मानव वन्यजन्तु द्वन्द्व न्यूनकरणका उपाय खोज्न निर्देशन



काठमाडौं । बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनकरण तथा वन्यजन्तुका बासस्थान सुरक्षित गर्ने उपाय खोज्न वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । संरक्षित जीवजन्तुका आहरा, वासस्थान सुधार गर्दै पर्यापर्यटनका क्षेत्र फराकिलो बनाउन सकिने विकल्पबारे कार्यक्रम तयार गर्न यादवले विभाग र प्रदेशका निकायको ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार मन्त्रालयस्तरीय विकास, समस्या समितिको बैठकमा उनले वनसँग सरोकार राख्ने निकायबीच कार्यअनुभव बाँडफाँड र नियमित समन्वयको खाँचो औल्याएका छन् । ‘सबै निकायसँगको समन्वयमा वन्यजन्तुका वासस्थानमा सुधार ल्याउने दिगो व्यवस्थापनका कार्यक्रम चाडो लागु गरौं’, उनले भने । सबैको साझा प्रयत्न र हातेमालोले नेपालमा बाघको संख्या उत्साहजनक रुपमा बढेको उल्लेख गर्दै उनले मानव वन्यजन्तु द्वन्द्व न्यूनकरणमा जोड दिए ।

समुदायलाई वन क्षेत्र हस्तान्तरण, वातावरण प्रभाव मूल्यांकन (ईआईए) लगायतका वातावरणीय अध्ययनलाई छिटो छरितो बनाउन अन्तर मन्त्रालय समन्वय चुस्त बनाउन यादवले विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलौनी प्रधानले पर्यावरण, वन जङगल, वन्यजन्तु, जलस्रोतसहित विकासका कार्यक्रमहरूमा आयोगले वन मन्त्रालयसँग समन्वय गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्