिनेशको घरको मूल ढोकाबाट भित्र पस्नासाथ हल छ । त्यहाँ एउटा खाट पनि छ। खाटमा सामानहरू छरपस्ट थिए। त्यस्तै, भुइँमा पनि बच्चाका सामानहरू अलपत्र थिए।

हलको दायाँतर्फ एउटा किचन र २ वटा कोठा छन् । एउटा कोठामा श्रीमती सुनितासहित छोराछोरीको शव भेटिएको हो भने दिनेशको शव अर्को कोठामा झुन्डिएको अवस्थामा थियो। सुरुमा दिनेशले ओछ्यानमै छोराछोरी र भुइँमा पत्नीको हत्या गरेका हुन सक्छन् ।

घटनाको प्रकृति हेर्दा चक्कु हानेर हत्या गरिएको जस्तो थियो। श्रीमतीको घाँटीमा चक्कुले रेटेको प्रस्ट देखिन्छ। त्यति मात्र होइन, शरीरको अन्य भागमा समेत चक्कुले रेटेको छ।

त्यस्तै, सबैभन्दा बढी पीडा दिएर हत्या गरेको चाहिँ छोरीलाई हो। छोरीको शरीरमा १०० भन्दा बढी चक्कुका डोब छन्। छोरीको चाहिँ वीभत्स तरिकाले हत्या गरेको देखिन्छ । यस्तै, छोराको पनि घाँटीमा चक्कुले रेटेको देखिन्छ। तर, छोरीलाई जस्तो छोरालाई त्यति पीडा दिएर मारेको देखिँदैन।

यता, दिनेशचाहिँ बिजुलीको कालो तारमा बेरिएर झुन्डिएको अवस्थामा भेटिएका हुन्। उनको पनि पेटमा चक्कु प्रहार भएको छ। दिनेश आफैँले योजनाबद्ध रूपमा सबैको हत्या गरेर झुन्डिएपछि आफूलाई चक्कुले रेटेका हुन सक्छन्।

उनीहरू मृत भेटिएको कोठाभित्र पनि सामानहरू छरपस्ट छन्। सामान छरपस्ट भएका कारण घटना हुनुभन्दा अगाडि श्रीमान् दिनेश र श्रीमती सुनिताबीच हात हालाहाल भएको हुन पनि सक्छ।

प्रतिक्रिया दिनुहोस्