वैदेशिक रोजगारीमा रेट्यिान्ससँगै मृत्युदर बढ्दो



काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले पठाउने रेट्यिान्सको ग्राफसँगै मृत्युदर पनि बढ्दो छ । विगत १४ वर्षमा वैदेशिक रोजगारीमा गएका युवाले ८४ खर्ब ६६ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । तर, सोही अवधिमा १० हजार ९३२ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा रहेकाहरूको मृत्युदर बढ्दै गएको छ। आर्थिक वर्ष २०६५÷०६६ देखि २०७८÷०७९ सम्म कुल ५ लाख ८३३ जना वैदेशिक रोजगारीमा गाएका छन्। जसध्ये १० हजार ९३२ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा २ हजार १२५ जनाको अङ्गभङ्ग भएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अधिकांश व्यक्ति सीपबिना वैदेशिक रोजगारमा जाने भएकाले मृत्युदर बढेको बताए । साथै सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहायता बैंकमार्फत् भुक्तानी गर्न थालेपछि मृत्यु हुनेको सङ्ख्या बढी देखिएको उनको भनाइ छ।

कामदारको दक्षता र कामको ग्यारेन्टी नभई वैदेशिक रोजगारीमा जाँदा जोखिम बढेको श्रेष्ठले बताए। कामको दक्षता र सीपबिना वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगारी असुरक्षित देखिएको उनको भनाइ छ।

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचना प्रचारप्रसार, सीप सिक्ने र सामाजिक सुरक्षा कोषमा जानुपर्ने निर्देशिक कार्यान्वयन ल्याउन आवश्यक रहेको उनले बताए। त्यस्तै, पुनः एकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९ लाई अक्षरशः कार्यान्वयनमा ल्याउन आवश्यक रहेको उनले बताए ।

विभागले वैदेशिक रोजगारमा गई मृत्यु भएकाको ४ हजार १५४ वटा परिवारलाई २ अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ। यस्तै विदेशमा मृत्यु भई अलपत्र परेका ५५५ वटा शव नेपाल ल्याएको छ।

जसका लागि सरकारले ३ करोड ९७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। बोर्डको तथ्याङ्कअनुसार १४ वर्षमा ४ लाख ७१ हजार ५९१ पुरुष र २ लाख ८६ हजार २४२ महिला वैदेशिक रोजगारमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्