अशंवण्डाले थलियो कांग्रेस



काठमाडौं : आगामी भदौ २४ गतदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको नेपाली कांग्रेसमा जनपरिचालन गर्ने क्षमता राख्ने भातृ संस्थाहरु हाल निदायको अवस्थामा छन् । महाधिवेशन भएको चार वर्ष वितिसक्दा पनि कांग्रेसका विभागहरु बन्न सकेका छैन भने भातृ संस्थाहरु लथालिङ्ग र अलपत्र अवस्थामा छन् । 

कांग्रेसको विधान अनुसार महाधिवेशन भएको दुई महिना भित्रमा विभाग र समितिलाई पूर्णता दिनुपर्ने हुन्छ । १३ औँ महाधिवेशन भएको चार वर्ष वितिसक्दा पनि विभागहरु गठन  हुन सकेका छैन । 

१४ औँ महाधिवेशन नजिकिदै गर्दा बल्ल विभागहरु गठन गर्ने सुरसार भइरहेको छ । विभागहरु गठन नहुनुमा संस्थापन पक्षले पौडेल पक्षलाई दोष दिँदै आइरहेको छ । पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महत भन्छन्–पार्टी सभापति विभागहरु गठन गर्ने कुरामा सकारात्मक हुनुहुन्छ । तर, रामचन्द्र पौडेल, कृष्ण सिटैलाहरुका कारणले विभागहरु गठनमा विलम्व भइरहेको छ । 

दुई वर्ष अघि विभाग गठन गर्ने सन्दर्भमा पार्टी भित्रको संस्थापन पक्ष र १३ औँ महाधिवेशनमा शेरवहादुर देउवाका प्रत्यासिका रुपमा उठेका रामचन्द्र पौडेल पक्षबीच अशंवण्डा भएको थियो । जसअनुसार संस्थापन पक्षले १७ र पौडेल पक्षले ११ विभागको नेतृत्व लिने सहमती भएको थियो । तर, नेपाली कांग्रेसमा तेस्रो धार बनाउँदै अघि बढेका कृष्ण प्रसाद सिटौला पक्षले विभाग गठनमा आफ्नो पनि हिस्सा खोजेपछि विवाद सृजना भएको थियो । जसका कारणले विभाग गठन प्रक्रिया नै अवरुद्ध हुन पुग्यो  । 

सुशिल कोइराला पार्टी सभापति रहेका बेला ६०–४० को अशंवण्डालाई करिब करिब वैधानिकता दिलाएका देउवालाई अहिले त्यहि घाँडो भएको छ । अहिले पौडेल पक्षले त्यहि अशंवण्डाको संख्यालाई सिरानि हालेर पार्टी सभापति देउवासँग बार्गेनिङ् गरिरहेको छ । त्यसमाथि सिटौला समूहले भाग खोज्दा संस्थापन अप्ठेरोमा परेको छ ।    

पछिल्लो पटक लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा विलय गराउदै कांग्रेसमा इन्ट्री गरेका विजय गच्छदारले पनि आफ्नो भाग खोजी रहेका छन् । जसले गर्दा विभाग गठनको विषय अझ पेचिलो बन्दै गएको छ । नेपाली कांग्रेसमा २८ विभाग र आधा दर्जन समिति छन् । 

कांग्रेसमा हाल नीति तथा प्रशिक्षण प्रतिष्ठानमात्र क्रियाशिल छ । विभान अनुसार प्रतिष्ठानको संयोजकमा उपसभापति रहने व्यवस्था छ । प्रतिष्ठानको संयोजकमा अहिले उपसभापति विमलेन्द्र निधि छन् । 

कांग्रेसमा संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध, संसदीय, स्थानिय विकास, प्रचार, महिला, तरुण, विद्यार्थी, पेशागत तथा बुद्धिजिवि, सांस्कृतिक, शिक्ष तथा स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, अनुसन्धान तथा अभिलेख, उद्योग व्यापार तथा व्यवसाय, कृषि तथा सहकारी, कानुन, प्रशासन, श्रमिक, आदिवासी जनजाती, अनुगमन तथा मूल्याङ्कन, खेलकुद, प्राकृतिक स्रोत, नेपाली जनसम्पर्क समन्वय, वैदेशिक रोजगार, अपाङ्ग, भूपू सैनिक, दलित र द्वन्द व्यवस्थापन गरि २८ वटा विभाग गरेका छन् । यसअघि ४२ वटा विभाग रहेकोमा हाल घटाएर २८ विभाग बनाइएको हो । 

उता भातृ संस्था तथा शुभेच्छुक संस्थाको हालतपनि दयनिय देखिन्छ । लामो समयदेखि अधिवेशन नहुँदा र पार्टीले स्पष्ट निर्देशन नदिदा कतिपय संस्था निष्क्रिय अवस्थामा छन् भने कतिपय संस्था तदर्थबाट चलेका छन् । १३ वटा भातृ संस्थामध्य अधिकांश संस्थाको अधिवेशन गर्ने समायावधी गुज्रिसकेको छ भने संघीय संरचना अनुसारका संरचनापनि छैनन् । कांग्रेस भित्र कार्यकर्ता उत्पादन गर्ने र्नसरिका रुपमा रहेको नेविसंघ विघठित अस्थामा छ भने तरुण दल ४ जनाको भरमा चल्दै आएको छ ।  

नेपाली कांग्रेसमा नेपाल विद्यार्थी संघ, तरुण दल, दलित संघ, किसान संघ, प्रजातन्त्र सेनानी संघ, आदिवासी जनजाती संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ र नेपाल ठाकुर समाज गरी १३ वटा भातृ संस्था छन् भने आधा दर्जन भन्दा बढी शुभेच्छुक संस्था छन् । सबै संस्था लथालिङ्ग अवस्थामा रहेका छन् । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विभागहरु गठनमा भएको ढिलाई र भातृ संस्थाहरु दयनिय अवस्थामा रहेको स्वीकार्दै अब बस्ने केन्द्रीय कमिटिको बैठकले आवश्यक निर्णय लिने बताए । द नेपालटपलाई प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले भने–कांग्रेसले पार्टीलाई आधुनिक र सुदृढ बनाएर जाने हो भने भातृ संघ संगठन र शुभेच्छुक संगठनलाई नयाँ ढंगले अगाडी बढाउन जरुरी छ । जुन कुराको निर्णय केन्द्रीय कमिटिले लिने कुरामा म ढुक्क छु । 

पौडेल समूहका नेता शेखर कोइरालाले भने– पार्टीलाई सन्तुलित र सबैको भावना समेटेर  अघि बढ्न हामीले पार्टी सभापतिलाई भन्दै आएका छौं । कुन विधि र प्रक्रियाबाट अघि बढ्दा सबै कुराको टुंगोमा पुग्न सकिन्छ त्यो कुरा पार्टी सभापतिले बुझ्ने कुरा हो । जहाँसम्म विभाग गठन र भातृ संस्थाको सन्दर्भ छ यो पार्टी सभापतिको नालायकी पन हो । 

प्रतिक्रिया दिनुहोस्