खानेकुराको श्रोत पहिचान हुन नसक्दा स्वास्थ्य समस्या जटिल बन्दैछ : राजेश हमाल



काठमाडौं । महानायक राजेश हमालले खानेकुराको श्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । 

बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महानायक हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए ।

उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लत्ताकपडाहरू भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवद्र्धक हुने बताएका छन् ।

महानायक हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा बहकिन थालेको बताएका छन् । उनले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराएका छन् ।

महानायक हमालले स्वास्थ्यमा खतरा भइसक्दा समेत कोही पनि नेपालीहरू सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंले यसमा पहलकदमी थाल्नुपर्नेमा समेत जोड दिएका छन् ।

उनले मानिसहर बिरामी हुँदा आश्चर्य हुनुपर्ने ठाउँमा कसरी स्वस्थ भयो भन्ने बारेमा आश्चर्य हुने गरेको बताएका छन् । हमालले मानिसले खाने सामग्रीहरू फ्याक्ट्रीबाट नभइ जमिनबाट उत्पादन हुनुपर्ने र त्यसैले मानव स्वास्थ्यको हीत गर्ने बताएका छन् ।

महानायक हमालले अहिले आफूले खाने खानाको श्रोत थाहा नहुँदा कतिपय समस्या सिर्जन भइरहेको बताएका छन् । उनले बाहिरी आवरणलाई हेरेर नभइ सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरूको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए ।

प्याकेजिङका फुडहरु स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतफै सचेत रहन पनि उनले आग्रह गरेका छन् । उनले स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरूको बहिष्कार गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्