एक्सनमा उत्रिए प्रदेश २ का अर्थमन्त्री यादव, विकास निर्माणबारे मासिक समिक्षा गर्ने



जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशमा भइरहेको विकास निर्माण सम्बन्धी सबै मन्त्रालयसँग महिनामा एक पटक सामूहीक रुपमा समिक्षात्मक छलफल चलाउने भएका छन् । विकास निर्माणको काम सुस्त भएको र प्रदेशका मन्त्रीहरुले भ्रष्टचार गरेको आरोप लागिरहेका बेला मन्त्री यादवले प्रदेशका सबै मन्त्रालयसँग महिनामा एक पटक समिक्षात्मक छलफल चलाउने निर्णय गरेका हुन् ।

अर्थमन्त्रीको यो निर्णयलाई अहिले प्रदेश २ मा अर्थपूर्ण ढंगले हेरिएको छ । 

मन्त्री यादवका प्रमुख स्वकिय सचिव सुरेन्द्र अधिकारीका अनुसार विकास निर्माणमा ६ वटै प्रदेशलाई पछाडि पार्दै प्रदेश २ लाई एक नम्बर बनाउने योजना अनुसार मन्त्री यादवले महिनामा एक पटक आयोजना गर्ने समिक्षात्मक छलफलमा मन्त्रालयको काम कारवाहीबारे मन्त्रालयका प्रतिनिधिसँग प्रत्यक्ष जानकारी समेत लिनेछन् ।

सोमबार २०७५/७६ को बजेट खर्च सम्बन्धी समिक्षा कार्यक्रममा मन्त्री यादवले कर्मचारी नभएको वहानवाजीमा विकास निर्माणका काम सुस्त हुँदै गएकाले महिनामा एक पटक सबै मन्त्रालयसँग समिक्षा बैठक राखिने जानकारी दिएका थिए ।

नीति आयोगका सदस्य डा.सुरेन्द्र झाको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमका प्रमुख अतिथी रहेका मन्त्री यादवले भने, ‘सबै प्रदेशलाई उछिन्ने गरी उत्साहका साथ काम गर्न पनि मासिक छलफलले प्रोत्सहान गर्छ भनेर प्रत्येक महिना एक पटक समिक्षात्मक छलफल राख्न लागेको हुँ ।’ सबै मन्त्रालयका प्रतिनिधिहरु सहभागी उक्त समिक्षा कार्यक्रममा अर्थ सल्लाहकार राज कुमार सिंहको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्