सर्वाधिक उचाईको गल्फ कोर्समा प्रतियोगिता हुने



काठमाडौं । विश्वको सबै भन्दा उचाईमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ दि वल्र्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ ।

मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो । उच्च स्थानको गल्फ कोर्स भएपनि पहिचान पाउन भने बाँकी छ ।

लोमान्थाङ युवा क्लव र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्षमा ‘टप अफ दि वल्र्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा काठमाडौं र पोखराबाट गरी २४ पुरुष र ४ महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता तीन बाई चार स्टेवलफोर्ड फम्र्याटमा कुल ९ होलमा खेलाइनेछ । विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्स भारतको सिक्किममा रहेको छ ।

लोमान्थाङमा प्रतियोगिता आयोजना भएको अवस्थामा नेपालको कोर्सले नयाँ पहिचान पाउनेछ । पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताबाट गल्फ कोर्सको गुणस्तर पहिचान गर्ने र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने आयोजक लोमान्थाङ क्लवले बताएको छ । गल्फकार्स गण्डकी प्रदेशसभा सांसद इन्द्रधारा विष्टको सक्रियतामा निर्माण गरिएको हो ।

सांसद विकास कोर्षको १० लाख, लोमान्थाङ गाउँपालिका र मुस्ताङका सांसद विष्टको लगानीमा कोर्षको निर्माण भएको हो । भविष्यमा नेपालको खेल पर्यटनका लागि सहयोग पुर्‍याउने उदेश्यका साथ गल्फ कोर्सको निर्माण गरिएको र हाई अल्टिच्युडमा खेलाडीलाई अभ्यस्त बनाउने लक्ष्य रहेको बताएका छन् ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले अग्लो स्थानको गल्फ कोर्सको पहिचानका लागि सरकार र विश्व गल्फ महासंघमा पहल गर्ने बताउँदै अग्लो स्थानको गल्फकोर्सले गल्फको विकासमा सहयोग पुर्‍याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्