आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन, पिताप्रति आदर प्रकट गरी मनाइँदै 



काठमाडौं : आज कुसे औंसी अर्थात बुवाको मुख हेर्ने दिन । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाइँदैछ ।

आजको दिन ब्राह्मणद्वारा पूजा गरी जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन घरमा राखिएको कुशले वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

Image result for बुवाको मुख हेर्ने दिन

कुशेऔसिको दिनलाइ आज बाबुको मुख हेर्ने दिनको रुपमा पनि मनाइदै छ । यस दिन छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

Image result for कुशे औंशि

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको भीड लाग्ने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्