आफैंले टिपरमा आगो लगाए, आफैंले दिए प्रहरीलाई सूचना



काठमाडौं । मंगलबार बिहान ५ बजेतिर दाङको घोराही उपमहानगरपालिका–३ कुइरेपानीको बबई खोलाको पुल नजिक एउटा टिपरमा आगजनी भयो । गोग्लीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको खाली टिपरमा आगजनी भएको हो ।

आगजनीपछि टिपर धनीले प्रहरीलाई फोन गरेर सूचना दिए । टिपरका चालक र सहचालकलाई भित्रबाट झारेर बन्दकर्ताले आगजनी गरेर फरार भएको सूचना दिइएको थियो । ७ साउनमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार साना दलले नेपाल बन्दको घोषणा गरेको थियो ।

टिपरमा बन्दकर्ताहरुले आगजनी गरेको सूचना पाउनासाथ प्रहरी चौकी गोग्ली र वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी खटियो । नभन्दै उक्त ठाउँमा टिपरमा आगो लागिरहेको थियो । दमकलसहित घटनास्थल पुगेका प्रहरी टोली आगो निभाउन थाले । टिपर पूर्ण रुपमा जलिसकेपछि आगो नियन्त्रणमा आयो ।

त्यसपछि दाङ प्रहरी अनुसन्धानमा जुट्यो । टिपरमा आगो लगाउने समूह को थियो ? भनेर लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नलप्रसाद उपाध्याय आफैंले घटनाबारे चासो दिए । तत्काल घटनामा संलग्न व्यक्तिको खोजी गर्न भन्दै डीआईजी उपाध्यायले जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेलाई निर्देशन दिए ।

त्यसपछि टिपर चालक र सहचालकलाई कार्यालयमा बोलाएर एसपी काफ्लेले सोधपुछ गर्न थाले । जतिबेला चालक र सहचालकले भने चार÷पाँच जना युवाको समूह आएर गाडीको अगाडिको भागमा आगो झोसेर भागेको बयान दिए । तर, उनीहरुले टिपरमा आगो लगाएको खबर प्रहरीलाई दिएका थिएनन् ।

टिपरमा आगो लगाएको प्रत्यक्षदर्शी रहेका उनीहरुले प्रहरीलाई किन सूचना नदिएको भनेर एसपी काफ्लेले सोध्दा यथार्थ कुरा बोल्न सकेनन् । घटना शंकास्पद लागेपछि प्रहरीले थप सोधपुछ गर्दै गयो– अनि अन्तिममा आएर चालकले वास्तविक कुरा बोले । प्रहरी आफैं अचम्ममा पर्यो ।

‘गाडी पुरानो भयो र मर्मत गर्दा धेरै खर्च हुने थाल्यो भनेर साहुले नै आगो लगाउन लगाएको कुरा चालकले खुलाए,’ एसपी काफ्लेले भने, ‘टिपर जलाएर बीमा दाबी गर्ने आफ्नो योजना अनुसार चालक र सहचालकलाई टिपरधनीले निर्देशन दिएको खुलेको छ ।’

विप्लव लगायतका दलहरूले बन्दको आह्वान गरेपछि अघिल्लो दिन नै आगो लगाउने उद्देश्यले ग्यारेजबाट गाडी झिकेको तथ्य समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बन्दको २ दिनअघि उक्त टिपर मर्मतको लागि भन्दै ग्यारेजमा राखिएको खबर प्रहरीलाई पहिला नै आएको थियो ।

गाडी पुरानो भएको र बिग्रिएपछि मर्मत खर्च धेरै आउन थालेपछि टिपर धनीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको एसपी काफ्लेले बताए । साहुको निर्देशन अनुसार चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले उक्त टिपरमा डिजेल खन्याएर आगो लगाएको खुलेको हो ।

चालक र सहचालकको बयानपछि प्रहरीले टिपरधनी धनेश्वर भण्डारीलाई समेत पक्राउ गरेको छ ।

टिपर जलाएर बीमा दाबी गर्ने आफ्नो योजना अनुसार चालक र सहचालकलाई आगो लगाउन निर्देशन दिएको टिपरधनी भण्डारीले प्रहरीसमक्ष बयान दिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

घोराही उपमहानगरपालिक–१८ नवलपुरका टिपरधनी ४१ वर्षीय भण्डारी, चालक ३२ वर्षीय चौधरी र सहचालक २६ वर्षीय चौधरीविरुद्ध प्रहरीले आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको एसपी खत्रीले बताए ।

आपराधिक लाभ कसुरमा मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २९ को दफा २५३ को उपदफा १ र २ बमोजिम सोही दफाको ३ (ग) बमोजिम आपराधिक लाभ तथा आगजनी गरेबापत १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्