२४ जिल्लामा विस्तार भयाे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय



काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २४ जिल्लामा डिभिजन कार्यालय स्थापना गरेको छ। यसअघि यो विभाग केन्द्रीयस्तर र पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालयमा सीमित थियो। खाद्य तथा पेयपदार्थसम्बन्धी अनुगमन प्रभावकारी बनाउन कार्यालय विस्तार गरिएको हो।

 

विभाग र क्षेत्रीय कार्यालयको सहयोगमा जिल्लास्तरमा अनुगमन गर्न समस्या भएको थियो। मुलुक संघीय संरचनामा गएपछि केन्द्रीय सरकारको मातहतमा रहने गरी प्रत्येक दुईदेखि तीन जिल्ला हेर्ने गरी २४ जिल्लामा डिभिजन कार्यालय स्थापना गरिएको छ।

 

विभागका महानिर्देशक सञ्जिवकुमार कर्णका अनुसार डिभिजन कार्यालय कात्तिक अन्तिमदेखि पूर्ण सञ्चालनमा आउनेछन्। झापा, इनरुवा, धनकुटा र गाईघाटमा डिभिजन कार्यालय स्थापना गरिएको छ।

 

राजविराज, जलेश्वर, मलंगवा, वीरगन्ज, काठमाडौं, धुलिखेल, सिन्धुली, नुवाकोट, भरतपुर, दमौली, वागलुङ, पाल्पा, तौलिहवा, पोखरा, तुल्सिपुर, सुर्खेत, जुम्ला, डडेलधुरा, वैतडी र दिपायलमा डिभिजन कार्यालय स्थापना गरिएको छ।

 

विभागका अनुसार यसअघि पाँच स्थानमा रहेको क्षेत्रीय कार्यालय विस्तार गरी ६ बनाइएको छ। यसअनुसार विराटनगर, जनकपुर, हेटाैंडा, भैरहवा, नेपालगन्ज र धनगढीमा क्षेत्रीय कार्यालय स्थापना भएका छन्। क्षेत्रीय कार्यालयमा अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालाको पनि व्यवस्था गरिएको महानिर्देशक कर्णले जानकारी दिए।

 

‘अहिले स्थापना भएको संगठन संरचनाले करिब देशैभरका जिल्लाको खाद्य तथा पेयजन्य पदार्थको गुणस्तर निर्धारण, नियमन कारवाही गर्न हामी सक्षम भएका छौं’, महानिर्देशक कर्णले भने।

 

यस्ता डिभिजन कार्यालयलाई बजार, होटेल, रेस्टुँरा तथा खाद्य तथा पेयजन्य पदार्थका उद्योगको अनुगमन र निरिक्षण, खाद्य तथा पेयजन्य पदार्थको उद्योग सञ्चालन गर्न आवश्यक अनुज्ञापत्र जारी गर्ने विभागलाई सिफारिस गर्ने अधिकार दिइएको छ।

 

अनुगमनका क्रममा कैफियत भेटिएको अवस्थामा कारबाही गर्नेसम्मको जिम्मेवारी दिइएको छ। डिभिजन कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक, प्राविधिक सहायक दुई र कार्यालय सहयोगी एक गरी चार जनाको दरबन्दी कायम गरिएको छ। अपुग भएको कर्मचारी आगामी असार मसान्तभित्रमा लोकसेवा आयोगमार्फत वहाली गरिनेछ।

 

यसवाहेक विभागले केन्द्रीय सरकारको मातहत नै रहने गरी भारतसँग सीमा जोडिएका नेपाली भूभागको १२ स्थानमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयसमेत स्थापना गरेको छ। यो कार्यालय प्रत्येक भन्सार विन्दुमा रहने गरी प्रयोगशालासहित स्थापना गरिएको छ।

 

भारतसँग सीमा जोडिएका काँकडभिट्टा, विराटनगर, भिट्टामोड, वीरगन्ज, भैरहवा, कृृष्णनगर, नेपालगन्ज, धनगढी, महेन्द्रनगरको गड्डाचौकी, सिन्धुपाल्चोकको तातोपानी, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो कार्यालय स्थापना गरिएको छ।

 

कर्णका अनुसार भारतसहित तेस्रो मुलुकबाट आयात हुने र नेपालबाट निर्यात हुने खाद्य तथा पेयपदार्थको गुणस्तर यस्ता कार्यालयले प्रमाणीकरण गर्नुपर्नेछ। 

प्रतिक्रिया दिनुहोस्