यात्रुलाई झनै सास्ती दिँदै जेब्रा क्रस



काठमाडौं । राजधानीको अतिव्यस्त स्थानमा पर्छ–न्युरोड क्षेत्र। न्युरोड क्षेत्रमा दिनहुँ सयौँ सवारी साधन गुड्छन् भने हजारौँको सङ्ख्यामा मानिसहरू आवतजावत गर्ने गर्छन् ।

त्यसैले पनि राजधानीको अन्य ठाउँभन्दा न्युरोड व्यस्त स्थान हो। तर, त्यही व्यस्त स्थानभित्र जथाभावी बाटो काट्ने लेन (जेब्रा क्रस) बनाइएको पाइएको छ। न्युरोड गेटदेखि विशाल बजार चोकसम्म ७ वटा जेब्रा क्रस छन्, जुन अन्तर्राष्ट्रिय मापदण्डविपरीत हो ।

शहरी सडकमा कम्तीमा २०० मिटरको दुरीमा जेब्रा क्रस बनाउनुपर्ने अन्तर्राष्ट्रिय नियम छ। तर, न्युरोड गेटदेखि विशाल बजारसम्म ६५० मिटरको दुरीमा ७ वटा जेब्रा क्रस बनाइएको छ । सुन्धाराबाट जाँदा न्युरोड गेट नपुग्दै पहिलो जेब्रा क्रस छ।

त्यसको २० मिटर (गेट कटेपछि) अर्को जेब्रा क्रस छ । त्यस्तै, ५० मिटरमा तेस्रो जेब्रा क्रस छ भने १०० मिटरको दुरीमा चौथो, फेरि ५० मिटरको दुरीमा पाँचौँ, अर्को ५० मिटरको दुरीमै छैटौँ र विशाल बजार चोकमै सातौँ जेब्रा क्रस छ।

यसरी छोटो दुरीमा धेरै जेब्रा क्रस हुँदा झनै उक्त क्षेत्रमा सवारी चाप बढ्दो क्रममा छ। अफिस समयमा उक्त क्षेत्रमा मुस्किलले सवारी साधन ओहोरदोहोर गर्छन्।

उक्त क्षेत्रमा चस्मा पसल सञ्चालन गर्दै आएका १ व्यवसायीका अनुसार यहाँका व्यवसायीहरूले नै आफ्नो सहजताका लागि जेब्रा क्रस बनाएका हुन्। यहाँ बनाइएको जेब्रा क्रसमा कुनै मापदण्ड पूरा नभएको ती व्यवसायी बताउँछन् ।

उनका अनुसार आफ्नो बिजनेसका लागि उक्त क्षेत्रका व्यवसायीले काठमाडौं महानगरका कर्मचारी र ट्राफिक प्रहरीसँग मिलेर विभिन्न सङ्घसंस्था र बैंकहरूसँग आर्थिक सहयोग लिई धेरै जेब्रा क्रस बनाएका हुन्। न्युरोड क्षेत्रको सडक काठमाडौं महागरपालिकाअन्तर्गत हो।

यता, महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यस विषयमा आफूलाई केही थाहा नभएको बताए। उनले भने, ‘कसले बनाएको हो, त्यो पनि थाहा छैन । यो विषयमा बुझ्नै पर्छ ।’

यसरी १ किलोमिटर दुरी पनि नभएको ठाउँमा ७ वटा जेब्रा क्रस किन र कसले कोर्‍यो ? चासोको विषय रहे पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने सामान्य विषय भएको जनाएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनुपर्ने भन्ने नीति नरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र भट्टले द नेपालटपसँग बताए । ‘हाम्रोमा जेब्रा क्रस कति मिटर दुरीमा हुनुपर्ने भन्ने छैन । अनावश्यक ठाउँमा बनाउँदा पैदल यात्रुलाई सास्ती हुन्छ’, प्रवक्ता भट्टले भने, ‘मान्छेहरूको अवतजावत धेरै हुने भएकाले धेरै ठाउँमा जेब्रा क्रस बनाइएको होला ।’

उक्त सडकको बीचमा डिभाइडरसमेत छैन। चाहिने ठाउँमा भन्दा नचाहिने ठाउँमा ट्राफिक प्रहरीले डिभाइडर राख्दै आएको छ।

पुतलीसडक क्षेत्रमा जस्तै न्युरोड क्षेत्रमा डिभाइडर राख्दा सवारीको चाप घट्नेमा सडक विभागको विश्वास छ। महानगरपालिका मातहत रहेकाले न्युरोड क्षेत्रमा सडक विभागको कुनै सम्बन्ध नरहने सडक विभाग, सुरक्षा तथा ट्राफिक एकाईका बेलबहादुर भुजेलले बताए ।

‘उक्त क्षेत्रमा महानगरपालिकासँगको सहकार्यमा ट्राफिक प्रहरीले जेब्रा क्रस बनाएको होला’, भुजेलले भने, ‘यस विषयमा सडक विभागको कुनै सम्बन्ध रहँदैन । महानगरपालिकामा बुझ्नुहोला ।’

मानिस र सवारी साधनको ‘फ्लो’ धेरै हुने भएकाले छोटो दुरीमा धेरै सङ्ख्यामा जेब्रा क्रस राखिएको हुन सक्ने बताउँदै भुजेलले भने, ‘जेब्रा क्रस केही सीमित ठाउँमा राखेर त्यस्तो सडकको बीचमा डिभाइडर राख्दा राम्रो देखिन्थ्यो।’

जेब्रा क्रस देख्नै मुस्किल

जेब्रा क्रस भन्नेबित्तिकै पैदल यात्रीलाई बाटो काट्न भनेर पक्की सडकमा जेब्रा (वनघोडा) जस्तै सेतो–कालो आकारमा रङ गरिएको बुझिन्र्छ । पक्की बाटोहरूमा पोतिएका काला र सेता धर्साहरू नै जेब्रा क्रस पहिचानका आधार हुन् ।

तर, न्युरोडदेखि विशाल बजार चोकसम्मका ७ वटै जेब्रा क्रस खुइलिसकेका छन् । त्यहाँ जेब्रा क्रस देख्नै मुस्किल छ। रङ खुइलिएर छुट्याउन गाह्रो पर्छ। भएका ठाउँमा पनि रङ खुइलिएर देखिनै छाडेपछि यात्रुले चाहेर पनि कसरी बाटो काटून् ?

सबैभन्दा हेलचेक्र्याइँ त हामीकहाँ जेब्रा क्रसमा लगाइने रङ एकाध महिना पनि टिक्दैन । चर्को घाम र बर्खा दुवै अवस्थामा ती खुइलिएर सफाचट भइहाल्छन्। जबकि ७/७ वटा जेब्राक्रस हुँदा एउटा पनि प्रस्ट छैन।

यसरी रङ लगाएको जेब्रा क्रस मेटिनुको कारण के हो ? के कमसल कामले यस्तो भएको हो ? कारण त्यस्तो होइन–काठमाडौंको असीमित धूलो, धुँवा र गाडीहरूको घुइँचोका कारण जेब्रा क्रस चाँडो मेटिने गर्छ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार बढीमा ६ महिनाको अन्तरालमा जेब्रा क्रस रङ रोगन गर्नुपर्छ। नेपालमा भने वर्षको एकचोटि मात्र रङ लगाइन्छ । त्यही पनि सबै ठाउँमा लगाइँदैन । ठाउँ हेरेर रङ लगाउने गरिन्छ।

पैदल यात्रीलाई बाटो काट्न सास्ती

जेब्रा क्रसबाट मात्र पैदल यात्रीले बाटो काट्नुपर्छ। जथाभावी बाटो काट्नाले दुर्घटनासमेत निम्तन सक्छ । तर, ७/७ वटा जेब्रा क्रस हुँदा न्युरोड क्षेत्रमा पैदल यात्रुलाई बाटो काट्नै सास्ती हुने गरेको छ।

जेब्रा क्रस भए पनि यात्रुले जोखिमपूर्ण तरिकाले बाटो काट्नुपरेको छ। पहिलो त जेब्रा क्रसको धर्सा नै नदेखिएपछि सवारी साधनहरू तीब्र गतिमा हुँइकिने गर्छन्। दोस्रो, न्युरोड व्यापारिक क्षेत्र हो। मानिसको चहलपहल धेरै हुन्छ।

पर्याप्त जेब्रा क्रस हुँदा सवारी गति नियन्त्रण गर्न सघाउने नभई पैदल यात्रीलाई उल्टै चालकहरूले नटेर्ने अवस्था छ। जेब्रा क्रस नभएको ठाउँमा पैदल यात्रुलाई बाटो काट्न आकाशे पुल बनाइन्छ। तर, अहिलेसम्म न्युरोड क्षेत्रमा एउटा पनि आकाशे पुल छैन ।

यस विषयमा महानगरपालिकाले कुनै पनि चासो दिएको छैन। त्यति मात्र होइन, न्युरोड क्षेत्रमा जथाभावी पार्किङ गर्ने, ट्राफिक नियम नमान्ने, ध्वनि प्रदूषण गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्