क्षणिक आवेगमा सामूहिक ‘आत्महत्या’



घटना १

बुधबार बझाङमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिए। जिल्लाको बुङ्गल नगरपालिका– ९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र उनका २ जना छोराछोरी झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ।

मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । उनीहरू घर नजिकै रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

पुष्कर मङ्गलबार राति मात्र भारतको पिथौरागढबाट नेपाल फर्किएका थिए । मृत भेटिएकी महिलाका श्रीमान् पुष्करले आफू निद्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन्। घाँस काट्न गएकी स्थानीय महिलाले झुन्डिएको अवस्थामा देखेपछि घटना बाहिर आएको हो।

उनीहरूले आत्महत्या गर्नुको कारण खुली नसकेको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थल नै पुगेर उनीहरूले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान गरिरहेको इन्स्पेक्टर अवस्थीले बताए ।

श्रीमान् पुष्करसँग बेमेल रहेका कारण गीताले छोराछोरीलाई लिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोत भन्छ, ‘उनीहरूबीच आर्थिक लेनदेनको विषयमा घरायसी झगडा हुने गरेको पाइएको छ ।’

घटना २
गत ८ साउनमा झापाको कचनकवल गाउँपालिका– ५, पाठामारीका ३ किशोरीले एउटै रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरे। घटना सामूहिक रूपमा आत्महत्या नै हो भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छ।

प्रहरीका अनुसार २ किशोरी एउटै हाँगो र १ किशोरी अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। झुन्डिएको अवस्थामा भेटिएकाहरूमा कचनकवल– ५ निवासी पञ्चम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीय छोरी कल्पना छन्।

अभिभावकका अनुसार गाउँकै चिया बगानमा काम गर्ने ती किशोरीहरू ७ गते अर्थात् शनिबार घरबाट घुम्न भनेर हिँडेका थिए। चिया बगान पनि बिदा हुने भएकाले घुम्न निस्किएका उनीहरू राति अबेरसम्म नफर्किएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूको खोजी थालेको थियो।

खोजी गर्ने क्रममा आइतबार बिहान साढे ७ बजेतिर सुनकोसी चिया बगानस्थित बयरको रूखमा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनीहरूले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अहिलेसम्म केही खुलाउन सकेको छैन ।

घटना ३

३ वर्षअघि २ माघ २०७६ मा काठमाडौं चन्द्रागिरि नगरपालिका–४, थानकोटका विनय लामिछाने धादिङ आदमघाट बजारस्थित ससुराली हिँडे। ३५ वर्षीय विनयका साथमा थिए, पत्नी जमुना रेग्मी लामिछाने, २ वर्षे र ६ महिने छोरा । कान्छो छोराको पास्नी आउँदै थियो।

विनय ससुराली कटेर बेनीघाट पुगेर मात्र ओर्लिए । सबै एकसाथ त्रिशूली नदीमा हेलिए । विनयको त प्रहरीले उद्धार गर्‍यो तर पत्नीको ज्यान गयो, दुवै सन्तान बेपत्ता भए । प्रहरीको प्रारम्भिक अनुसन्धानले मिटर ब्याजको ऋण तिर्न नसकेपछि उनीहरूले आत्महत्याको बाटो रोजेका देखियो ।

आत्महत्याको तयारीसाथ उनीहरूले घर छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ। थानकोटस्थित घरमा प्रहरीले फेला पारेको ‘सुसाइड नोट’मा धेरैलाई पैसा तिर्न बाँकी उल्लेख थियो।

थानकोटस्थित घरको सिरानीमुनि भेटिएको सुसाइड नोटमा व्यवसाय गर्दा थुप्रै ऋण लागेको र ऋणको साँवा–ब्याज तिर्न नसकेर आत्महत्याको बाटो रोजेको उल्लेख छ।

घटना ४

गत २३ फागुनमा काठमाडौंको नागार्जुन नगरपालिका– ६ डाँडापौवामा एकै परिवारका ५ जना अचेत अवस्थामा फेला परे। डाँडापौवास्थित एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेका ६२ वर्षीया इन्दिरामाया प्रधानको परिवारका ५ जना अचेत अवस्थामा फेला परेका हुन् ।

सामूहिक आत्महत्याको प्रयास गरेका उनीहरूमध्ये १ जनाको मृत्यु भयो भने ४ जनाको ज्यान जोगियो। अचेत भेटिएकाहरूमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भयो । इन्दिरामायासहित ३८ वर्षीय भीममान, ३५ वर्षीया मन्दिरा र ११ वर्षीया सुप्रियाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारपछि ज्यान जोगियो । उनीहरू अहिले घरमै बस्दै आइरहेका छन् ।

काठमाडौं प्रहरीका अनुसार उनीहरूले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेका खुल्यो। प्रहरीले घटनास्थलबाट ‘सुसाइड नोट’ पनि फेला पारेको थियो। नोटमा उल्लेख भएअनुसार चरम आर्थिक सङ्कटका कारण प्रधान परिवारले सामूहिक आत्महत्याको बाटो रोजेको पाइयो।

हरेक आत्महत्याका पछाडि धेरै कारणहरू हुन्छन्। माथिका ४ वटै घटनामध्ये कुनै सामूहिक सल्लाहमा भएका पाइएको छ। एक्लै आत्महत्याको निर्णयमा पुग्न तुलनात्मक रूपमा सहज होला तर सामूहिक आत्महत्याको निर्णयसम्म कसरी पुग्लान् ?

सामूहिक आत्महत्यामा किन सबै जना राजी हुन्छन् ? भन्ने गहन खोजीको विषय रहेको मनोचिकित्सकहरू बताउँछन् । तर, सामूहिक रूपमा सल्लाह भएरै आत्महत्या गर्ने प्रवृत्ति बढ्दो रहेको मनोविद्हरूको आँकलन छ । साना सन्तानलाई मार्ने वा मर्न प्रेरित गर्ने घटना अझ विस्मयकारी हुने समाजशास्त्री मीना उप्रेती बताउँछिन् । उनका अनुसार क्षणिक आवेगमा आएर पनि आत्महत्या भइरहेका छन् ।

मानसिक सन्तुलन बिग्रेका कारणले पनि मानिसहरूले आत्महत्या गरिरहेका हुन्छन् । समाजशास्त्री उप्रेतीले भनिन्, ‘सामूहिक आत्महत्या सल्लाहबाट हुन्छ, एउटाले प्रस्ताव गर्छ, अर्कोलाई आत्महत्याका लागि प्रेरित पनि गरिरहेको हुन्छ, अर्काले आत्महत्या गर्न नमाने पनि प्रेरित गराउने काम सामूहिक आत्महत्यामा हुने गरेको छ ।’

सामूहिक रूपमा हुने आत्महत्याको कारण एउटा मात्र नभएर धेरै हुने उनको बुझाइ छ। पारिवारिक आत्महत्या आर्थिक, सामाजिक तथा तनावको कारण हुने गरेको समाजशास्त्री उप्रेतीले द नेपालटपसँगको कुराकानीमा बताइन्।

उनका अनुसार अहिलेको पुस्तामा सहने शक्ति कम छ, अप्ठ्यारो स्थिति सामना गर्न सक्दैनन्। दुःख परेपछि विकल्प आत्महत्या नै देख्छन् । ‘सङ्कटसँग लड्ने मनोबल विकास गर्न नसक्दा मानिसहरूले आत्महत्या गरेका छन्’, उनले भनिन्, ‘कुनै घटनाले सबैलाई प्रभावित पारेको छ भने क्षणिक आवेगमा आएर सबैले आत्महत्या गर्छन्।’

उनका अनुसार अधिक महत्वाकाङ्क्षा राख्ने तर सोअनुरूप सफलता हात नपर्दा मान्छे विचलित हुन्छन् र सङ्घर्ष होइन, मरणको बाटो रोज्छन् । ‘सामूहिक आत्महत्याको एउटा कारण आक्रोश पनि हो । सुरुमै सबै मर्न सहमत हुँदैनन्, यस्तोमा एकले अर्कालाई सहमत गराउन पटकपटक दबाब गर्छन्’, उनले भनिन् ।

रामपुर घटना र धादिङ घटनाका पछाडि आर्थिक कारण जोडिएको भए पनि वा कारण जेसुकै भए पनि आवेगलाई नियन्त्रण गर्न नसक्दा मानिसहरू हत्यादेखि आत्महत्यासम्म पुग्ने गरेको समाजशास्त्री उप्रेतीको बुझाइ छ। त्यस्तै, परिवारमा बेमेल भएको अवस्थामा समेत परिवारको हत्यापछि आत्महत्या गर्ने प्रवृत्तिसमेत बढेको उप्रेतीले बताइन्।

तारकेश्वर काभ्रेस्थली घटना त्यसैको उदाहरण हो, जहाँ श्रीमान्–श्रीमतीबीचको लडाइँले अनाहकमा २ जना स–साना बच्चाहरूको समेत ज्यान गयो। श्रीमान्ले श्रीमतीमाथि शङ्का गर्नाले काभ्रेस्थली घटना भएको पाइएको छ, जहाँ श्रीमतीले आफ्नो मोबाइलसमेत श्रीमान्लाई छुन पनि नदिने गरेको घटनास्थलमा भेटिएको सुसाइड नोटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्