जेलमा आगो लागेपछि भागेका कैदीहरूले यसरी देखाए इमान्दारिता



एजेन्सी : इन्डोनेसियाको एक कारागारमा आगो लागेपछि भागेका २७० भन्दा बढी कैदीहरू बाँकी सजाय काट्न जेलमा फर्केका छन्। सोरोङ शहरमा सोमवार विरोधकर्ताहरूले कारागार भवनमा आगो लगाएपछि त्यहाँ कैद ५०० अपराधीमध्ये आधीभन्दा बढी भागेका थिए। 

कारागारका प्रवक्ता एल्ली युजारले भने, ‘उनीहरू भाग्न खोजेका थिएनन्, उनीहरू आफूलाई आगोबाट जोगाउन चाहन्थे। इन्डोनेसियाको दोस्रो सबभन्दा ठूलो शहर सुराबायामा थुप्रै पापुआली विद्यार्थीहरूलाई पक्राउ गरिएपछि उक्त क्षेत्रमा तनाव छ। पापुआलीहरूलाई जातिवादी दुर्व्यवहार समेत गरिएको थियो। 

युजारले कैदीहरूका बारेमा बताए, ‘उनीहरू पनि आफ्नो परिवारका बारेमा चिन्तित थिए। हत्याको दोषी पाइएका अपराधीहरू पनि स्वेच्छाले यहाँ फर्किए।’ अपराधीहरूले जेलरहरूका लागि अस्थायी कार्यालय बनाउन समेत मद्दत गरिरहेका छन्। विरोध प्रदर्शनका क्रममा भवनका केही भाग क्षतिग्रस्त भएका थिए। 

सोरोङमा खोजी टोलीहरू शहरभरि फैलिएर भागेका कैदीलाई खोजिरहेका थिए र उनीहरूका परिवारका सदस्यलाई भेटिरहेका थिए, युजारले बताए। एक दर्जन जति चाहिँ अझै पनि फरार रहेको उनको भनाइ छ। जेलमा भीडभाड बढी नै भएको र फोहर पनि रहेको भए पनि कैदीहरूलाई राम्रो व्यवहार गरिने भएकाले उनीहरू फर्केको अधिकारीहरूको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्