गणेश चौथी र तीजको सेरोफेरो



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । हामी हिन्दुमार्गीहरूका लागि कुसे औँसीपछिको अर्को चाड महिलाहरूको एकलौटी पर्व हरितालिका वा भनौँ तीज र त्यसकै भोलिपल्ट व्रत पारायण गर्दै अगस्ती अघ्र्य दिने सोही दिन गणेश चतुर्थी पर्व यसै १५ भदौमा परेको छ।

तीज समापन पर्व ऋषिपञ्चमी व्रत भने त्यसको पनि भोलिपल्ट सप्तर्षिपूजा १६ गते परेको छ, जुन दिन बिहानै आफ्नो मासिक धर्म रजस्वलामा भएको अन्जान श्पृश्य दोषबाट जोगिन बिहानै नदीमा स्नान गर्ने, ३६५ अपामार्ग प्रयोग गर्ने, दिउँसो समूह मिली पूजा गर्ने र खानामा चोखो गर्दै एक छाक मात्र खाने गरिन्छ।

जे कामको थालनीपूर्व पनि श्री गणेशको सम्झना आवश्यक हुन्छ । गणेश पूजाका अग्राधिकारी नै हुन्, उनको जन्म तिथिलाई गणेश चौथीका नामले पुकारिन्छ जुन १५ गते परेको छ।

गणेश उपासनाको मूल मन्त्र यस्तो छ :
ॐ एक दन्ताय विद्महे बक्रतुण्डाय धीमहिः तन्नो दन्ती प्रचोेदयात् । सजिलो मन्त्रः ॐ गं गणपतये नमः तनाव, क्रोध, आवेग एवं रक्तचाप र अशान्ति, कलहका कारक मङ्गल ग्रहको दोष निवारण गर्नु छ भने पनि श्री गणेशको उपासना गर्नुपर्ने हुन्छ । २१ वटा मङ्गलबारको व्रतले मङ्गलदोष निवारण हुन्छ ।

ज्योतिषशास्त्रअनुसार जन्मकुण्डलीमा मङ्गलदोष, बालग्रह, अरिष्ट शान्ति, त्रिभागी एवं योगिनी दशा शान्ति गर्न पनि मङ्गलबार श्री गणेशको विशेष पूजा आराधना गर्नुपर्ने हुन्छ । २१ दुबो, २१ लड्डु, रातो वस्त्र, रातो फूलसहित गणेशजीको उपासना गर्नाले मानिसको स्थुल शरीर र यसैको सूक्ष्म शरीर मनको विकार नास हुन्छ । व्रतमा गहुँको परिकार र सख्खरको सेवन राम्रो मानिन्छ ।

यसो गर्दा शरीरका विकार नास भई तेज वृद्धि हुन्छ। आयुर्वेदशास्त्रको पनि यही मत छ, तमाम विघ्न बाधा हटाई आपूmले सम्मान चाहनेले श्री गणेशको हरदम आराधना गर्नुपर्छ ।

बालकहरूलाई सर्वप्रथम शिक्षा आरम्भ गर्दा श्री गणेशाय नमः भनी सरस्वतीको पूजासाथ अध्ययन सुरु गराइन्छ भने गणेशको पूजामा बेलपत्र अर्पणलाई निषेध मानिएको छ। विध्नेश, हेरम्ब, गजानन, सुर्पकर्ण, विनायक, लम्बोदर, एक दन्त र गणेश गरी यिनका ८ वटा नाम मुख्य छन् भने गणेशका हजार नाम लिई मन्त्र जप र हवन कार्य गर्नाले जुनसुकै कडा रोग पनि निको हुने विश्वास गरिन्छ।

सबैजसो पूजामा अग्रपूजाका अधिकारी श्री गणेशलाई नै बनाउने त स्वयं शङ्कर नै हनुहुन्छ, जसलाई महादेव भनिन्छ। जीवनमा सुख, सौभाग्य, कीर्ति, यश, पराक्रम, धन र मनोबल प्राप्त गर्न गणेशकै आशीर्वाद आवश्यक हुन्छ। मानिसको शरीर भनेको पञ्चतत्वको जड पिण्ड हो। चित्त् शक्ति आत्माको प्रवेशले यसलाई चलायमान गरेको हुन्छ।

प्रकृतिका ५ तत्वले बनेको शरीर संरक्षणमा पाञ्चायन देवता शिव–विष्णु–देवी–सूर्य र गणेशको प्रमुख देन रहेको हुन्छ । शिव ज्ञानका प्रतीक, विष्णु शरीर सञ्चालनका प्रतीक, देवी शक्तिकी प्रतीक, सूर्य आत्माको प्रतीक र गणेश वाक् शुद्धि भनौँ वाणीका प्रतीक हुन् । मानवले कोमल हृदय र मधुर वाणीका लागि गणेशको सेवा गर्नुपर्ने शास्त्रकारहरूको तर्क छ।

पूजा वा उपासना भन्नु मनको एकाग्रता नै हो, निष्ठा नै हो । एकाग्र मनले लगनशील भएर गरिएको कुनै पनि कार्य सफल हुन्छ, पूर्ण हुन्छ। स्वच्छ र पवित्र मनले गरिएको सात्विक सङ्कल्प र दृढ निश्चयले मानिसले जस्तोसुकै कठिनतम् कार्य पनि सजिलै गर्न सक्छ। आत्मबल, मनोबल प्राप्त हुने देवदेवीको उपासनाले मानिसका आवश्यकता भुक्ति र मुक्ति दुवै मिल्छ।

मनको व्यापार हटाएर शुद्ध, सात्विक भई पूजा, उपासनामा बस्नाले मानिसलाई आनन्द प्राप्त हुन्छ । अन्य विषयवस्तु विकारहरूबाट प्राप्त हुने आनन्द दिगो हुँदैन, सात्विक निष्ठाबाट प्राप्त हुने आनन्द बढी दिगो हुन्छ । आनन्दको अर्को नाम नै भगवान् नै हो, चाहे गणेश, शिव, विष्णु, बुद्ध वा अल्लाह जे भने पनि ।

निश्चित नियम, आचरण र सङ्कल्पका साथ सेवामा समर्पित हुन प्रेरणा दिने पूर्वीय धर्म, संस्कृतिकोे जरो हाम्रो देशमा वैदिक चिन्तनको अथाह भण्डार रहेको छ । पश्चिमी संस्कृतिका मानिसहरू यस्तो स्रोत केन्द्रको अध्ययन, अनुसन्धान गर्र्दै छन् ।

भाद्र शुक्ल चतुर्र्थीलाई गणेशको जन्म दिनको रूपमा मान्ने चलन छ । यस दिनलाई शिवा भनिन्छ । माघ शुक्ल चौथीलाई शान्ता भनिन्छ र हरेक मङ्गलबारको चौथीलाई भने सुखा भनिन्छ । यी यस्ता दिनहरू विशेष वन्दनीय छन् । अन्य दिनमा गरिएका हजाराँै पुण्य कर्म बराबरको फल यस्ता दिनको एकै क्षणले प्राप्त हुन्छ ।

कल्पअनुसार गणेशजीकोे उदयबारे फरक मत छ । सूर्यपुत्र शनिको दृष्टि पर्दा उनको शिरच्छेदन भई श्री विष्णुको हातबाट हात्तीको टाउकोद्वारा जियाइएको प्रसङ्ग पनि छ । कतै माता पार्वतीले आफ्नो शरीरको मयलबाट गणेशको उदय गराइएको र पछि पिता शिवको कोेपभाजन हुँदा शिरच्छेदन भएको अनि माता पार्वतीको शोक निवारण गर्न हात्तीको टाउकोले उनलाई जियाएको कथा प्रसङ्गहरू पनि भेटिन्छन् ।

पछि गणेशजीकै व्रतबाट पार्वती माता र सबै देवताको कष्ट निवारण भएका प्रसङ्गहरू पुराणहरूमा पाइन्छन् । गणेशका ठूला कानले हामीलाई अरूको कुरा धेरै सुन्नपर्ने सङ्केत गर्छन् तर प्रतिक्रिया दिने कम गर्नुपर्छ ।

उनमा भएको ठूलो पेटले हामीले जति खाए पनि कहिल्यै नअघाउने तर थोरै र सात्विक आहार गर्नुपर्ने सङ्केत मिल्छ । उनका आँखा साना छन्, हात्तीका आँखा साना भए पनि सानो सियो पनि उसले सजिलै देख्न सक्छ । त्यस्तै, हात्ती हेर्दा आकारले ठूलो छ तर एउटा समान्य माउतेको अधीनमा हुन्छ ।

यसको तात्पर्य, हामी सबैले अरूलाई ठूलो देख्नुपर्छ, समाजमा आफू सानै देखिएर पनि प्रगतिपथमा अग्रसर हुन सकिन्छ भन्ने सङ्केत हो । बडप्पन र मपाईंत्वले संसार ध्वस्त हुन सक्छ भन्ने हो । बाङ्गो सूँढको प्रतीक के हो भने, सबैलाई समालोचनात्मक, समीचीन रूपमा हेर्नुपर्छ । आग्रह, पूर्वाग्रहको दृष्टिले हेर्नुहुँदैन भन्ने सङ्केत सूँढबाट मिल्छ ।

गणेशका आँखा साना छन् तर संसार हेर्ने दृष्टि साह्रै फराकिलो छ । बाहन मुसो हो, यसले भविष्यका रकेट, यान, महँगा र सजिएका सवारी साधनप्रति व्यङ्ग्य गरेको छ, मोहलाई नास गर्ने सङ्केत छ । आफ्नोे ह्याउ हेरेर काम गर्ने, घाँटी हेरी हाड निल्ने, अरूको धेरै नक्कल नगर्ने, सादा जीवन उच्च विचारको यसले सङ्केत गर्छ । गणेशको शरीरमा भएको मालाले मानिसले गर्ने सुकर्मको गन्ती गर्न सिकाउँछ।

हामीले हरेक दिन कति राम्रो काम गर्न सकियो, त्यही नै हाम्रो सम्पत्ति होे भन्ने सिकाउँछ। देवताका गलामा लागेका अक्ष मालाले हामीलाई पुण्यलाई अक्षय गर्न सिकाएको हो।
गण्शको भनौँ देवताको रहस्य बुझेर कार्य गर्न सके राम्रो हुन्छ सबैलाई। ‘दे उता’ अर्थात् ‘ले यता’ होइन, उपकार गर, अरूलाई देऊको अर्थ नै देवता होे ।

आफ्नो मात्र सोच्ने जिन्दगी राक्षसी हुन्छ, पशुवत् हुन्छ । मानिस आफैँ देवता हो बुझेदेखि । यसले जति परोपकार अरू कसले गर्न सक्छ र ! आजको स्वार्थी जमानामा देवता नमान्ने कारण यही हो कि ऊ कहिल्यै अरूको भलो गर्न, देख्न र सुन्नै चाहँदैन ।

प्राचीन, अर्वाचीन मात्र होइन, सत्ययुगदेखि नै तपोपुरीको नामले चिनिने नेपालको मुख्य स्थल काठमाडौंका चारै दिशामा सूर्य विनायक, कार्य विनायक, अशोक विनायक र चन्द्र विनायकले यस नगरीलाई संरक्षण दिएका छन् । स्थान विशेषमा गणेशका मन्दिर, मूर्ति देशभरि यत्रतत्र नै छन्।हनुमती, बाग्मती, विष्णुमती एवं रुद्रमती साक्षी स्वरूप बग्ने ४ नदी यी चारै गणेशका स्थलहरू हिजोआज प्रदूषित बनेका छन् । विश्व सम्पदा सूचीबाट मनग्य प्रचारप्रसार पाउन सक्ने यस्ता क्षेत्रहरूको थप अध्ययन, अनुसन्धान हुन बाँकी नै छ।

यीलगायत नेपालमा रहेका असङ्ख्य प्रसिद्ध देव–देवी स्थलहरूबाट हामीले बाह्य पर्यटनलाई समेत प्रशस्त टेवा, सेवा गर्न सक्छौँ । विश्वका सभ्य र विकसित क्षेत्रमा जे छैनन्, ती हामी कहाँ छन् । यिनलाई हामीले गौरव मान्नुपर्छ, नष्ट हुन दिनुहुँदैन । कुनै पनि पर्व विशेषको आफ्नै गरिमा र महत्व हुन्छ । तिनको वैज्ञानिक विश्लेषण गरी नयाँ र भावी पुस्तालाई समेत हस्तान्तरण आजको आवश्यकता हो ।

पूर्वीय दर्शनमा मङ्गल चौथीलाई अत्यन्तै शुभ दिन मानिन्छ। मानिसलाई नैतिक र चारित्रिक बनाउने हाम्रो पूर्वीय दर्शनशास्त्रका अधिकांश रचनाहरूका मूल लेखक श्री गणेश नै हुन् । पूर्वीय धर्म, संस्कतिमा कुनै पनि कार्य सिद्धिका लागि मङ्गलाचरण गर्ने गरिन्छ।

वाणीका देवता श्री गणेशलाई स्मरण गर्नाले निर्विघ्नतापूर्वक कार्य सम्पन्न हुने र मानिसका इच्छा सिद्धि हुने विश्वास गरिन्छ । शिव–गौरी पुत्रका रूपमा रहेका श्री गणेशको उदय भएको दिन भाद्र शुक्ल चतुर्थीमा गरिएको पुण्य कर्म बढी फलदायी हुन्छ । त्यस दिनको सर्व कल्याण महŒव बढी भएझैँ माघ शुक्ल, असार शुक्ल र मङ्गलबारसहितको चतुर्थीलाई मानिसका लागि क्रमशः मनको शान्ति र शरीरको सुखको प्रतीकका दिनका रूपमा लिइन्छ ।

त्यस्तै, मङ्गलबारयुक्त चौथी परेको मङ्लचौथीले जीवनमा असीम आनन्द प्राप्त हुने गर्छ । वर्षमा कहिलेकाहीँ मात्र पर्ने यस्तो पर्वको विशेष महत्व छ। खासगरी कम आयु र समय भएका मानिसहरूका लागि यो कलीयुगमा।

चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वको भाव, अप्रमाद र उद्योगमा गणेशको सेवा जरुरी छ। गणेशको सेवा भएका स्थानमा लक्ष्मीको बास हुन्छ । धनको र अन्य पदार्थको सदुपयोग, ज्ञानको सदुपयोग, लज्जा, त्याग, शिष्टतामा लक्ष्मीको बास हुने हुँंदा लक्ष्मीका साथ गणेशको पूजा गर्ने गरिन्छ । गणेशका भक्त, साधकहरू सज्जन, शान्त, धीर, वीर हुन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्