जसपा खोटाङ : पार्टी ‘छाड्ने र नछाड्ने’ संख्याको विषयमा दोहोरी



खोटाङ । जनता समाजवादी पार्टी खोटाङले अध्यक्ष सहित ३ जनाले मात्र पार्टी परित्याग गरेको दाबी गरेको छ। अध्यक्ष अध्यक्ष टंक थापा सहित ३९ जनाले सोमबार पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेको भोलिपल्टै पत्रकार सम्मेलन गर्दै जसपाले अध्यक्ष थापा, सचिव देवकुमार राई र सचिवालय सदस्य दीपककुमार तामाङले मात्र पार्टी परित्याग गरेको दाबी गरेको हो।

हेलिप्याडस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जसपाका उपाध्यक्ष पिके खम्बुले पार्टी परित्याग गरेको भनिएका नेता तथा कार्यकर्ता जसपामै रहेको दाबी गरेका छन्। ‘टंकबहादुर थापा, देवकुमार राई र दीपककुमार तामाङले मात्र पार्टी परित्याग गरेको हो,’ खम्बुले भने, ‘जसपा जिल्लामा सशक्त र संगठित छ। भविष्यमा अझ बढी सुदृढ भएर जानेछ।’

पार्टी परित्यागको सूचीमा राखिएका कतिपय नेताले लिस्टमा सार्वजनिक रूपमै जसपामा रहेको बताइरहेको उपाध्यक्ष खम्बुले उल्लेख गरेका छन्। पार्टी छाडेका भनिएका लफ्याङ र खार्मी वडा कमिटीका नेता तथा कार्यकर्तालाई पत्रकार सम्मेलनमा उपस्थित गराइएको थियो। भौगोलिक विकटताका कारण अन्य ठाउँका नेतालाई उपस्थित गराउन नसकिएको जसपाले जनाएको छ। पार्टी परित्याग गरेका कसैलाई पनि कारबाही नगरिएको तर सो बारेमा प्रदेश कमिटीलाई जानकारी दिइएको जसपाका प्रदेश कमिटी सदस्य नवीन राईले बताए।

थापाले ११ पदाधिकारीमध्ये ७ जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, ७ केन्द्रीय सदस्यमध्ये २ जना र ६ जना प्रदेश सदस्यमध्ये ३ जनाले पार्टी परित्याग गरेको जानकारी दिएका थिए। थापाको सोही घोषणालाई जसपाले पत्रकार सम्मेलनमार्फत खण्डन गरेको हो। पार्टी ‘छाड्ने र नछाड्ने’ नेताको संख्याको विषयमा अहिले २ पक्षबीच दोहोरी चल्न थालेको हो। दुवै पक्ष आ–आफ्नो संख्या बढी देखाउने ध्याउन्नमा जुटेको देखिएको छ।

सोमबारको पत्रकार सम्मेलनमा भनिएजस्तो सबै ३९ जनाले जसपा नछाडेको र मंगलबारको पत्रकार सम्मेलनमा भनिएजस्तो ३ जनाले मात्र पार्टी छाडेको दाबीमा तथ्यांकीय त्रुटि देखिएको छ। नयाँशक्ति पुष्ठभूमीका नेताहरूका विषयमा भने जसपा सहिष्णु देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्