बेमेल, सम्पत्ति र अविश्वास नरसंहारका मुख्य कारण



काठमाडौं । पछिल्लो समय घरेलु हिंसाका घटना दिनहुँ हुने गरेका छन् । तर, सामाजिक र पारिवारिक उल्झनका कारण सबै घटना प्रहरीसम्म आइपुग्दैनन् भने कति प्रहरीमा पुगे पनि समाधान हुन सक्दैनन् ।

नीतिगत रूपमा देशले जति फड्को मारे पनि व्यवहारमा घरेलु हिंसा रोकिनु त के, न्यूनीकरणसम्म भएको छैन बरु घरेलु हिंसा झनै डरलाग्दो हुँदै गएको छ। हिंसाले हत्याको रूप लिन थालेको छ।

आफन्तबीच हत्याको शृङ्खला बढेको छ। यसैको पछिल्लो उदाहरण हो– सोमबारको काभ्रेस्थली घटना जहाँ रक्षक बन्नुपर्ने व्यक्ति नै भक्षक भइदिए। पत्नी ३९ वर्षीया सुनिता पाण्डे र २ छोराछोरी (१३ वर्षीया आशिका र ८ वर्षीय आशिक)को हत्यापछि ४१ वर्षीय दिनेश पाण्डेले आत्महत्या गरे । उक्त घटनापछि पुष्टि हुन्छ कि नेपाली समाज दिन प्रतिदिन क्रूर बन्दै गएको छ।

सुरक्षाको हिसाबले सबैभन्दा धेरै सुरक्षित मानिने काठमाडौं उपत्यकाभित्रको काभ्रेस्थली घटना पनि घरेलु हिंसाका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। केही वर्षदेखि उनीहरूबीच सधैँ झगडा हुन गथ्र्यो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलमा भेटिएको १० पेज लामो ‘सुसाइड नोट’मा समेत दिनेशले पत्नी सुनितासँग दिनहुँ हुने विवादका कारण आफूले यस्तो बाटो रोज्नुपरेको खुलाएका छन्। पत्नी सुनिताले मोबाइल छुन नदिएको, घर बैना गरेको र कुवेतबाट कमाएर ल्याएको पैसाले जोडेको सम्पत्ति ससुरालीले हडप्न खोजेको दिनेशको आरोप छ।

खाना पकाएर नदिने, सँगै सुत्न नमान्नेदेखि पत्नीले ट्वाइलेट जाँदा पनि मोबाइल नछाड्ने गरेको सुसाइड नोटमा उल्लेख छ । १२ वर्ष विदेश बसेर फर्कंदा आफूलाई बेवास्ता गरेकी सुनिताले परपुरुषसँग घन्टौँ फोनमा कुरा गर्ने गरेको दिनेशको आरोप छ।

ट्वाइलेटमै बसेर लामो समयसम्म अरूसँग कुरा गर्ने गरेको उनले बताएका छन् । छोराछोरीको माया लागेर ‘आफूसँगै लैजान’ हत्या गरेको कुरा सुसाइड नोटमा उल्लेख छ। दिनेशको सुसाइड नोटबाटै प्रस्ट हुन्छ– उनीहरू (पति–पत्नी)बीच कलह थियो।

पारिवारिक कलहमा उनीहरू बाँचिरहेका आफन्त र छिमेकीलाई थाहा थियो । तर, उनीहरूलाई ‘मिल्नुपर्छ’ भनेर भनिरहे। सम्बन्धविच्छेद गरेर बस्ने सुझाव दिएनन्। दिनेश नेपाल फर्केसँगै पति–पत्नीबीच झगडा हुन थालेको थियो।

दिनेश १२ वर्षसम्म वैदेशकि रोजगारीका लागि कुवेत बसेर ४ वर्षअघि मात्र नेपाल फर्किएका हुन्। त्यसयता उनीहरूबीच कहिल्यै राम्रो भएन। झगडाको मुख्य कारण दिनेशले पत्नीमाथि शङ्का गर्नु रहेको देखिन्छ। शङ्काको भरमा बेलाबेला दिनेशले सुनितालाई पिट्ने, धम्क्याउने गरिरहन्थे।

झगडाले उग्र रूप लिँदा उनीहरू ३ पटक बालाजु प्रहरी वृत्तसम्म पुगेका थिए। प्रहरी चौकीमा पनि उनीहरूलाई मिलेर बस्न सुझाव दिइन्थ्यो। झगडा भइरहँदा उनीहरूले सम्बन्धविच्छेद गर्नेसम्मको छलफल गरे पनि अन्त्यमा माइती पक्ष बाधक बनिदिन्थ्यो। दिनेशले पत्नी सुनितासँग सम्बन्धविच्छेद माग्ने गरे पनि सुनिताले छोराछोरीकै कारण सम्बन्धविच्छेद गर्न चाहेकी थिइनन्।

माइती पक्षले मिलेर बस्न सुझाव दिएका थिए। सोही कारण सुनिताले आफैँ विदेश जाने तयारी थालेकी थिइन्। माइती पक्षले सुनितालाई बेलायत (यूके) पठाउन लागेका थिए । उनको यूकेको सिजनल भिसा लागेको थियो तर उनी यूके जान पाइनन्।उनीहरूको झगडाका कारण बिहेपछिको अवैध सम्बन्धलाई मानिएको छ । स्थानीयका अनुसार दिनेशको माहिली भाउजूसँग नाजायज सम्बन्ध थियो भन्ने हल्ला चल्ने गरेको थियो ।

गत १६ साउन बिहान ढोका फुटाएर तारकेश्वर– २ पदमसालस्थित दिनेशको घरमा प्रहरी छिर्दा एक्युरियमसँगै खाटमा २ नाबालक मृत अवस्थामा पल्टिएका थिए । भुइँमा सुनिता मृत थिइन् । सबैको शरीरमा चक्कुले घोपेको डोब थियो ।

अर्को कोठामा दिनेश झुन्डिएको अवस्थामा मृत थिए । दिनेशले आफैँलाई चक्कुले घोपेको र बिजुलीको कालो तारले घाँटी बाँधेर झुन्डिएका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार पत्नी र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेका हुन् ।

पारिवारिक बेमेल र झगडा अनि सम्पत्तिसँग जोडिएको उक्त बीभत्स घटना पति–पत्नीको विवाद व्यवस्थापन र समाधान नहुँदा मानिसलाई कतिसम्म क्रूर अपराधको बाटोमा पु¥याउँछ भन्ने एक उदाहरण हो ।

काभ्रेस्थली जस्तै घटना समाजमा दिन प्रतिदिन बढ्दो छ। नेपालमा हत्याको ग्राफ हरेक वर्ष बढ्दो अवस्थामा छ। प्रहरीले हत्याका घटना कम गर्न विभिन्न कार्यक्रम सञ्चालन गरे पनि समस्या घटेको छैन।

गत ८ साउनमा चितवनको भरतपुर महानगरपालिका– १० मा भएको पति–पत्नीको मृत्युको घटना पनि हत्यापछि आत्महत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। आफ्नै घरको बाहिर चोटग्रस्त अवस्थामा भेटिएका कृष्णप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको थियो।

घरभित्र पत्नी रुष्मा आचार्यको शव बीभत्स अवस्थामा भेटिएकाले चितवन प्रहरीले कृष्णले पत्नीको हत्यापछि ४ तलामाथिबाट हाम फालेको निष्कर्ष निकालेको थियो । ६ वर्ष साउदी अरब बसेर २ महिनाअघि मात्र नेपाल फर्किएका कृष्णले पत्नीसँग हरेक दिनजसो कुटपिट र विवाद गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

कृष्णले पत्नीमाथि सधैँ शङ्का गर्ने गर्थे। सम्बन्ध बिग्रिएपछि कृष्ण र रुष्मा सम्बन्धविच्छेद गर्ने अन्तिम तयारीमा थिए । तर, कृष्णले पत्नी रुष्माको खुकुरी प्रहार गरी हत्या गरी घरको ४ तलाबाट हाम्फालेर आत्महत्या गरेपछि उनीहरूको इहलीला समाप्त भएको थियो ।

पत्नी रुष्मालाई खुकुरी प्रहार गरेको छोरीले समेत देखेकी थिइन्, जुन कुरा छोरीले प्रहरी समक्ष भनेकी छन् । पत्नीको हत्यापछि छोरीलाई कृष्णले केही गरेनन् बरु उल्टो आफूले आत्महत्या गरे ।

त्यस्तै, गत २६ भदौ २०७७ मा भक्तपुरमा यस्तै घटना भयो । मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरा बस्ने ३६ वर्षीय सुदीप अधिकारी, पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षका सुशान्त मृत भेटिए।

पहिलो तलामा छोरा, दोस्रोमा सम्झना र तेस्रो तलामा सुदीप मृत भेटिए। छोरा सुशान्त र पत्नी सम्झनाको टाउकोमा चोट थियो । सुदीपले विष खाएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ।

सो घटना पनि हत्यापछि आत्महत्या गरिएको अनुसन्धान अधिकृतहरूको निष्कर्ष छ, जतिबेला सुदीपले पत्नी र छोराको हत्या गरेपछि विष सेवन गरेर आत्महत्या गरेका थिए ।

२०७६ असारमा भक्तपुरमा ६० वर्षीया आमा सावित्री भट्टराईको छोरी ईश्वरीले हत्या गराइन् । ईश्वरीले प्रेमी मोहम्मद नासिदको सहयोगमा आमाको हत्या गराएको प्रहरी अनुसन्धानमा पुष्टि भयो ।

सोही वर्ष १ मङ्सिरमा यस्तै घटना भएको थियो– रुकुम पश्चिममा। त्रिवेणी गाउँपालिका– १ का शक्तिबहादुर बुढाले पत्नीको हत्या गरे । ४९ वर्षीय बुढाले भरुवा बन्दुक प्रहार गरी ४२ वर्षीया पत्नी इन्द्रकलाको हत्या गरेका थिए।

त्यसैगरी जाजरकोट नगरपालिका– ६ का २५ वर्षीय रत्नबहादुर थापाले पनि पत्नीको हत्या गरे। १० साउन २०७६ मा २८ वर्षीया पत्नी विमला थापाको घाँटीमा पासो लगाई हत्या गरे ।

पछिल्लो समय यसरी आफन्तबाटै हत्याका शृङ्खलाबद्ध घटना भएका छन्। आफन्तअन्तर्गत सासू, ससुरा र पतिले गरेका बुहारी वा पत्नीका हत्या, भाइ, काका, बाबुले गरेका छोरा वा भाइ–भतिजाका हत्यालगायत अन्य बहुनाताका व्यक्तिले गरेका हत्याका उजुरी प्रहरीसँग छन् ।
पारिवारिक विवाद/बेमेल, आर्थिक अभाव, सम्पत्ति बाँडफाँट, आवेग र प्रतिशोध अनि आपसी अविश्वासका कारण हत्या हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए।

काभ्रेस्थली घटना पनि पारिवारिक बेमेल, सम्पत्ति, आपसी अविश्वास र त्यसले निम्त्याएका अरू कारणबाट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनको भनाइ छ । पछिल्लो ५ वर्षमा ३१ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईका अनुसार यसमध्ये कतिले परिवार तथा नातागोताको हत्या गरी आत्महत्या गरेका देखिन्छ ।

आत्महत्यामा आर्थिक अभाव, सम्पत्ति विवाद, घरायसी कलह, परपुरुष÷महिलासँगका सम्बन्ध, नैराश्य, प्रतिशोध, मानप्रतिष्ठामा आँच जस्ता कारण देखिने गरेको राईको बुझाइ छ ।

समाजले दिनेशको परिवारलाई समयमै सम्बन्धविच्छेदको सल्लाह दिएको भए अहिले परिवार नै सखाप हुँदैनथ्यो भन्ने राईलाई लाग्छ । बाटो भए पनि ‘मिल्नुपर्छ’ भन्ने सामाजिक दबाबका कारण यस्ता घटना दोहोरिन सक्ने राई बताउँछन् ।

अपराधका घटना बढेकामा चिन्ता 

शिक्षित र मान–प्रतिष्ठा कमाएका व्यक्तिबाटै सामाजिक अपराधका घटना बढेकामा समाजशास्त्रीहरू चिन्ता व्यक्त गर्छन्। आफन्तबाट हुने घटनाका कारणबारे समाजशास्त्री दीपक दाहाल सामान्य घरधन्धाको विषयमा विवाद हुँदा अप्रिय घटना हुने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘पति र पत्नीको एकअर्कामा अविश्वास भएर पनि घटना हुन्छन्। रिसको झोँकमा पनि हुन्छन्। कतिपय अवस्थामा पति वा पत्नीले मदिरा सेवन गरेका बेला कुनै कुरामा तालमेल नमिलेर पनि यस्ता घटना हुने गरेका देखिन्छ।’

यसरी हुने घटनालाई रोकथाम गर्न सरोकारवाला निकायका १–२ जना मात्र नभई गाउँ–समुदाय नै लाग्नुपर्ने समाजशास्त्री दाहालको बुझाइ छ।

त्यस्तै, मनोविश्लेषक डा. वासु आचार्य आफन्तबाटै हत्याको घटना हुनुको कारण विचलित समाज भएको बताउँछन्। उनको दृष्टिमा यस्ता घटनामा यौन मनोरोग मुख्य कारण हो ।

‘नेपालमा यौन मनोरोगीहरू एकदमै बढेका छन् । डरलाग्दो अवस्था आउन थाल्यो’, उनी भन्छन्, ‘आफू केही नगर्ने, बाहिरबाट सुटर मगाएर हत्या गर्न थालियो । यसले अपराधोन्मुख समाजको चित्र कोरेको छ ।’

‘यसको मुख्य दोषी व्यक्ति हो’, उनी थप्छन्, ‘अर्को पारिवारिक कारण हो। जुन परिवारमा विग्रह छ, आर्थिक समस्या छ, त्यसैमा यस्तो घटना ज्यादा हुने गर्छ।’ व्यक्ति दोषी भए पनि घटनाका पछाडि सामाजिक कारण मजबुत रहेको उनको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्