बंगलादेशसँग अंक बाड्दै नेपाल दोस्रो चरणमा



काठमाडौं : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक अन्तर्गत महिला फुटलबको लागि एसियाको प्रारम्भिक छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग पनि बराबरी खेलेको छ ।

समूह सी मा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपनि नेपाल तेस्रो हुनेमध्ये उत्कृष्ट दुई भित्र पर्दै दोस्रो चरणका लागि छनोट भएको छ ।

म्यानमारमा भइरहेको समूह सी अन्तर्गत सबै तीन खेलमा बराबरी खेलेको नेपाल ३ अकंका साथ तेस्रो भएको हो । तर पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेका चार समूहको तेस्रो हुनेमध्ये नेपाल उत्कृष्ट दुईमा पर्दै दोस्रो चरण पुगेको हो ।

यागुनस्थित थुवुन्ना रंगशालामा भएको खेलमा नेपालकालागि कप्तान निरु थापाले १७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर बंगलादेशका लागि अखिल खातुनले इन्जुरी टाइममा गोल गरेपछि नेपाल जितबाट बन्चित भएको हो ।

नेपालले भारत र म्यानमारसँग १–१ को बराबरी खेलेको थियो ।

म्यानमार र भारतले भने दुई खेलबाट ४–४ अंक जोडेका छन् । आजै हुने यस खेलमा जस्तो नतिजा आएपनि दुवै टोली शीर्ष दुईमा रहँदै दोस्रो चरणमा पुग्नेछन् ।

पहिलो चरणमा सहभागि १८ टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ । चार समूहकाविजेता र उपविजेता सिधै दोस्रो चरण पुग्नेछन् भने तेस्रो हुने उत्कृष्ट दुई टोलीले पनि दोस्रो चरणमा प्रवेश पाउँनेछ ।

पहिलो चरणमा बाट छानिएका १० र वरियताका आधारमा सिधै दोस्रो चरणमा  स्थान पाएका भियतनाम र उज्वेकिस्तानसहित १२ टोलीबीच दोस्रो चणमा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको खेल अप्रिल २०१९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्