अनुसन्धानमा भावी ‘चिफ’को दौडधुप



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग देशको एक मात्र आन्तरिक तथा बाह्य गुप्तचरी निकाय हो । यस गुप्तचर विभागको प्रमुख छन् यदुलाल खरेल । २१ पुस २०७८ मा सरकारले खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको थियो । उनै खरेलको ७ महिने कार्यकाल आगामी २८ भदौमा सकिँदै छ ।

खरेलको कार्यकाल सकिन लागेपछि प्रधानमन्त्री कार्यालय मातहत रहेको गुप्तचरको नयाँ प्रमुख अर्थात् मुख्य अनुसन्धान निर्देशक नियुक्तिका लागि गृहकार्य भएको छ । हालका गुप्तचर प्रमुख खरेलले अवकाश पाउने दिन नजिकिएसँगै उनको ठाउँमा सरकारले नयाँ प्रमुख नियुक्तिको तयारी थालेको हो ।

गोप्य सूचनामा पहुँच हुने भएकाले गुप्तचर प्रमुख नियुक्तिमा ठूला नेताहरूको चासो हुने गर्छ । अझ विदेशीले समेत यस्तो चलखेल गर्ने गरेका छन् । यस्तै चलखेलले पछिल्लो समय कमजोर बनेको गुप्तचर विभागको नयाँ नेतृत्व चयनमा यस पटक पनि ठूलै शक्ति सङ्घर्ष हुने आँकलन भइरहेको छ ।

गुप्तचर विभागमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी)मध्येबाट मुख्य अनुसन्धान निर्देशक नियुक्त हुनेछन् । हाल गुप्तचर विभागमा २ जना एआईजी छन्- हुतराज थापा र ओम जोशी । ५ पुस २०५३ मा शाखा अधिकृत स्तरबाट सेवा प्रवेश गरेका थापा र जोशी २६ साउनमा एआईजीमा बढुवा भएका हुन् ।

एआईजीको एक मात्र दरबन्दी रहेको गुप्तचरमा २ जनाबीच कसलाई बढुवा गर्ने भन्ने विवादपछि एक दरबन्दी थपेर २ जनाको बढुवा गरिएको थियो । २६ साउनमा अनुसन्धान निर्देशक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थापा र जोशीमध्ये १ जना २९ भदौमा विभागको प्रमुख हुनेछन् ।

वरीयता क्रममा क्रमशः पहिलो र दोस्रो नम्बरमा रहेका थापा र जोशीलाई एआईजीमा पनि सोही वरीयतामा बढुवा गरिएको हो । पहिलो नम्बरमा बढुवा भएकाले थापालाई गुप्तचर विभागको नेतृत्व दिने पक्षमा समेत सरकार छ । त्यसैले खरेलको उत्तराधिकारी बन्ने सम्भावना थापाको बलियो छ ।

प्रधानमन्त्री कार्यालय निकट स्रोतले दिएको जानकारीअनुसार थापालाई गुप्तचर विभागको नेतृत्व दिने निष्कर्षमा सरकार पुगेको छ । हालका प्रमुख खरेल पनि थापालाई नै प्रमुख बनाउनुपर्ने पक्षमा रहेका बताइन्छ । हाल थापा प्रशासन विभाग प्रमुखको रूपमा कार्यरत छन् ।

तुलनात्मक रूपमा व्यावसायिक पनि भएकाले ३ वर्षका लागि उनी विभागको प्रमुख हुने सम्भावना रहेको स्रोत बताउँछ । कमाण्डिङ क्षमता राम्रो भएका थापा वरीयतामा अगाडि रहेकै कारण गुप्तचर विभागको नेतृत्व लिन सक्षम मानिने स्रोत बताउँछ ।

गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच विभाग प्रमुखमा थापालाई ल्याउनेगरी सहमति भएको बालुवाटार स्रोतले बतायो ।

त्यस्तै, थापापछि पनि जोशी विभागको प्रमुख हुने सम्भावना रहन्छ । जोशीको घर सुदूरपश्चिम हो । प्रधानमन्त्री देउवाको समेत घर सुदूरपश्चिम डडेल्धुरा भएका कारण देउवाले जोशीलाई अगाडि ल्याउन पनि सक्ने आँकलन गरिएको छ । विभागमा जोशीलाई पनि सक्षम र व्यावसायिक अधिकारीका रूपमा हेरिन्छ ।

डीआईजी बढुवाको समेत दौडधुप

विभागका अनुसन्धान निर्देशक पदमा बढुवाको पनि दौडधुप सुरु भइसकेको छ । हाल ३ डीआईजीको पद रिक्त छ । २८ भदौसम्म विभागमा ६ वटा डीआईजीको पद रिक्त हुनेछ । डीआईजीका लागि अहिलेदेखि नै लबिङ सुरु भएको हो । ३ दिनका लागि एआईजी भएका कुलदीप थापा ५ वर्षे पदावधिको कारण ४ साउनमा अनिवार्य अवकाशमा गएपछि एक पद रिक्त भएको थियो । त्यस्तै, सरकारले थापा र जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेपछि ३ पद रिक्त भयो ।

१३ भदौमा २ जना डीआईजीले अवकाश पाउँदै छन् । हरिहर शर्मा पौडेल र सुनिल ढकालले डीआईजीको ५ वर्षे सेवा अवधिका कारण अवकाश पाउनेछन् । त्यस्तै, २८ भदौमा हालका विभाग प्रमुख खरेलले अवकाश पाएपछि उनको ठाउँमा १ जना डीआईजी एआईजीमा बढुवा हुनेछन् ।

त्यसपछि विभागमा ६ वटा डीआईजीको पद रिक्त हुन्छ । ६ डीआईजीका लागि दर्जनौँ सहअनुसन्धान निर्देशक (एसएसपी) प्रतिस्पर्धामा छन् । रामप्रसाद दास, ओम खड्का, भीमबहादुर बुढाथोकी, प्रजेशसिंह हमाल, किशोर श्रेष्ठ, सञ्जय यादव, इन्द्रसिंह लामालगायत प्रथिस्पर्धामा छन् ।

यसलगत्तै विभागमा तल्लो तहसम्म बढुवा खुल्नेछ । अझै उच्च पदमा लामो समयदेखि पद रिक्त राख्दा तल्लो तहसम्म त्यसको असर परेको थियो । सहअनुसन्धान निर्देशकहरू अनुसन्धान निर्देशकमा बढुवा भएसँगै उपअनुसन्धान निर्देशक (एसपी)हरूलाई एसएसपी बन्ने बाटो खुल्छ । एसएसपी प्रतिस्पर्धाका लागि एसपीहरू विष्णुमणि आचार्य, उर्मिला पोखरेल, अर्जुन भण्डारी, नरेन्द्रप्रसाद दाहाल, योगेन्द्रसिंह केसी, रिवेन गच्छदारलगायत छन् । उनीहरू विभागमा सिनियर एसपी हुन् ।

प्रतिक्रिया दिनुहोस्