आन्दोलनरत शिक्षकहरूको मागप्रति लचिलो नबन्न नगरप्रमुखलाई नेताहरूको सल्लाह



महोत्तरी । बर्दिबास नगरपालिकामा करार बसेवाबाट पदमुक्त गरिएका शिक्षकहरूको आन्दोलन फितलो बन्दै गएको छ। स्थानीय सरकारले आन्दोलनरत शिक्षकहरूको मागप्रति लचिलो बन्न नसक्ने निष्कर्ष निकालेपछि शिक्षकहरू आन्दोलनबाट पछाडि हट्न थालेका छन्।

पदवहालीको माग गर्दै नगरपालिकाको कार्यालय परिसरमा धर्नारत शिक्षकहरूलाई दिएको समर्थनबाट राजनैतिक दल समेत पछाडि हटेका छन्।

आज नै नेकपा एमाले, माओवादी केन्द्र, काङ्ग्रेसले करार सेवामा कार्यरत शिक्षकहरूलाई हटाउने निर्णय हतास, अपरिपक्व र सामुदायिक शिक्षाको मर्मविपरीत भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाए पनि दलहरू भित्रैबाट फरक अभिव्यक्ति आएका छन्।

नेकपा एमालेकी नेतृ सरिता ढुंगानाले स्थानीय सरकारले करारका शिक्षकहरू हटाइ नयाँ प्रक्रियामा जाने निर्णय स्वागतयोग्य भएको बताइन। उनले आन्दोलनरत शिक्षकहरू नयाँ प्रक्रियामा आउनु पर्ने र सर्वदलीय भनिएको निर्णय नेकपा एमालेको आधिकारिक नभएको पनि जिकिर गरिन।

जिल्लामा माहाधिवेशन नभएसम्म नगरकमिटी समेत नरहेको बताउँदै नेतृ ढुंगानाले कसैले हस्ताक्षर गर्दैमा आधिकारिक नहुने उनको भनाइ छ। सरिता ढुंगानाको तर्कमा अर्का नेता सन्त परियारले समेत समर्थन जनाएका छन्। केन्द्रीय सल्लाहकार समेत रहेकी नेतृ ढुंगानाको तर्क नै आधिकारिक भएको उनको भनाइ छ।

आज नै धर्नारत शिक्षकहरूको सबन्धमा नगरप्रमुख प्रह्लाद क्षेत्रीले केही राजनैतिक दलका नेताहरूलाई बोलाएर छलफल गरेका थिए।

छलफलमा लोसपाका नेता चेत कुमार थापा, नेकपा एमालेकी नेतृ सरिता ढुंगानाले स्थानीय सरकार आन्दोलनरत शिक्षकहरूको सबन्धमा लचिलो बन्नुको सट्टा नयाँ भर्ना प्रक्रियामा नै जानुपर्ने सुझाव दिएका छन्।

सर्वदलीय भनिएको निर्णयको सबन्धमा समेत नेताहरूले प्रश्न उठाएका छन् । दुई वटा वा तीनवटा हस्ताक्षर बटुलेर सर्वदलीय परिभाषालाई गलत अर्थ लगाएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्