२०७४ मा हारेका ८ ‘उपप्रधानमन्त्री’ कति सुरक्षित ?



काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन सकिएको ठीक १ वर्षपछि हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनमा पुनः तनहुँ–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका छन् ।

गत मङ्सिरमा सम्पन्न पार्टीको १४औं महाधिवेशनस्थलसमेत नटेकेका पौडेल १७ पटक प्रधानमन्त्रीको दौडमा उत्रिएर पनि सफल नभएका नेता हुन्, जो उपप्रधानमन्त्रीसम्म बने ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक हार बेहोरेका पौडेलले उम्मेदवारी घोषणा गर्दैगर्दा उनलाई त्यसबेला पराजित गर्ने नेकपा एकीकृत समाजवादीका नेता र पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ पनि सोही क्षेत्रका दाबेदार छन् ।

कांग्रेससँगै गठबन्धनमा रहेको नेकपा एसका तर्फबाट श्रेष्ठले समेत सो क्षेत्रमा दाबी गरिरहँदा २ मध्ये कसले टिकट पाउलान् भन्ने अन्योल नै छ। यो अन्योल टुङ्गिएर गठबन्धनका तर्फबाट पौडेल नै उम्मेदवार बने भने यसपटक उनको जित सहज देख्छन्, तनहुँका स्थानीय कांग्रेस नेता–कार्यकर्ता ।

तर अर्काथरी कांग्रेस कार्यकर्ता भने गोविन्दराज जोशीसँगको राजनीतिक लडाइँ (जुन स्थानीय तह निर्वाचनमासमेत देखियो) का कारण पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेलले सहज जित निकाल्न भने कठिन देख्छन् ।

पौडेल मात्र होइन, पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भइसकेका ८ जना नेतालाई २०७४ सालको जनमतले पत्याएन। ती ८ जना उपप्रधानमन्त्रीहरू यसपटक पनि चुनावी दौडमा होमिइसकेका छन् ।

अघिल्लो पटकको हारको बदला लिन मैदानमा उत्रिन लागेका पौडेलजस्तै अर्का नेता हुन्, वामदेव गौतम। २०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतम त्यसबेला एमालेका तर्फबाट प्रत्यासी थिए।

गौतम यसपटक एमाले छाडेर राष्ट्रिय एकता अभियान पार्टी खोलेर माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रिँदै छन्। यसपटक उनी प्युठानमा प्रतिस्पर्धा गर्न तयार छन् । तर गठबन्धन भने गौतमका लागि प्युठान छाड्ने/नछाड्ने निर्णय मात्र होइन, उनलाई गठबन्धनको उम्मेदवार मान्ने/नमान्नेमा समेत अन्योलमा छ ।

गौतम निकटस्थहरू नै उनी एक्लै चुनावी मैदानमा उत्रिए यसपटक पनि हार बहोर्ने निश्चित रहेको बताउँछन् । चुनाव हारेलगत्तै उनी राष्ट्रियसभा सदस्य बनेका छन्। राष्ट्रियसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा प्रतिस्पर्धामा उत्रिँदै गर्दा गौतममा प्रधानमन्त्री बनिहाल्छु कि भन्ने झिनो आस बाँकी नै देखिन्छ ।

गौतमजस्तै अघिल्लो पटकको चुनाव हारेर राष्ट्रियसभा सदस्य बनेका अर्का उपप्रधानमन्त्री हुन् माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । २०७४ को चुनावमा गोरखा–२ मा बाबुराम भट्टराईसँग हारेका श्रेष्ठले कुन क्षेत्रबाट चुनाव लड्ने निश्चित भइसकेको छैन। उनलाई हराएका पूर्वप्रधानमन्त्री भट्टराई माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिन तयार भइसकेका छन्।

दुवैको एउटै निर्वाचन क्षेत्र भएकाले गठबन्धन नै नभए पनि हँसिया–हथौडा चिह्नका यी २ नेताको क्षेत्र व्यवस्थापन नै पहिलो चुनौती देखिन्छ। त्यसमाथि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत चुनावी प्रतिस्पर्धाका लागि गोरखा जाने ‘राजनीतिक हल्ला’ सुरु भइसकेको छ। यो हल्ला सत्य सावित भए गोरखामा तीनै जना नेताको व्यवस्थापनमै सकस देखिन्छ।

अर्का उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि अघिल्लो चुनावमा मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालसँग हारेका नेता हुन् । राप्रपा छाडेर नयाँ पार्टी गठन गरेका थापा आफैँमा यसपटक सो क्षेत्रका कमजोर उम्मेदवार हुन्। यद्यपि थापाले अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्र र निर्वाचन प्रणालीको सहभागिताबारे मुख खोलिसकेका छैनन् ।

नेकपा मालेका ‘सदाबहार’ महासचिव तथा पूर्वउपप्रधानमन्त्री सिपी मैनाली २०७४ सालको चुनावमा समानुपातिक सूचीमा थिए। तर प्रत्यक्षतर्फ १ सिट पनि जित्न नसकेका कारण उनी सांसद निर्वाचित हुनै पाएनन् ।

सत्ता गठबन्धन र वाम गठबन्धन बनाउने चर्चामा समेत नअटाएका मैनाली एमाले विभाजन भएर माले बनेयता प्रत्यक्ष प्रणालीबाट सांसद बन्न सकेका छैनन्। झापा निर्वाचन क्षेत्र भएका मैनालीले पनि ४ मङ्सिरको चुनावमा कहाँबाट र कुन प्रणालीबाट प्रतिस्पर्धा गर्ने भनेर मुख खोलिसकेका छैनन्।

कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा–३ मा राजेन्द्र लिङदेनसँग हारेका नेता हुन्। यसपटक सिटौला सोही क्षेत्रबाट गठबन्धनका उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिँदै छन् । जनमतका आधारमा बलियो मानिएका लिङ्देनको दलले कोसँग गठबन्धन गर्ने भन्ने टुङ्गो लगाइसकेको छैन ।

गठबन्धनबिनै लिङ्देन सोही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएको अवस्थामा भने सिटौलाको सम्भावना बलियो रहेको नेताहरू बताउँछन् । अर्का पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधि पनि २०७४ को चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भए । धनुषा–३ मा महतोसँग हारेका निधि यसपटक पनि सोही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

महतोसँगै एमाले नेतृ जुलीकुमारी महतोले समेत सो क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरिरहेकी छिन्। मधेस केन्द्रित दलमध्ये तुलनात्मक रुपमा महतोको पार्टीको सङ्गठन पकड बलियो मानिएको सो क्षेत्रको प्रतिस्पर्धा पनि यसपटक रोचक बन्ने देखिन्छ। २०७४ सालको चुनाव हारेका अर्का उपप्रधानमन्त्री तथा कांग्रेस नेता गोपालमान श्रेष्ठ यसपटक पनि स्याङ्जा–२ बाट प्रतिस्पर्धाको तयारीमा छन्।

एमाले नेतृ पद्मा अर्यालसँग पराजित उनी यसपटक पनि अर्यालसँगै प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। एमालेको पकड मानिएको सो क्षेत्रमा श्रेष्ठलाई चुनाव जित्न गठबन्धन दल माओवादी केन्द्रको मत निर्णायक हुने देखिन्छ।

हारको बदला लिने तयारीमा १२ पूर्वमन्त्री 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन गराउने १२ जना तत्कालीन बहालवाला मन्त्रीले पनि पराजय भोगेका थिए। यसपटक उनीहरू अघिल्लो हारको बदला लिने अभियानका साथ चुनावी तयारीमा जुटेका छन्।

२०७४ सालमा बहालवाला सूचना तथा सञ्चारमन्त्रीका हैसियतमा सिन्धुपाल्चोक–१ बाट चुनाव हारेका कांग्रेस नेता मोहनबहादुर बस्नेतदेखि तत्कालीन राप्रपा प्रजातान्त्रिक र हाल कांग्रेस नेता सुनिल थापासम्म यसपटक जित्ने अभियानमा छन्।

काठमाडौं–३ बाट पराजित कांग्रेस नेतृ अम्बिका बस्नेत (शहरी विकास तथा गरिबी निवारणमन्त्री), काठमाडौं–७ बाट पराजित महिला तथा बालबालिकामन्त्री रहेका राप्रपाका विक्रमबहादुर थापा, बैतडीका कांग्रेस नेता (वाणिज्य राज्यमन्त्री), नरबहादुर चन्दसमेत यसपटक चुनावको तयारीमा छन् । तर बस्नेतबाहेकका यी २ अनुहारको टिकटको चर्चा भइसकेको छैन ।

तत्कालीन सहकारी तथा गरिबी निवारण राज्यमन्त्री रहेका कांग्रेस नेता चम्पादेवी खड्का, कानुन राज्यमन्त्री दिलमान पाख्रिन र अर्थराज्यमन्त्री उदयशमशेर राणा पनि चुनावी तयारीमा छन् ।

यसैगरी तत्कालीन स्वास्थ्यमन्त्री राप्रपा प्रजातान्त्रिकका दीपक बोहरा, श्रममन्त्री कांग्रेस नेता फर्मुल्लाह मन्सुर, बिनाविभागीय राज्यमन्त्री माओवादीका सत्यनारायण भगत र भूमिसधारमन्त्री रहेका कांग्रेसका गोपाल दहित पनि चुनावी तयारीमा जुटिसकेको बताउँछन् ।

यीमध्ये कतिजनाले आगामी ४ मङ्सिरको चुनावमा बाजी मार्ने हुन्, त्यसको छिनोफानो भने चुनावी गठबन्धनको अवस्था र जनमतले मात्र निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्