रुपन्देहीमा डेंगीको संक्रमण बढ्दै, सावधानी अपनाउन आग्रह



रुपन्देही । रुपन्देहीमा डेंगीको संक्रमण बढ्दै गएको छ। गतवर्षको तुलनामा यो वर्ष डेंगीका बिरामी धेरै देखिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा २ सय ६९ डेंगीका बिरामी भेटिएका थिए।

गत आर्थिक वर्षमा ४६ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए। जिल्लामा २०६७ देखि डेंगीको समस्या देखिएको हो।

२०६७/६८ मा २ सय ९० जनामा डेंगीको संक्रमण देखिएको थियो। आव २०७६/७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो । यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो।

अहिले पुनः बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउँछन्। डेंगीको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उनको भनाइ छ।

डेंगीको संक्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेंगी रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेंगीको अवस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रूप लिनसक्ने बताए।

‘खोप छैन, त्यसैले जोखिम छ। घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ। लामखुट्टेको टोकाइबाट बच्नुपर्छ’, उनले भने। डेंगीको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ।

उपमहानगरका सबै वडामा डेंगी नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए। अभियानअन्तर्गत समूह समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उनको भनाइ छ।

विपद् व्यवस्थापन समितिको अगुवाइमा स्वास्थ्यकर्मीको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेवी अर्याल बताउँछिन् । यो एक सरुवा रोग भएकाले महामारीको रूप लिन नदिननन सबै सचेत हुनुपर्नेमा उनको जोड छ।

यसको संक्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा माँसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्छन्।

एक प्रकारको विषाणुबाट डेंगी भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगी घातक हुन्छ । डेंगी ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ।

डेंगी लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र विरामी अझै कमजोर हुने गर्दछन् । तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगी भएको बुझ्नुपर्ने निरीक्षक शाह बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्