सिरहाबाट लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ



काठमाडौं : सिरहा प्रहरीले प्रतिबन्धिच लागूऔषध खैरो हिरोइनसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । 

बुधबार साँझ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खिैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादव रहेका छन् । 

स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र यादवले लागूऔषध खैरो हिरोइन लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्लाष्टिकको पोकामा तयार पारी राखेको ठूलो एक पोका, सानो ८९ पोका गरी आठ ग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका दुवैको साथबाट रु २० हजार ७ सय ६० नेपाली र एक हजार ७ सय भारतीय रुपैयाँ तथा एक थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै प्रहरीले गोलबजार नगरपालिका–६ दोहोटियामा ५ सय लिटर अवैध घरेलु मदिरा र एक हजार लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्