उत्पादनमा दोहोरो चरित्र : नीतिमा स्वदेशी, प्राथामिकतामा विदेशी



काठमाडौं । स्वदेशी उत्पादनलाई वृद्धि गरी देशलाई आर्थिक समृद्धि बनाउने नीति सरकारको छ। स्वदेशी उद्योगलाई प्रवद्र्धन गरी मुलुकलाई आर्थिक समृद्धि बनाउने भनी सरकारले हरेक बजेट वक्तव्यमा उल्लेख समेत गरेको पाइन्छ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यको ४९ नम्बर बुदामा उल्लेख छ, नेपाली उत्पादनको वुद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गरिनेछ।

यस्तै ५० नम्बर बुदामा स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउन आप्mनै उत्पादन आफै उपभोग अभियान सञ्चालन गरिने उल्लेख छ । साथै सरकारी तथा सार्वजनिक निकायहरूमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था समेत मिलाइने भनिएको छ।

बजेट वक्तव्य सरकारी नीति नियममा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्वदेशी उत्पादन प्रयोग गर्ने उल्लेख गरेता पनि सरकारी कार्यालयमा नै स्वेदशी भन्दा विदेशी वस्तुले प्राथामिकता पाइएको पाइन्छ। सरकारी कार्यालयमा छिर्दा सबै जस्तो कार्यालयमा स्वदेशी उत्पादन भन्दा विदेशबाट आयात भएका काठका टेबल कुर्सीको प्रयोग हुने गरेको पाइने उद्योगी व्यवसायीको बताउँछन्।

सरकारले बजेट वक्तव्यमा सरकारी नीतिमा उल्लेख गरे अनुसार सरकारी कार्यालयमा मात्र स्वदेशी उत्पादनले प्राथामिकता पाउने हो भने उद्योगले धेरै राहत पाउने नेपाल फर्निचर तथा फर्निसिङ महासंघका अध्यक्ष सुजिल श्रेष्ठ बताउँछन् । सरकारी भाषामा मात्र साना तथा मझौला उद्योग तथा व्यवसायीहरू प्रोत्साहन गर्ने लेखिएको छ कार्यान्वन लागु नभएको उनको गुनासो छ।

सरकारको नीतिगत समस्याका कारण नै स्वदेशी फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायीले विदेशी वस्तुसँग प्रतिस्प्रर्धा गर्न नसकेको उनको भनाइ छ। फर्निचर उद्योगका लागि ९० प्रतिशत कच्चा वस्तु स्वदेशमै उपलब्ध छ।

उनले भने,‘ सरकारका नीतिगत समस्याका कारण नै साना उद्योगी व्यवसायीले सरकारसँग भएको काठ खरिद गर्न पाउँदैन। सरकारसँग काठ खरिद गर्न नपाउँदा सस्तो काठ महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ।, ‘ अध्यक्ष श्रेष्ठले भने,‘ काठ व्यापारीसँग खरिद गर्दा हामीलाई लागत बढी पर्छ। लागत बढी लाग्ने हुँदा विदेशी वस्तुसँग स्वदेशी उद्योगी व्यवसायीलाई प्रितिस्पर्धा सक्दैनन्।’

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सरकारले सरकारी कार्यालयमा अनिवार्य रूपमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागु गर्नुपर्ने उनको भनाइ छ । जसले गएको फर्निचर तथा फर्निसिङ सामग्रीको आयात घट्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । यस्तै नेपाल फर्निचर तथा फर्निसिङ् संघका निर्वतवान रुपेश प्रधान भन्छन्,’ सरकारका नीति समस्याका कारण नै स्वदेशी उद्योग व्यवसायीले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको हो।

सरकारले नीति रूपमा सहज गरी दिने हो भने स्वदेशी उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने प्रधान बताउँछन्। उनले भने, गुणस्तर कुरा गर्ने हो भने, विदेशी वस्तु भन्दा हामप्रो स्वदेशी फर्निचर तथा फर्निसिङ सामग्री धेरै गुण राम्रा छन्। सरकारसँग सिधै काठ किन्न नपाउने हुँदा लागत बढी पर्दा स्वदेशी उत्पादन महँगो हुन्छ।’ तर, ठिकाउको कुरा गर्ने होभ ने विदेशी काठ भन्दा स्वदेशी काठ निकै बालियो हुने निवर्तवान अध्यक्ष प्रधानको भनाइ छ।

स्वदेशी फर्निचर महँगो पर्ने हुँदा बजारमा विदेशी फर्निचरका सामग्री विक्री वितरण हुने गरेको उनले बताए। सरकारी कार्यालयमा मात्र स्वदेशी उत्पादनलाई प्रयोग गर्ने हो स्वदेशी उद्योगहरूलाई सहज हुने उनको भनाइ छ। स्वदेशी सामग्री राम्रो हुँदा हुँदै पनि स्वदेशी उत्पादन राम्रो हुदैन भन्ने गलत धारणका कारण स्वदेशी उत्पादनले प्राथामिकता नभएको नेपाल फर्निचर तथा फर्निसिङ् संघका अध्यक्ष शुभेन्द्र जोशी बताउँछन्।

गुणस्तरको कुरा गर्दा बाहिरबाट आयात हुने फर्निसिङ् र फर्निचर भन्दा स्वदेशमै उत्पादन हुने फर्निसिङ् र फर्निचरमा कुनै कम नरहेको उनको भनाइ छ। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने भने पनि स्वदेशी उद्योगबाट उत्पादन फर्निसिङ् तथा फर्निचरका सामग्री सरकारी कार्यालयमा नै प्रयोग हुने उनले बताए।

सरकारले स्वदेशमा उत्पादन भएका सामग्री मात्र सरकारी कार्यालयमा प्रयोग गर्ने नीति ल्याइ दिने हो भने फर्निसिङ् तथा फर्निचर उद्योग धेरै फस्टाउने अध्यक्ष जोशी बताउँछन्। स्वदेशी उत्पादनको प्रयोग हुँदा स्वदेशमै धेरै रोजगारीको सिर्जना हुने उनको भनाइ छ।

अध्यक्ष जोशी भन्छन्,‘ विगतमा स्वदेशी उत्पादनमा गुणस्तर राम्रो नहुने भन्दै ठुलो होटल रेष्टुरेन्टहरूमा स्वदेशी कार्पेट स्वदेशी फर्निचर कम प्रयोग हुने गथ्र्याे। पछिल्लो समय स्वेदशी कार्पेट फर्निचर हुने गरेको छ ।’ स्वदेशी सामग्रीमा पछिल्लो समय गुणस्तरमा धेरै सुधार आएको उनको भनाइ छ।

यसैगरी उनले फर्निचर तथा फर्निसिङको सामग्री विलासिताको वस्तु नभएर आवश्यकता वस्तु भएको बताए । घर, अफिस देखि अस्पतालमा समेत नभइ नहुने वस्तु हो । स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्न सरकारले सरकारी कार्यालयमा अनिवार्य रूपमा स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति ल्याउन आवश्यक रहेको अध्यक्ष जोशी बताउँछन् ।

जोशी भन्छन्,‘ सरकारले हामीलाई एउटा मापदण्ड बनाइ दिए हुन्छ सो अनुसार हामी हाम्रो उत्पादन दिन तयार छौँ । गुणस्तर कुनै कम गर्ने हुन दिदैनन् । सामग्रीको विक्री वितरण गर्ने गर्दा हामीले वारेन्टी दिने होइन सिधै ग्यारेन्टी दिन्छु । हाम्रो सामान विग्रेछ भने सामान नै परिर्वतन गरी ग्राहकलाई नयाँ सामान दिएर पठाउने गरेको अध्यक्ष जोशीको दावी छ ।

वन तथ वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काप्mलेले सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्न नीति रहेको बताए। सरकारी नीति भन्दा निजी उद्योगी व्यवसायीहरूको एक आपसमै समस्या हुँदा साना काठ उद्योगी व्यवसायी मर्कामा पर्ने गरेको पाइएको प्रवक्ता काफ्ले बताउँछन्।

तथ्याङक विभागले सार्वजनिक आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय औद्योगिक सर्वेक्षणका अनुसार नेपालभर उत्पादनमुलुक फर्निचरको संख्या ६ हजार ६ सय ९६ वटा छन् । उत्पादन मुलुक काठ उद्योग र कर्प उद्योगको संख्या भने १ हजार १६९ वटा छन्। उत्पादन मुलुक फर्निचर उद्योगले नेपालको अर्थतन्त्रमा ८ अर्ब ४ करोड रुपैयाँ बराबरको मूल्यअभिवृद्धि गरेका छन्।

त्यसैगरी काठजन्य तथा कर्प उद्योगले भने नेपालको अर्थतन्त्रमा ११ अर्ब ५ रुपैयाँ बराबरको मूल्यअभिवृद्धि गरेका छन्।विभागको तथ्याङ्क अनुसार २०७८/०७९ मा काठ मात्र विदेशबाट ७ अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको आयात भएको छ । फर्निचर र फर्निर्सिङ १० अर्ब ३७ करोड ९४ लाख ९५ हजार रुपैयाँको आयात भएको छ।

काठ फर्निचर र फर्निर्सिङ गरी १७ अर्ब ८२ करोड ७३ लाख ७४ हजार रुपैयाँको आयात भएको छ। विभागको तथ्याङक अनुसार आर्थिक वर्षका २०७७/०७८ मा काठ ७ अर्ब ८८ करोड ५८ लाख ५७ हजार रुपैयाँको आयात भएको भने फर्निचर र फर्निर्सिङ ७ अर्ब ३० करोड २ लाख ३२ हजार रुपैयाँको आयात भएको थियो।

प्रतिक्रिया दिनुहोस्