समयमै काम नसक्ने ठेकेदारलाई धमाधम कारबाही



काठमाडौं : सडक तथा पुलको ठेक्का लिएर समयमै काम नसक्ने निर्माण व्यवसायीलाई धमाधम जरिवाना गर्न थालिएको छ ।

उपत्यका र विभिन्न जिल्लामा थपिएको समयमा पनि काम नसक्ने व्यवसायीलाई जरिवाना गरिएको सडक विभागले जनाएको छ ।

तीन पटक म्याद थप्दा पनि काम नसकेपछि भक्तपुरको कमल विनायक–भत्केको पाटी–नगरकोट सडकको ठेक्का लिएका शैलुङ–एआईपीएल जेभीलाई जरिवाना गरिएको छ । विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति गौतमका अनुसार दैनिक १ लाख ४० हजारका दरले जरिवाना गरिएको हो ।

‘पटक–पटक म्याद थप्दा पनि काम नसकेपछि जरिवाना गरिएको हो,’ उनले भने, ‘अहिले दैनिक जरिवाना तिरेर काम भइरहेको छ ।’ जेठबाट जरिवाना सुरु गरिएको हो । यो ठेक्का २८ करोडको छ । सन् २०१४ जुन ५ मा सम्झौता भएको सडक जम्मा १६ किलोमिटर छ ।

निर्माण व्यवसायीले पेस गर्ने बिलमा जरिवाना रकम कटाएर मात्र भुक्तानी दिइने विभागले जनाएको छ । गौतमका अनुसार दोलखा, दाङ र मोरङ सडक डिभिजनले समयमै काम नसक्ने निर्माण व्यवसायीलाई जरिवाना गराएका छन् ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले थप गरिएको समयमा काम नसक्ने २० निर्माण व्यवसायीलाई जरिवाना गरिएको बताए । ‘हामीले आव २०७४–७५ मा समयमै काम नसक्ने निर्माण व्यवसायीबाट ८८ लाख जरिवाना गरायौं,’ उनले भने, ‘एउटैले २६ लाख रुपैयाँसम्म बुझाएका छन् ।’

उनका अनुसार सबैभन्दा बढी तिर्नेमा बिटी–टौदह–फस्को जेभी छन् । तोकिएकै समयमा निर्माण नसकेकाले जरिवाना गरिएको उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्